पहिलाे कुरा, नेपाल पत्रकार महासंघ २६ आैं महाधिवेशन सम्पन्न गरि निर्वाचनको अन्तिम तयारीमा जुटेकाे छ । आम श्रमजीवी पत्रकारहरुकाे पेशागत तथा भाैतिक सुरक्षाकाे ग्यारेन्टी, पुर्ण प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रताकाे प्रत्याभुति, नागरिक अधिकारहरुकाे संरक्षण,  जनपक्षीय, जनउत्तरदायी तथा निष्पक्ष एवम् जिम्मेवार प्रेस अभ्यासकाे नियमन जस्ता महत्वपुर्ण दायित्व र जिम्मेवारी बाेकेकाे नेपाल पत्रकार महासंघ स्वायत्त संस्था भए पनि यसले स्वायत्त रुपमा आफ्नाे दायित्व र जिम्मेवारी वहन प्रभावकारी रुपमा सम्पादन गर्न नसकेकाे आम श्रमजीवी तथा जनपक्षीय पत्रकारहरुकाे अनुभूति रहँदै आएकाे छ ।
पत्रकार महासंघकाे नीति निर्माण तथा कार्यसम्पादनमा सरकार, वैदेशिक अाइएनजिओ र कर्पाेरेट मिडियाकाे प्रभाव देखिने र अनुभूति हुने गरि प्रकट हुँदै आएकाे छ ।  परिणामतः पत्रकार महासंघ आफ्नै घाेषित लक्ष्य र उद्देश्यमा खराे उत्रन सकिरहेकाे छैन ।
नेपाली समाजकाे बाैद्धिक सार अभिव्यक्त हुने याे संस्थाकाे नेपाली समाजकाे राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपुर्ण भूमिका रहँदै आएकाे छ । सँधै अग्रगामी राजनीतिकाे पक्षमा आवाज बुलन्द गर्दै आएकाे याे संस्थाले फेरि पनि एउटा महत्वपुर्ण र ऐतिहासिक भूमिका खेल्नुपर्ने अभिभारा परिस्थितिले सुम्पिएकाे छ ।
देशकाे शासन व्यवस्था प्रतिगामी र फासिवादी दिशातिर उन्मुख हुँदै जाँदा विगतका युद्ध र आन्दाेलनबाट प्राप्त नागरिक अधिकारहरु खाेसिन थालेका छन् भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडाे हस्तक्षेपका घटना बढेर गएका छन् । भुराजनीतिक दाउपेच र स्वार्थका कारण वैदेशिक हस्तक्षेप र चलखेल तीव्र बन्दै जाँदा राष्ट्रिय स्वाधीनता, सार्वभाैमिकता र भाैगाेलिक अखण्डताकाे रक्षाकाे प्रश्न पनि निकै संवेदनशील बन्दै गएकाे छ । सरकारका जनविराेधी नीतिहरुका कारण आज जनजीवन पनि दिनानुदिन कष्टकर बन्दै गएका छन् ।
मिडिया क्षेत्रमा बढ्दाे स्वदेशी तथा विदेशी अपारदर्शी लगानी र कतिपय प्रायाेजित विषयवस्तुहरुले नेपाली समाजलाई भ्रमित तुल्याउने र गलतबाटाेतिर दिशाबाेध गर्ने गरेकाे छ । यी लगायत जनसराेकारका धेरै विषयवस्तुहरुकाे उठान र समाजकाे अग्रगामी रुपान्तरणमा पत्रकार महासंघले खेल्नुपर्ने भूमिका उसकाे दायित्व र जिम्मेवारीभित्र पर्दछ ।
