भारतको छत्तीसगढ राज्यमा माओवादीको आक्रमणमा २२ सुरक्षाकर्मीको मृत्यु

भारतको छत्तीसगढ राज्यमा माओवादीको आक्रमणमा २२ सुरक्षाकर्मीको मृत्यु

चैत २२ छत्तीसगढ, भारत,
भारतको भाकपा (माओवादी) प्रभावित राज्य छत्तीसगढमा माओवादीसँग मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । बीजापुर र सुकमा जिल्लाको सीमामा शनिबार भएको मुठभेडमा मृत्यु हुने सुरक्षाकर्मीको संख्या २२ पुगेको आइतबार भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार घटनास्थलबाट पाँच सुरक्षाकर्मीको शव फेला परेको थियो भने आइतबार १७ जनाको शव फेला परेको हो । घटनास्थल आसपासका क्षेत्रबाट ती शव बरामद भएको बताइएको छ ।
भिडन्तमा कम्तीमा ३० सुरक्षाकर्मी घाइते भएको बताइएको छ । ‘एएनआई’ समाचार एजेन्सीका अनुसार बीजापुरका एसपी कामालोचन कश्यपले माओवादीविरुद्धको कारवाहीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेका छन् । समाचार एजेन्सीहरूका अनुसार शनिबार दिउँसो जोनागुडा गाउँ नजिकै माओवादीका लडाकु कार्यकर्तासँग सुरक्षाकर्मीको भिडन्त भएको थियो ।