संकटको समाधानकालागि नयाँ विकल्प

संकटको समाधानकालागि नयाँ विकल्प

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा यहि चैत्र २४ गते देशका सातैवटा प्रदेशका राजधानीहरुमा ”३२ औं राष्ट्रिय जन आन्दोलन दिवस” शानदार रुपमा सम्पन्न भए । देशलाई देशी र विदेशी प्रतिकृयावादीहरुले महा संकटतिर धकेल्दैछन् भन्ने वहश सीमितरुपमा भने पनि चलिरहेको छ । यस्तो स्थितिमा पनि सडकमा आन्दोलनको ताप देखिँदैन । एक प्रकारले सडक रिक्त भएको र कोभिड १९ को दोस्रो लहर सुरु हुन लाग्यो भन्ने त्रास फैलिँदै गएको अवस्थामा पनि जन सभाहरुमा जुन जन सहभागिता सडकमा देखियो, त्यसले अब विद्यमान सत्ता र व्यवस्थाको पक्षमा होइन यसको विकल्प तिर जनताको आकर्षण बढ्दै जान लागेको संकेत देखिन थालेको छ । देशैभरीका कार्यक्रममा एकरुपतामा लेखिएका ब्यानरहरुमा अंकित :
“ विद्यमान जन विरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौं !
संघीय जनगणतन्त्रको स्थापनाको लागि संघर्ष गरौं !!
भन्ने आह्वानले नेपाली जनतालाई यो सत्ता र व्यवस्थाका हिमायतिले गर्ने गरेको भन्दा नितान्त भिन्न किसिमले संवोधन गरि रहेको प्रष्टै देखिन्थ्यो । नेपाली राजनीतिमा अग्रगामी र क्रान्तिकारी धार अघि बढेको प्रष्ट संकेत देख्न सकिन्थ्यो ।
दुई परस्पर विरोधी धारहरु
तत्कालिन पंचायती व्यवस्था र निरंकुश राजतन्त्रका विरुद्ध चुलिँदै गएको संघर्षको उत्कर्षका रुपमा जनता सडकमा उत्रिएको ऐतिहासिक आन्दोलन थियो चैत्र २४ गतेको ऐतिहासिक जन आन्दोलन । त्यतीखेर आन्दोलनमा तीन धारहरु देखापरेका थिए र तिनलाई प्रतिनिधित्व गर्ने तीनवटा मोर्चाहरु बनेका थिए : संयुक्त राष्ट्रिय जन आन्दोलन, वाम मोर्चा र नेपाली कांग्रेस । पहिलोले क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दथ्यो । उक्त मोर्चाको आयोजनामा २०४६ साल चैत्र २४ गते पंचायती व्यवस्थाको अन्त र राजतन्त्रको समाम्ति र गणतन्त्रको स्थापनाको माग राखेर विशाल जन प्रदर्शन भएको थियो । आक्रोसित प्रदर्शनकारीले दरवारमार्ग स्थित पूर्व राजा महेन्द्रको शालिक तोडफोड गरेका थिए । प्रहरी र सेनाबाट चलाइएको गोलीबाट केही आन्दोलनको शहादत भएको थियो । उक्त दिन राजधानीमा कफ्र्यु लगाइएको थियो । यसले फासिवादी पंचायती व्यवस्था मात्र होइन, २४० वर्षको राजतन्त्र समेत समाप्त पार्न अग्रसर यो राष्ट्रिय जन आन्दोलनलाई निस्तेज पार्न तत्कालिन राजा वीरेन्द्रले नेपाली कांग्रेस र वाममोर्चाका नेताहरुलाई वार्ताकालागि दरवारमा बोलाए । चैत्र २६ गते उनीहरुका वीचमा सहमति भयो । राजतन्त्र यथावत रह्यो । पंचायती व्यवस्थाको सट्टा बहुदलीय संसदीय व्यवस्था ल्याइयो । क्रान्तिकारी जन आन्दोलनको नेतृत्व गर्ने संयुक्त राष्ट्रिय जन आन्दोलनलाई वार्तामा बोलाइएुको थिएन । त्यसमाथि उल्टो चर्को दमन गरियो । यस प्रकार पंचायती व्यवस्थाका विरुद्ध सुरु गरिएको आन्दोलन नेपाली राजनीतिमा दुई अलग धारका रुपमा स्थापित भए – चैत्र २४ को क्रान्तिकारी धार र चैत्र २६ को क्रान्ति विरोधी धार । एक पक्षले चैत्र २४ गते ऐतिहासिक क्रान्तिकारी आन्दोलनको प्रतीकका रुपमा र अर्को पक्षले चैत्र २६ लाई राजतन्त्रात्मक बहुदलीय व्यवस्था प्राप्त भएको दिवसका रुपमा मनाइरहेका छन् । केवल ४८ घण्टाको अन्तरालमा भएका यी दिवसहरुको राजनीतिक महत्वमा यति ठुलो अन्तर छ ।
संंकटको समाधान कसरी गर्ने ?
