प्रतिबन्धित नेकपा र सरकारबीच वार्ता टोली गठन, तत्काल प्रतिबन्ध हटाउने तयारी

प्रतिबन्धित नेकपा र सरकारबीच वार्ता टोली गठन, तत्काल प्रतिबन्ध हटाउने तयारी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सरकारका बीच वार्ता हुने भएको छ । वार्ताको लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ भने प्रतिबन्धित नेकपाले पार्टीका सचिवालय सदस्य तथा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । आजै सरकारका सञ्चारमन्त्री तथा प्रवक्ता पार्वत गुरुङ र नेकपाका महासचिव विप्लवले छुट्टा छुट्टै वक्तव्य जारी गरी वार्ता टोलीको घोषणा गरेका छन् ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा संयोजक र प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेको छ भने प्रतिबन्धित नेकपाले प्रवक्ता प्रकाण्ड संयोजक र केन्द्रीय सदस्य दिपक चलाउने सदस्य रहेको वार्ता टोली गठन गरेको छ । सरकारले विप्लव नेतृत्वको पार्टीमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउने र आस्थाका बन्दीहरुलाई पनि रिहा गर्ने तयारी गरेको सम्बद्ध स्रोतले जनाएको छ ।