विभिन्न विश्वविद्यालयहरुले शुल्क वृद्धि गर्ने कार्यका विरुद्ध अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा प्रेस वक्तव्य प्रकाशित

प्रकाशित मिति : २०७७ फाल्गुन १०


१० फाल्गुन काठमान्डौ ।
विभिन्न विश्वविद्यालयहरुले विभिन्न वाहनामा शुल्क वृद्धि गर्ने कार्य गरेका र
विद्यार्थीहरुबाट अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरेर पनि विद्यार्थीबाट पैसा नउठेको बहानाबाजी गर्दै शिक्षक र कर्मचारीहरुलाई तलब–सुविधा कटौती गर्नुका साथै कतिपय शैक्षिक संस्थाहरुले तलब नै नदिएको र कतिपय शिक्षक र कर्मचारीहरुलाई जागिरबाट निकाल्ने कामसमेत भएकोमा यसलाई गम्भीर ढंगले छानविन गरी अनलाइन कक्षाको नाममा मनपरी ढंगले असुल गरिएको शुल्क अविलम्ब फिर्ता र जागिरबाट निकालिएका शिक्षक–कर्मचारीहरुलाई यथाशीघ्र पुनर्वहाली गरी तलब–सुविधा उपलब्ध गराउनसमेत अपिल गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारानिम्न प्रेश वकतव्य प्रकाशित गरिएको छ ः

प्रेस वक्तव्य

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ तथा वैज्ञानिक र जनवादी शिक्षाका लागि निरन्तर संघर्षको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वास्तविक उत्तराधिकारी संगठन हो । शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ गराउनका लागि हाम्रो संगठन निरन्तर क्रियाशील एवं संघर्षरत छ ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ ले नेपाललाई पनि प्रभाव पार्नुका साथै खासगरी शिक्षा क्षेत्रमा ठूलै प्रभाव प¥यो । शैक्षिक संस्थाहरुमा भौतिकरुपमा कक्षा सञ्चालन हुन सकेन, जसका कारण अनलाइन कक्षाहरु सञ्चालन गरिए । तर, विडम्बना विद्यार्थीहरुबाट अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरेर पनि विद्यार्थीबाट पैसा नउठेको बहानाबाजी गर्दै शिक्षक र कर्मचारीहरुलाई तलब–सुविधा कटौती गर्नुका साथै कतिपय शैक्षिक संस्थाहरुले तलब नै नदिएको अवस्था छ भने कतिपय शिक्षक र कर्मचारीहरुलाई जागिरबाट निकाल्ने कामसमेत भएको छ । यसलाई गम्भीर ढंगले छानविन गरी अनलाइन कक्षाको नाममा मनपरी ढंगले असुल गरिएको शुल्क अविलम्ब फिर्ता र जागिरबाट निकालिएका शिक्षक–कर्मचारीहरुलाई यथाशीघ्र पुनर्वहाली गरी तलब–सुविधा उपलब्ध गराउनसमेत अपिल गर्दछौं ।
त्यसैगरी, विभिन्न विश्वविद्यालयहरुले अनेक बहानाबाजी गरेर शुल्क वृद्धि गर्ने कार्य गरिहेका र विभिन्न विश्वविद्यालयहरु र सीटीईभीटीले शुल्क निर्धारण नगरी मनपरी शुल्क लिने गरेकोप्रति हाम्रो संगठन उक्त कार्यको घोर विरोध गर्दछ । अविलम्ब शुल्क निर्धारणको लागि नेपाल सरकार समक्ष अपिल समेत गर्दछौं ।
यी विषयलाई अविलम्ब समाधान गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका हरेक प्रकारका विकृति र विसंगतिको अन्त्यका लागि हामी नेपाल सरकार र सम्बन्ति निकाय समक्ष हार्दिक अपिल गर्दछौं । अन्यथा, सशक्त संघर्षमा उत्रनुको साथै आम विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरुलाई शिक्षा र स्वस्थ्य क्षेत्रमा ब्रह्मलुट मच्चाउनेहरुका विरुद्ध संघर्षमा उतारी कारवाही गर्ने चेतावनी दिनसमेत चाहन्छौं । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार र सम्बन्धित पक्ष नै हुने जानकारीसमेत गराउन चाहन्छौं ।
क्रान्तिकारी अभिवादनसहित !

………………..
हरिकृष्ण गजुरेल
अध्यक्ष