३१ वर्ष वितिसकेका छन् । परिस्थिति फेरिएको छ । त्यो क्रान्तिकारी संयुक्त राष्ट्रिय जन आन्दोलन आजको बदलिएको परिस्थितिको सापेक्षतामा आवश्यक छ । यहि मर्मका साथ देशभक्त जन गणतान्त्रिक मोर्चाको आयोजना गरिएको थियो ।
केही समय अघि देखि नेपाली समाजका धेरै क्षेत्रलाई संकटले गाँजेको छ । त्यो संकट समाधान हुँदै र कम हुँदै जाने लक्षण देखिँदैन । त्यो झन् झन् बढ्दै गएको छ । हामी देशमा संकट पैदा होस्, जनताले दुु:ख कष्ट होस् भन्ने कहिल्यै पनि चाहना राख्दैनौं । तर यो संकट देशमा विद्यमान प्रतिकृयावादी वर्ग, तिनका पार्टीहरु र विदेशी प्रतिकृयावादी शक्तिहरुले पैदा गरेको संकट हो । यो संकटको केवल बयान गरेर मात्र बसेर हाम्रो जिम्मेवारी पनि पुरा हुँदैन । मुख्य प्रश्न हो यो संकटको समाधान कसरी गर्ने ? यसको सहि समाधान समाजलाई आमूल परिवर्तन गरेर, सामाजीक रुपान्तरण गरेर मात्र हुन सक्दछ । त्यसकारण, क्रान्तिकारीहरुको दायित्व यो संकटलाई क्रान्तिमा बदल्ने हो । ठिक यसै बेला एउटा क्रान्तिकारी पार्टीले संकटलाई क्रान्तिमा बदल्ने जिम्मेवारी पुरा गर्नकालागि ठोस योजना प्रस्तुत गरी त्यसैमा लाग्नु लाग्नु आवश्यक छ ।
विकल्पको आवश्यकता
आज नेपालमा जुन संकट खडा भएको छ, त्यसको निम्ति मुख्य रुपमा को जिम्मेवार छ ? कतिले के भन्ने गर्छन् भने यसको निमित्त के पी शर्मा ओली जिम्मेवार छन् । उनी गतिलो भैदिएको भए सबै ठिक ठाक हुन्थ्यो । के त्यहि कुरा साँचो हो त ? त्यती मात्र होइन । यो सबै हुनुका पछाडि सरकारको प्रधानमन्त्रीको हिसाबले उनी मुख्यरुपमा जिम्मेवार छन् । तर यसको निमित्त ओली मात्र होइन, यो राज्य व्यवस्था, यो संविधान, पनि जिम्मेवार छन् । आखिर, केपीशर्मा ओली यसै व्यवस्थाका उपज हुन् । उनलाई पैदा गरेको यसै व्यवस्थाले हो ।
केही राजनीतिक पार्टीहरु ओलीको विकल्पमा विद्यमान संसदीय पार्टी र त्यसका अमुक नेतालाई अघि सार्ने काम गरिरहेका छन् । विकल्प आवश्यक छ । तर यहि व्यवस्था भित्रैबाट खोजिने विकल्पले कुनै काम दिन सक्दैन । त्यसले विद्यमान संकटको समाधान गर्न सक्दैन । यो सँगै सम्वन्धीत अर्को विषय पनि छ । नेपाली समाजले, नेपालको आवश्यकताले खोजेको विकल्प भनेको यो भन्दा अग्रगामी विकल्प हो । यस्तै प्रकारको, वा यो भन्दा पश्चगामी विकल्पले समाधान दिँदैन भन्ने कुरा निश्चित छ । त्यसकारण, यतिखेर हामीले खोज्ने अर्को विकल्प भनेको अग्रगामी विकल्प हो, यथास्थितिवादी वा पश्चगामी विकल्प होइन ।
, अग्रगामी विकल्प के हो ?
अग्रगामी विकल्पको विषय एउटा सैद्धान्तिक र नीतिगत विषय पनि हो । हामीले यो विषयलाई सैद्धान्तिक र नीतिगत रुपमा प्रचार प्रसार गरेर जनताका वीचमा लैजानु पर्दछ । तर त्यती गरेर मात्र पनि पुग्दैन । यसलाई मूर्त र ठोस बनाउने समय आइसकेको छ । नेपाली राजनीतिको क्रान्तिकारी धारको प्रतिनिधित्व गर्ने ने क पा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चाले अग्रगामी विकल्पलाई ठोस र मूर्तरुपमा प्रस्तुत गरेका छन् । विद्यमान लोकतान्त्रिक गणतन्त्रको विकल्पका रुपमा संघीय जनगणतन्त्रलाई प्रस्तुत गरिएको छ । यो सरकारको विकल्पमा जनगणतान्त्रिक सरकारको विकल्प प्रस्तुत गरिएको छ । नेकपा(क्रान्तिकारी माओवादी) समेतको चारदलीय रणनैतिक संयुक्त मोर्चाले पनि बिद्यमान राज्यव्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवाद तथा यो विद्यमान सरकारको विकल्पमा संयुक्त वैकल्पिक सरकारको प्रस्ताव प्रस्तुत गरेको छ ।
यस प्रकार अग्रगामी विकल्पको विषयमा ठोस र मूर्त प्रस्ताव प्रस्तुत भैसकेको छ । अब मुख्य प्रश्न हो यसलाई लागु गर्ने, यसलाई कार्याण्वयन गर्ने । हामी सबै यसलाई कार्याण्वयन गर्ने काममा सकृयतापूर्वक लागौं । संकटलाई क्रान्तिमा बदलौ !
२०७७। १२।२८