संसदीय राजनीतिमा नैतिक मूल्यको अवसान

सम्पादकीय

प्रकाशित मिति : २०७७ चैत्र २


संसदवादी राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले राजनीतिलाई यति धेरै फोहरी र घृणित बनाए कि ‘राजनीति भनेको फोहरी खेल हो’ भन्ने भनाइलाई नै माथ खुवाइरहेका छन् । वास्तवमा राजनीति आफैमा ‘फोहरी’ वा ‘घृणित’ क्षेत्र र विषय होइन, यो त समाजसेवाको सर्वोत्कृष्ट अभिव्यक्ति हो । राजनीति देश र जनताको सर्वाङ्गिण हित रक्षा र प्रवद्र्धनका लागि गर्ने गरिन्छ । तर संसदवादी राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले राजनीतिलाई ‘व्यापार’ बनाए । कमाईखाने भाँडो बनाए । राज्यको ढिकुटी तथा स्रोतसाधनमाथि दोहन गर्ने ‘साधन’ बनाए । भ्रष्टाचारी र कमिसनखोरीको संरक्षककै रुपमा बद्नाम छन् देशका प्रधानमन्त्री । पद र पैसा हत्याउनका लागि अनैतिकताको पनि हद पार गरेको उदाहारण कथित डबल नेकपादेखि एमाले र माओवादी केन्द्रसम्मका पछिल्ला घटनाक्रम नै काफी छ । संसदीय राजनीतिमा ‘नैतिक मूल्य’, जवाफदेही र जिम्मेवारीबोधको कुनै मूल्य हुँदैन भन्ने डबल नेकपाको एकतादेखि विभाजनसम्मले प्रष्ट पारेको छ । त्यसमाथि प्रधानमन्त्रीको रुपमा ओलीको स्वेच्छाचारीता, निकम्मापन र गैरजिम्मेवारीपनले एकातिर जनतालाई आजित र आक्रान्त पारेको छ भने राष्ट्रले शीर झुकाउनुपर्ने स्थिति बनेको छ । गएको तीनबर्षमा डबल नेकपा नामधारी पार्टीका नेताहरुको ‘पद र पैसा’ हत्याउने नाटक र नौटंकीमा कति राज्यको स्रोध साधनको दुरुपयोग गरियो भन्ने कुनै हिसाब किताब छैन । सिंहदरबारदेखि गाउँपालिका र नगरपालिकाका स्थानीय निकाय

