आजबाट सहिद सप्ताह सुरु, विभिन्न कार्यक्रम गरी क्रान्तिकारी माओवादीले सम्झियाे जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेललाई

प्रकाशित मिति : २०७७ फाल्गुन १४

काठमाण्डौं । आजबाट सहिद सप्ताह सुरु भएको छ । माओवादीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सम्पुर्ण सहिदहरुको सम्झनामा विभिन्‍न कार्यक्रम गर्दै आएको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर विभिन्न कार्यक्रम गरी सहिद सप्ताहकाे प्रथम दिन तथा सहिद दिलबहादुर रम्तेल स्मृति दिवस मनाएकाे छ । सहिद तथा वेपत्ता याेद्धा परिवारसँग भेटघाट अन्तर्क्रिया गर्ने, काेणसभा, जनसभा, संगठन विस्तार, भेला लगायतका कार्यक्रमसँगै सहिद सप्ताहलाई क्रान्तिकारी माओवादीले संघर्षकाे रुपमा मनाउने जनाएकाे छ ।
जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्‍गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।
जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । तत्कालिन नेकपा (माओवादी) ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो । प्रथम सहिद रम्तेलसँगै जनयुद्धका सहिदहरुको सम्झनामा माओवादीहरुले फागुन १४ देखि २१ गतेसम्म विभिन्‍न कार्यक्रम गर्दै आएका छन् ।

काे हुन् दिल बहादुर रम्तेल ?

गोरखा जिल्ला तत्कालीन देउराली वार्ड न ३ जराङअबस्थी का दिलबहादुर बाबुको नाम सेते रम्तेल आमाको नाम सरीमाया रम्तेलकाे काेखबाट २०४२  सालमा जन्मिएका  गोरखागाविस पन्द्रुङवार्ड २ निबासी हुन। निम्न गरिव परिवारमा जन्मिएका दिलबहादुरकाे औपचारिक शिक्षा सुर्य मावि तुकुकाेटबाट भएकाे हाे।
यसरी भएकाे थियाे  दिल बहादुर रम्तेलकाे हत्या

आफ्ना प्रधानाध्यापकलाई प्रहरीले अनावश्यक गिरफ्तार गरेकाे भन्दै बिराेध गरेका बिधार्थीहरु बिच रहेका दिल बहादुरकाे प्रहरीले चलाएकाे गाेली लागेकाे थियाे। सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वरबहादुर गुरुङलाई हतियार सहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ गाविस-२ स्थित ब्रम्हाचारिनी निमाविमा विद्यार्थी र प्रहरी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागी गोरखा जिल्ला पन्द्रुङ गाविस-३ निवासी कक्षा- ४ मा अध्ययनत ११ वर्षीय दिलबहादुर रम्तेलको ०५२ फागुन १४ गते घटनास्थालमै मृत्यु भएकाे थियो। शिक्षक गुरुङलाई गोरखा सिम्जुङ गाविसस्थित सेभ द चिल्ड्रेनको कागजात जलाएको आरोपमा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो।
दिल बहादुरको सम्झना र २०२९ सालमा झापाका नेत्र घिमिरे लगायत ४ जना बन्दीहरुलाई झापा चन्द्रगढीबाट ईलाम सार्ने भनेर लगेर सुखानीको जंगलमा फागुन २१ गते चार जना झापा विद्रोहका नेताहरुलाई हत्या गरिएको घटनालाई जोडेर माओवादीले जनयुद्ध कालदेखि नै फागुन १४ देखि २१ गतेलाई शहीद सप्ताहको रुपमा मनाउदै आएकाे छ । अहिले माेहन वैद्य किरण नेतृत्वकाे नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले मात्र जनयुद्धका सहिदहरुकाे स्मृतिमा सहिद सप्ताह कार्यक्रम गर्दै आएका छन् ।