महासंघमा साझा र छाता चिरत्र कायम भएन भनेर लामाे समयदेखि बहस र विवाद हुँदै आएकाे छ । र, साझा र छाता चरित्र कायम नहुँदा उपराेक्त जिम्मेवारी र दायित्व वहन प्रभावकारी रुपमा गर्न नसकेकाे विषय पनि त्यही रुपमा उठ्दै आएकाे छ । महासंघलाई साझा बनाउने भनेकाे मूलतः वैचारिक हिसाबले साझा बनाउने भन्ने नै हाे । नेपाली समाजकाे बनाेट अनुसारकाे समावेशी बनाउने जिम्मेवारी पनि छँदैछ । तर लामाे समयदेखि एकै विचार र दृष्टिकोण राख्ने संघ संगठनहरुकाे नै महासंघमा वर्चस्व रहँदै आयाे । फरक विचार र दृष्टिकोण नहुँदा महासंघमा “चेक एण्ड ब्यालेन्स”काे स्थिति रहेन । नीति निर्माणदेखि त्यसकाे कार्यान्वयन तहसम्म अमुक विचार, दृष्टिकोण र राजनीतिकाे मात्र प्रभाव रहँदा महासंघले सबै सामाजिक मनाेविज्ञानकाे प्रतिनिधित्व गर्न सकेन । तसर्थ, पत्रकार महासंघकाे कार्यसम्पादनप्रति सार्वजनिक रुपमा प्रश्नहरु उठ्ने गरेका छन् । र, यसप्रतिकाे विश्वास र आकर्षणमा कमि आउने गरेकाे छ । यसर्थ, हामीले  पत्रकार महासंघलाई वैचारिक लगायत सामाजिक बनाेटकाे प्रतिविम्बन हुने गरि  साझा र समावेशी बनाउनुपर्ने विषयमा विशेष जाेड दिदै आएका छाैं । र, हाैं । हालै चारवटा पत्रकार संगठनबीचकाे सहकार्यकाे सहमतिकाे आधार पनि यसैमा अन्तर्निहित रहेकाे छ ।
दाेस्राे कुरा, नेपाल पत्रकार महासंघ सामाजिक आन्दाेलनकाे जेठाे, अग्रणी तथा नेतृत्वदायी संस्था हाे । नेपाली बाैद्भिकताकाे सार अभिव्यक्त हुने संस्थामा गरिने हरेक क्रियाकलाप र अभ्यासमा आम समुदायकाे समेत चासाे, चिन्ता र सराेकार रहनु स्वभाविक हुन्छ । कतिपय मुद्दामा नेपाली राजनीतिलाई समेत अग्रगामी दिशाबाेध गर्दै आएकाे याे संस्थाले एकातिर आसन्न निर्वाचन कम खर्चिलाे, मर्यादित र पारदर्शी ढंगले सम्पन्न गर्न जरुरी छ भने अर्काेतिर महासंघको नेतृत्व हत्याउन, आफ्नाे बर्चस्व स्थापित गराउन संसदीय निर्वाचनमा जस्ताे भ्रष्ट संस्कृति अपनाउने, पैसाकाे खाेलाे बगाउने, महासंघकाे विधान विपरीत तथा  अमर्यादित क्रियाकलाप गर्ने र महासंघलाई नै बद्नाम र घृणित तुल्याउने कामलाई निषेध तथा नियन्त्रण गरिनु पर्दछ । प्रत्यक्ष निर्वाचनकाे पहिलाे अभ्यास पनि भएकाेले र समाज र राजनीतिलाई समेत दिशाबाेध गर्ने  नेपाली बाैद्भिकताकाे सार अभिव्यक्त हुने एउटा अग्रणी सामाजिक संस्था समेत भएकाेले महासंघमा सहमतीय संस्कृतिकाे थिति बसाल्न जरुरी छ । तसर्थ, आगामी निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्ने गरि सबै सराेकारवाला संघ संगठनहरुले भुमिका खेल्न आवश्यक छ । बर्चस्ववादी, प्रभुत्ववादी र बिर्तावादी मानसिकताबाट मुक्त भई सबैकाे अस्तित्व स्वीकार्ने र साझा प्रतिनिधित्व सहितकाे पुर्ण लाेकतान्त्रिक अभ्यास गर्ने मानसिकताकाे विकास गर्ने हाे भने सहमतीय प्रणालीबाट निर्वाचन सम्पन्न गर्न सम्भव छ । त्यसका निम्ति सम्बन्धित सबै पक्षले पहल गराैं ।
(लेखक क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष हुन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर