देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा यहि चैत्र २४ गते देशका सातैवटा प्रदेशका राजधानीहरुमा ”३२ औं राष्ट्रिय जन आन्दोलन दिवस” शानदार रुपमा सम्पन्न भए । देशलाई देशी र विदेशी प्रतिकृयावादीहरुले महा संकटतिर धकेल्दैछन् भन्ने वहश सीमितरुपमा भने पनि चलिरहेको छ । यस्तो स्थितिमा पनि सडकमा आन्दोलनको ताप देखिँदैन । एक प्रकारले सडक रिक्त भएको र कोभिड १९ को दोस्रो लहर सुरु हुन लाग्यो भन्ने त्रास फैलिँदै गएको अवस्थामा पनि जन सभाहरुमा जुन जन सहभागिता सडकमा देखियो, त्यसले अब विद्यमान सत्ता र व्यवस्थाको पक्षमा होइन यसको विकल्प तिर जनताको आकर्षण बढ्दै जान लागेको संकेत देखिन थालेको छ । देशैभरीका कार्यक्रममा एकरुपतामा लेखिएका ब्यानरहरुमा अंकित :
“ विद्यमान जन विरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौं !
संघीय जनगणतन्त्रको स्थापनाको लागि संघर्ष गरौं !!
भन्ने आह्वानले नेपाली जनतालाई यो सत्ता र व्यवस्थाका हिमायतिले गर्ने गरेको भन्दा नितान्त भिन्न किसिमले संवोधन गरि रहेको प्रष्टै देखिन्थ्यो । नेपाली राजनीतिमा अग्रगामी र क्रान्तिकारी धार अघि बढेको प्रष्ट संकेत देख्न सकिन्थ्यो ।
दुई परस्पर विरोधी धारहरु
तत्कालिन पंचायती व्यवस्था र निरंकुश राजतन्त्रका विरुद्ध चुलिँदै गएको संघर्षको उत्कर्षका रुपमा जनता सडकमा उत्रिएको ऐतिहासिक आन्दोलन थियो चैत्र २४ गतेको ऐतिहासिक जन आन्दोलन । त्यतीखेर आन्दोलनमा तीन धारहरु देखापरेका थिए र तिनलाई प्रतिनिधित्व गर्ने तीनवटा मोर्चाहरु बनेका थिए : संयुक्त राष्ट्रिय जन आन्दोलन, वाम मोर्चा र नेपाली कांग्रेस । पहिलोले क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दथ्यो । उक्त मोर्चाको आयोजनामा २०४६ साल चैत्र २४ गते पंचायती व्यवस्थाको अन्त र राजतन्त्रको समाम्ति र गणतन्त्रको स्थापनाको माग राखेर विशाल जन प्रदर्शन भएको थियो । आक्रोसित प्रदर्शनकारीले दरवारमार्ग स्थित पूर्व राजा महेन्द्रको शालिक तोडफोड गरेका थिए । प्रहरी र सेनाबाट चलाइएको गोलीबाट केही आन्दोलनको शहादत भएको थियो । उक्त दिन राजधानीमा कफ्र्यु लगाइएको थियो । यसले फासिवादी पंचायती व्यवस्था मात्र होइन, २४० वर्षको राजतन्त्र समेत समाप्त पार्न अग्रसर यो राष्ट्रिय जन आन्दोलनलाई निस्तेज पार्न तत्कालिन राजा वीरेन्द्रले नेपाली कांग्रेस र वाममोर्चाका नेताहरुलाई वार्ताकालागि दरवारमा बोलाए । चैत्र २६ गते उनीहरुका वीचमा सहमति भयो । राजतन्त्र यथावत रह्यो । पंचायती व्यवस्थाको सट्टा बहुदलीय संसदीय व्यवस्था ल्याइयो । क्रान्तिकारी जन आन्दोलनको नेतृत्व गर्ने संयुक्त राष्ट्रिय जन आन्दोलनलाई वार्तामा बोलाइएुको थिएन । त्यसमाथि उल्टो चर्को दमन गरियो । यस प्रकार पंचायती व्यवस्थाका विरुद्ध सुरु गरिएको आन्दोलन नेपाली राजनीतिमा दुई अलग धारका रुपमा स्थापित भए – चैत्र २४ को क्रान्तिकारी धार र चैत्र २६ को क्रान्ति विरोधी धार । एक पक्षले चैत्र २४ गते ऐतिहासिक क्रान्तिकारी आन्दोलनको प्रतीकका रुपमा र अर्को पक्षले चैत्र २६ लाई राजतन्त्रात्मक बहुदलीय व्यवस्था प्राप्त भएको दिवसका रुपमा मनाइरहेका छन् । केवल ४८ घण्टाको अन्तरालमा भएका यी दिवसहरुको राजनीतिक महत्वमा यति ठुलो अन्तर छ ।
संंकटको समाधान कसरी गर्ने ?
