पुर्व एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद बहुलवादी सिद्धान्तमा आधारित राजनीतिक कार्यदिशा हो । दर्शनमा बहुलवादको सारतत्व भनेको एकता नभएर बहुलता, अनेकता वा विभाजन भन्ने हुन्छ । अहिलेको पुँजीवादी राज्यव्यवस्था अनुकुल बहुलवादी समाजको अवधारणागत सैद्धान्तिक मान्यतासंग आत्मसमर्पण गरि तत्कालीन नेकपा (माले)ले मदन भण्डारीको अगुवाइमा आफ्नो क्रान्तिकारी चरित्र गुमाउन पुग्यो । यथास्थितिवादको जामा पहिरिएर आमुल परिवर्तन र क्रान्तिकारी विद्रोहको अग्रगामी राजनीतिक मूल्य मान्यता र त्यस्को सार्वभौम चरित्रमा गम्भीर प्रहार गर्दै परम्परागत संशोधनवादीहरुले प्रयोग गर्दै आएको बहुलवादको सैद्धान्तिक मान्यतामा टेकेर नेपाली समाजको निम्न पुँजीपति र मध्यमवर्गको एउटा तप्कालाई कथित जनताको बहुदलीय जनवादको भ्रमपूर्ण सुगारटाई गराउन तत्कालीन माले सफल भयो । यहि कथित जबजको माध्यमवाट ऐतिहासिक झापा विद्रोहको रापतापवाट पैदा भएको तत्कालीन नेकपा (माले) सैद्धान्तिक विचलनको शिकार भई संशोधनवादी लाइन अन्तर्गत दक्षिणपन्थी अवसरवादको माध्यमवाट संसदवादमा पतन भयो ।
तत्कालीन माले हुँदै एमाले समेतले अवलम्बन गर्दै आएको बहुदलीय जनवाद नामक बिषबृक्षको असर मालेमावादको सैद्धान्तिक मार्गदर्शनमा जनवादी क्रान्ति सम्पन्न गर्न महान जनयुद्धको नेतृत्व गर्दै गौरवपूर्ण जीत, सौर्य र वलिदानका उच्च किर्तिमान खडा गर्दै अगाडि बढेको तत्कालीन नेकपा(माओवादी) मा समेत प्रतक्ष रुपमा पर्न गयो । माओवादी वर्गसंघर्षको नेतृत्वमा रहेको कायर तथा अवसरवादी वर्गमा अन्ततः यथास्थितिवादी दृष्टिकोण देखा पर्न गयो । आत्मशुरक्षाको लालसामा जीवनको भीखमङ्गा नेतृत्वको शान्तिपूर्ण राजनीति र आत्मसमर्पणवादी चिन्तनले अन्ततः एमालेले अपनाउदै आएको जनताको बहुदलीय जनवादको संशोधनवादी विचार अवलम्बन गर्न पुग्यो । तर जनयुद्धको राप र तापमा बलिदानको अनन्त कोटा राष्ट्र र जनताको निमित्त चुक्ता गर्दै अगाडि बढेको महान जनयुद्धको अन्त्य गर्न प्रचण्ड बाबुरामहरुलाई त्यति सजिलो थिएन । तसर्थ उनीहरुले महान जनयुद्धको सामरिक तथा फौजि कार्यदिशाका सिद्धान्तसिल्प तथा प्रमुख योजनाकार कमरेड किरण र अन्तर्राष्ट्रिय विभाग प्रमुख कमरेड गौरब(जसको राजनीतिक कनेक्सन रिमसंग समेत जोडिएको थियो) लगायतका क्रान्तिकारी पंक्तिलाई भारतमा र नेपालमा पक्राउ गराएर नेपाली जनयुद्ध र वर्गसंघर्षलाई सर्वहारा वर्गीय अन्तर्राष्ट्रियतावादी अन्दोलनवाट अलग गराउन सफल भए ।

यसरी कमरेड किरण र कमरेड गौरव लगायतका क्रान्तिकारीहरुलाई पक्राउ गराई योजनबद्व ढंगले चुनवाङ बैठक मार्फत प्रचण्ड बाबुराम र बादलहरुले बहुदलीय प्रतिस्पर्धा खुल्ला बजार अर्थतन्त्र, संयुक्त राष्ट्रसंघको राजनीतिक अवधारणा तथा कथित लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अवलम्बन गरि नयाँ जनवादी क्रान्तिको कार्यदिशा परित्याग गरे । सारतः प्रचण्ड बाबुराम र बादलहरुले अपनाएको यो वाटो जनताको बहुदलीय जनवादको नाममा तत्कालीन मालेले लिएको दक्षिणपन्थी अवसरवादको संशोधनवादी राजनीतिको विकसित रुप नै थियो । जसका कारण नेपाली जनताको मुक्ति र स्वतन्त्रताको आधार वनेको जनयुद्ध समाप्त भयो, जनताको निम्ति लड्ने जनसेना र जनतालाई न्याय प्रदान गर्ने जनअदालत विघटन गरियो भने जनताले बलिदानी पुर्वक रगतसंग साटेर प्राप्त गरेका हतियारहरु साम्राज्यवादको कन्टेनरमा लगेर फ्याक्ने काम गरियो । यो सबै आत्मसमर्पणको बाटोवाट खुल्ला र कथित शान्तिपूर्ण राजनीतिमा आएर ज्यान बचाउने प्रचण्ड, बाबुराम र बादलहरुको आत्मशुरक्षावादी बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक बाटो थियो । त्यो एमालेले भन्दै र प्रयोग गर्दै आएको जनताको बहुदलीय जनवादको भद्दा संसदवादी फोहोरी राजनीतिको बाटो बाहेक अरु केही थिएन । सारतः नेतृत्वमा देखापरेको यसप्रकारको गलत राजनीतिक लाइनले अन्ततः माओवादी आन्दोलनको