सम्मका बजेटको कुन नाम र शीर्षकमा राज्यको ढिकुटीको कसरी दुरुपयोग गरियो भन्ने कुराको गम्भिर खोज गरिनुपर्ने स्थिति बनेको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेका थिए । सर्वोच्च अदालतले उनको निर्णय असंवैधानिक ठहर गरेर उल्टाइदियो । ओलीले तत्क्षण नैतिकताको आधारमा पदबाट राजीनामा गर्नुपर्छ भनेर धेरैले माग गरे तर ओलीले राजिनामा गर्ने त होइन सक्छौं भने प्रधानमन्त्रीबाट हटाएर देखाओ भनेर उल्टै खुल्लमखुल्ला चुनौती र धम्की दिंदै हिडिरहेका छन् । ओली यतिखेर लगामबिनाको घोडा जस्तै बनेका छन् । अर्कोतिर प्रधानमन्त्री ओलीको कदमलाई निरंकुश, प्रतिगामी, फासिवादी, अलोकतान्त्रिक असंवैधानिक भन्दै दुई महिनासम्म ‘सडक संघर्ष’ गरेका अन्य संसदवादी राजनीतिक दलहरू नै अहिले ओली नेतृत्वको पार्टीसित सत्ता सहकार्य गर्न तँछाड मछाड गरिरहेका छन् । अझ लाजमर्दो कुरा त के छ भने पद र पैसाका लागि बादल मार्काहरु ‘एमाले’मै प्रवेश गरेका छन् । उनीहरुले हिजो सँगै जनयुद्ध लडेका प्रचण्डहरुकै विरोधमा ओलीको ‘हतियार’ बनेर दुरुपयोग हुन तयार भएका छन् । संसदवादी नेता कार्यकर्ताहरु पद र पैसाका लागि छेपाराले रङ फेरे झैं रातारात कित्ता, खेमा, समूह, गुट परिवर्तनको खेलमा लागिरहेका छन् । धोका र गद्दारी त कति हो कति । विचौलिया प्रवृत्ति छेपारे प्रवृत्तिमा अभिव्यक्त हुन थालेपछि यतिबेला सबैभन्दा बढी हैरानमा परेका छन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । त्यसैले उनी आवेग उत्तेजनामा आएर बेला बेलामा ‘जनयुद्ध’, ‘संघर्ष’, ‘लडाइँ’ जस्ता शब्दहरुको प्रयोग गरेर ओलीलाई तर्साउन खोज्छन् । हारेको जुवाडेको हालतमा पुगेका प्रचण्डका यस्ता अनैतिक बासी र प्रचण्ड आफैले रछ्यानमा मिल्काइसकेका शब्दहरुको साहरा लिएर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको देखेर अहिले मानिसहरुले हसीमजाक गरिरहेका छन् ।
जनयुद्धबाट आर्जित आफ्नो सम्पूर्ण आधार भत्काएर, त्यो अपार शक्तिलाई क्षतिविक्षत बनाएर, पार्टी, क्रान्ति, वर्ग र मुक्तिको महान अभियानलाई धोका दिएर, गद्दारी गरेर संसदीय व्यवस्थाको आहालमा डुबुल्की मार्न पुगेका प्रचण्ड ओलीको लात्ती हानेपछि सडकमा पछारिन पुगेका छन् र मुर्छित मान्छे बर्बराएझै बर्बराउन थालेका छन् । जसको केही अर्थ छैन । लगनपछिको पोतेको के काम ।


यतिखेर नेपाली जनताले नैतिक मूल्य भएको निष्ठावान नेताको खोजिगरिरहेका छन् । हालै एक साहित्यिक संस्थाको कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्वदेखि साहित्यिक फाँटका विद्वानहरुले नेपाली राजनीतिमा मूल्य विघटन र विचलनको स्थिति देखिएको, भनाइ र गराइमा ठूलो खाडल देखिएको भन्दै एक जना त्यागी, सादगी, निष्ठावान, सिद्धान्तनिष्ठ, शब्द र कर्ममा सन्तुलन कायम गर्ने र नेपाली राजनीतिमा मूल्य विघटनको स्थितिलाई रोक्न योगदान गर्ने व्यक्तित्व र नेतृत्वको रुपमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणलाई भव्य रुपमा सम्मान गरियो । उहाँको बहुआयामिक व्यक्तित्व र कृतित्वमाथि चर्चा गरियो । मोहन विक्रम सिंहदेखि प्रदिप नेपालसम्मको उपस्थितिमा मोहन वैद्य किरणलाई गरिएको सम्मानको विशेष अर्थ र महत्व छ । प्रतिध्रुवीय कित्तामा पनि सर्वस्वीकार्य व्यक्तित्वको रुपमा स्थापित हुनु भनेको सामान्य कुरा होइन । मोहन वैद्य किरण नेपाली कम्युनिस्ट आन्दोलनभित्रका सबै धारा र प्रवृत्तिहरुमा सर्वमान्य र सर्वस्वीकार्य व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । आज सबैले नैतिकता, इमान्दारिता, सिद्धान्तनिष्ठता, त्याग र समर्पणको अनि मूल्यको राजनीतिको कुरा गर्दा सबैले मोहन वैद्य किरणको नाम लिने गर्छन् र उहाँलाई नै उदाहारणको रुपमा प्रस्तुत गर्ने गर्दछन् । नेपाली कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी धाराको नेतृत्व गरिरहनु भएका मोहन वैद्य किरणकै नेतृत्वमा छरिएर रहेका सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई गोलबन्द गरी नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्र्ने दिशातिर अगाडि बढ्नु नै अहिलेको ज्वलन्त आवश्यकता हो । नीति र नेतृत्व सही र क्रान्तिकारी भए मात्र क्रान्तिले गन्तव्य चुम्न सक्तछ ।