३१ वर्ष वितिसकेका छन् । परिस्थिति फेरिएको छ । त्यो क्रान्तिकारी संयुक्त राष्ट्रिय जन आन्दोलन आजको बदलिएको परिस्थितिको सापेक्षतामा आवश्यक छ । यहि मर्मका साथ देशभक्त जन गणतान्त्रिक मोर्चाको आयोजना गरिएको थियो ।
केही समय अघि देखि नेपाली समाजका धेरै क्षेत्रलाई संकटले गाँजेको छ । त्यो संकट समाधान हुँदै र कम हुँदै जाने लक्षण देखिँदैन । त्यो झन् झन् बढ्दै गएको छ । हामी देशमा संकट पैदा होस्, जनताले दुु:ख कष्ट होस् भन्ने कहिल्यै पनि चाहना राख्दैनौं । तर यो संकट देशमा विद्यमान प्रतिकृयावादी वर्ग, तिनका पार्टीहरु र विदेशी प्रतिकृयावादी शक्तिहरुले पैदा गरेको संकट हो । यो संकटको केवल बयान गरेर मात्र बसेर हाम्रो जिम्मेवारी पनि पुरा हुँदैन । मुख्य प्रश्न हो यो संकटको समाधान कसरी गर्ने ? यसको सहि समाधान समाजलाई आमूल परिवर्तन गरेर, सामाजीक रुपान्तरण गरेर मात्र हुन सक्दछ । त्यसकारण, क्रान्तिकारीहरुको दायित्व यो संकटलाई क्रान्तिमा बदल्ने हो । ठिक यसै बेला एउटा क्रान्तिकारी पार्टीले संकटलाई क्रान्तिमा बदल्ने जिम्मेवारी पुरा गर्नकालागि ठोस योजना प्रस्तुत गरी त्यसैमा लाग्नु लाग्नु आवश्यक छ ।
विकल्पको आवश्यकता
आज नेपालमा जुन संकट खडा भएको छ, त्यसको निम्ति मुख्य रुपमा को जिम्मेवार छ ? कतिले के भन्ने गर्छन् भने यसको निमित्त के पी शर्मा ओली जिम्मेवार छन् । उनी गतिलो भैदिएको भए सबै ठिक ठाक हुन्थ्यो । के त्यहि कुरा साँचो हो त ? त्यती मात्र होइन । यो सबै हुनुका पछाडि सरकारको प्रधानमन्त्रीको हिसाबले उनी मुख्यरुपमा जिम्मेवार छन् । तर यसको निमित्त ओली मात्र होइन, यो राज्य व्यवस्था, यो संविधान, पनि जिम्मेवार छन् । आखिर, केपीशर्मा ओली यसै व्यवस्थाका उपज हुन् । उनलाई पैदा गरेको यसै व्यवस्थाले हो ।
केही राजनीतिक पार्टीहरु ओलीको विकल्पमा विद्यमान संसदीय पार्टी र त्यसका अमुक नेतालाई अघि सार्ने काम गरिरहेका छन् । विकल्प आवश्यक छ । तर यहि व्यवस्था भित्रैबाट खोजिने विकल्पले कुनै काम दिन सक्दैन । त्यसले विद्यमान संकटको समाधान गर्न सक्दैन । यो सँगै सम्वन्धीत अर्को विषय पनि छ । नेपाली समाजले, नेपालको आवश्यकताले खोजेको विकल्प भनेको यो भन्दा अग्रगामी विकल्प हो । यस्तै प्रकारको, वा यो भन्दा पश्चगामी विकल्पले समाधान दिँदैन भन्ने कुरा निश्चित छ । त्यसकारण, यतिखेर हामीले खोज्ने अर्को विकल्प भनेको अग्रगामी विकल्प हो, यथास्थितिवादी वा पश्चगामी विकल्प होइन ।
, अग्रगामी विकल्प के हो ?
अग्रगामी विकल्पको विषय एउटा सैद्धान्तिक र नीतिगत विषय पनि हो । हामीले यो विषयलाई सैद्धान्तिक र नीतिगत रुपमा प्रचार प्रसार गरेर जनताका वीचमा लैजानु पर्दछ । तर त्यती गरेर मात्र पनि पुग्दैन । यसलाई मूर्त र ठोस बनाउने समय आइसकेको छ । नेपाली राजनीतिको क्रान्तिकारी धारको प्रतिनिधित्व गर्ने ने क पा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चाले अग्रगामी विकल्पलाई ठोस र मूर्तरुपमा प्रस्तुत गरेका छन् । विद्यमान लोकतान्त्रिक गणतन्त्रको विकल्पका रुपमा संघीय जनगणतन्त्रलाई प्रस्तुत गरिएको छ । यो सरकारको विकल्पमा जनगणतान्त्रिक सरकारको विकल्प प्रस्तुत गरिएको छ । नेकपा(क्रान्तिकारी माओवादी) समेतको चारदलीय रणनैतिक संयुक्त मोर्चाले पनि बिद्यमान राज्यव्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवाद तथा यो विद्यमान सरकारको विकल्पमा संयुक्त वैकल्पिक सरकारको प्रस्ताव प्रस्तुत गरेको छ ।
यस प्रकार अग्रगामी विकल्पको विषयमा ठोस र मूर्त प्रस्ताव प्रस्तुत भैसकेको छ । अब मुख्य प्रश्न हो यसलाई लागु गर्ने, यसलाई कार्याण्वयन गर्ने । हामी सबै यसलाई कार्याण्वयन गर्ने काममा सकृयतापूर्वक लागौं । संकटलाई क्रान्तिमा बदलौ !
२०७७। १२।२८

प्रतिक्रिया

सम्बन्धित खवर