सैद्धान्तिक विभाजन गराएरै छोड्ने निश्चित थियो । सोही अनुसार नेकपा (माओवादी) विभाजन नेपाली समाज र विश्वसर्वहरा आन्दोलन र क्रान्तिको लागि अनिवार्य आवश्यकता बन्न पुग्यो । बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्था मार्फत संसदवादमा पतन भएको प्रचण्ड बादल नेतृत्वको माओवादी केन्द्र र एमाले विच राजनीतिक सैद्धान्तिक मदभेद नदेखिएपछि उनीहरु विच पार्टी एकता पनि भयो र संसदमा झण्डै दुईतिहाई बहुमत सहित सरकारमा पुगे । तर त्यो लामो समय टिक्न सकेन । यो किन यस्तो भयो यसको गहन राजनीतिक बैचारिक संश्लेषण र समिक्षा ती दुबै समुहले गर्न सकेका छैनन वा त्यतातिर ध्यान दिएका छैनन् ।
सिद्धान्ततः बहुदल भनेको धेरै दल हुन हो । धेरै दल हुन एक दल बाट अरुहरु विभाजन हुन अनिवार्य हुन्छ । पँुजीवादी संसदीय तथा बहुदलिय व्यवस्थामा यस्का पक्षपातीहरुले धेरै दलहरूलाई एकदलमा बदल्ने कुरा सैद्धान्तिक हिसावले नै गलत तथा अनैतिक कर्म हुन्छ । बरु एउटा दल विभाजन भई असंख्य दलहरु निर्माण हुनु नै बहुदलीय व्यवस्थामा त्यसको राजनीतिक सौन्दर्यता हुन्छ । अथवा बहुलवादी सिद्धान्त अनुसार बहुदलीय व्यवस्थामा बहु, असंख्य वा धेरै दलहरु हुन दलहरु फुट्नु पर्छ, समाज परिवार र समुदाय विभाजन हुनुपर्दछ भन्ने हो । यसप्रकारको राजनीतिक दृष्टिकोणवाट हेर्दा पुँजीवादी वहुलवादको कथित प्रजातान्त्र र त्यसको जगमा खडा भएको बहुदलीय व्यवस्था वा बहुदलीय जनवाद भनेको साम्राज्यवादको “फुटाउ र शासन गर“ भन्ने सैद्धान्तिक मान्यता आदर्श र मुल्यमा आधारित छ । आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा विश्व साम्राज्यवादले आफ्नो नीहित उदेश्य पूरा गर्न अवलम्बन गरेको यो नीतिले कम्युनिस्ट आन्दोलनलाई नराम्रो गरि असर पारेको छ र कम्युनिस्टहरू विभाजित र कमजोर भएका छन । यो स्थितिमा संसारभरिका मालेमावादी तथा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले कसरी वर्गसंघर्ष र क्रान्तिको रक्षा प्रयोग र विकाश गर्न सम्भव छ ? यो निकै गम्भीर र महत्त्वपूर्ण प्रश्न हो । यो प्रश्नको सैद्धान्तिक र व्यवहारिक दुबै हिसावले हल नगरिकन क्रान्तिकारीहरुले आफ्ना रणनीतिक प्रकारका राजनीतिक कार्यभार पूरा गर्न र कम्युनिस्ट आन्दोलन र वर्गसंघर्षको रक्षा प्रयोग र विकास गर्न संभव देखिदैन ।
उपयुक्त प्रकारको राजनीतिक स्थितिमा संसारभरका मालेमावादी तथा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले साम्राज्यवाद र उसका दलालहरुको बहुलवादी सिद्धान्तको जगमा तथा कथित लोकतन्त्रको नाममा “फुटाउ र शासन गर“ को नाराभित्र तयार गरिएको बहुदलिय प्रतिस्पर्धामा आधारित संसदीय व्यवस्था र कम्युनिस्ट आन्दोलनभित्र आफ्ना एजेन्टहरु खडा गरेर सुनियोजित तरिकाले घुसाइएको कथित जनताको बहुदलीय जनवादलाई सैद्धान्तिक राजनीतिक तथा व्यवहारिक हिसावले अस्वीकार गर्नु पर्दछ । मार्क्सवाद– लेनिनवाद– माओवादको सार्वभौम सिद्धान्तको जगमा विश्व सर्वहारा वर्गको क्रान्तिको समग्र रणनीति र कार्यनीतिलाई ठोष परिस्थितिको ठोष विश्लेषणका आधारमा तयार गरि निरन्तर क्रान्ति र वर्ग संघर्षको प्रक्रियामा अगाडि बढ्नु पर्दछ । नेपालको संदर्भमा सामन्तवर्ग र दलाल तथा नोकरशाही पुजीपति वर्गको राजनीतिक सत्ताको समुल अन्त्य गरि जनताको जनवादी सत्ता स्थापना गर्न अगाडि बढ्नु पर्दछ । निश्चितरूपमा मजदुर वर्गको नेतृत्व र मजदुर किसान एकताको आधारमा हुने सामन्तवाद तथा साम्राज्यवाद विरोधी नयाँ खाले पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गरि जनताको जनवादी व्यवस्था मार्फत बैज्ञानिक समाजवाद स्थापनाको लागि निरन्तर क्रान्तिको प्रक्रियामा अगाडि वढ्नु नै आजको एकमात्र राजनीतिक विकल्प र क्रान्तिकारी कार्यभार हो । यसप्रति सच्चा देशभक्त तथा कम्युनिस्ट क्रान्तिकारीहरुको बेलैमा ध्यान पुग्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर