ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४९ घर जले

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४९ घर जले


काठमाडौं । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको छ । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार आगलागीबाट ३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना डेरावाल समेत आगलागीबाट पीडित बनेका छन् ।
आगो नियन्त्रणमा लिन दुई वटा दमकलको प्रयोग गरिएको थियो । बजारमा लागेको आगो बस्ती नजिकै रहेको जंगलमा सल्किएको छ । त्यसलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागीमा परेका पीडितहरुलाई बस्ती नजिकैको खाली ठाउँमा टेन टांगेर बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको सहायक प्रजिअ खड्काले बताइन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आउन बाँकी छ । पीडितहरुलाई तत्काल बस्न र खानाका लागि व्यवस्थापन गरेपछि क्षतिबारे लगत संकलन गरिने खड्काले बताइन् । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।