हामी नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई अगाडि बढाउँदै आएका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले नेपाली क्रान्तिलाई सम्पन्न गर्ने गम्भीर जिम्मेवारीबोधका साथ रणनैतिक संयुक्त मोर्चा गठन गरेका छौं । नेपाली समाजको तत्कालीन वा दीर्घकालीन समस्या दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताबाट सम्भव छैन, त्यसका लागि क्रान्तिद्वारा जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था निर्माण अनिवार्य छ भन्ने यथार्थप्रति हामी स्पष्ट र दृढ छौं। नेपाली क्रान्तिको यो रणनीति हासिल गर्न कम्युनिस्ट क्रान्तिकारीका अलावा वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्ति तथा व्यक्तित्वहरूको पनि अहम् भूमिका रहने हुनाले हामी त्यस्ता शक्ति एवं व्यक्तित्वहरूलाई पनि यस रणनैतिक मोर्चामा सामेल हुन अपिल गर्दछौं । सात दशक लामो नेपालको कम्युनिस्ट आन्दोलनमा रणनीतिक संयुक्त मोर्चा केवल नीतिमा सीमित हुन पुगेको थियो तर आजको वस्तुगत आवश्यकता र कम्युनिस्ट क्रान्तिकारीहरूको सचेत प्रयत्नबाट रणनैतिक संयुक्त मोर्चा व्यवहारमा प्रकट हुन सम्भव भएको छ । यस ऐतिहासिक क्रान्तिकारी प्रयोगमा आइपर्ने सबै खालका अड्चनहरूलाई सिद्धान्तको सिर्जनात्मक प्रयोग र क्रान्तिप्रतिको निष्ठामा आधारित भई समाधान गर्दै अघि बढ्नुपर्ने दायित्वप्रति हामी सचेत छौं ।
(क) वस्तुगत तथा आत्मगत अवस्था
१. लामो समयदेखि नेपाली जनता र प्रतिक्रियावादी व्यवस्था तथा राज्यसत्ताका बीचमा सङ्घर्ष चल्दै आएको छ । प्रतिक्रियावादी सत्तामा आमूल परिवर्तन गर्नका लागि कम्युनिस्ट पार्टीको नेतृत्वमा भएका विभिन्न जनसङ्घर्ष र जनआन्दोलनहरू, वि.सं. २००९–२०११ सम्म बारा–पर्सा–रौतहटलगायत स्थानमा भएका किसान आन्दोलनहरू, ऐतिहासिक झापा विद्रोह र महान् जनयुद्धको फलस्वरूप गणतन्त्र र राजनीतिक स्वतन्त्रता जस्ता विषयमा केही मात्रात्मक उपलब्धीहरू त हासिल भएका छन् तर गुणात्मक परिवर्तन र आधारभूत कम्युनिस्ट ध्येय उद्देश्य प्राप्त भएको छैन । त्यसैगरी वि.सं. २०६२÷६३ को जनआन्दोलन र मधेसी, महिला, दलित, जनजाति, मुस्लिम आदि समुदायका आन्दोलनहरूले राखेका उद्देश्य र आकांक्षा पनि पूरा भएका छैनन् । नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवादी शक्तिहरूले निरन्तर गर्दै आएका हस्तक्षेपका विरुद्ध नेपाली जनताले राष्ट्रिय मुक्ति सङ्घर्ष लगातार सञ्चालन गर्दै आएका छन् तर त्यसले पनि पूर्णता पाइसकेको छैन । फलतः आज पनि नेपाल साम्राज्यवादी नवऔपनिवेशिक साङ्लोमा बाँधिएकै अवस्थामा छ । सत्ता र संरचनाको मूल भूमिकामा दलाल पुँजीवाद र दलाल पुँजीपति वर्ग रहन पुगे पनि विभिन्न क्षेत्रमा अवशेषका रूपमा सामन्तवाद पनि जीवन्त छ ।

२. विद्यमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ता नेपाली समाजका आधारभूत समस्या समाधान गर्न असफल भई आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा संकटग्रस्त हुन पुगेको छ । व्यवस्थामा उत्पन्न उक्त सङ्कटबाट फाइदा उठाएर गणतन्त्रमाथि नै प्रहार गर्न प्रतिगामी तत्वहरू लागिपरेका छन् भने संकटलाई देश र जनविरोधी हर्कतमार्फत् हल गर्न राजनीतिक प्रतिगमन तथा फासीवादी निरंकुशतातिर कम्युनिस्ट खोलधारी ओली सरकार तीव्र रूपमा अघि बढिरहेको छ । अन्य संसद्वादी पार्टीहरू मध्यावधि चुनाव वा संसदको पुनस्थापनालाई संकटको समाधान बताइरहेका छन् । वस्तुतः आजको राजनीतिक संकट दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलता, दलाल पुँजीपति वर्गका विभिन्न स्वार्थ समूहबीचको टक्कर र बाह्य शक्तिहरूको हस्तक्षेपका कारण उत्पन्न भएको हुनाले विद्यमान व्यवस्थाभित्रैबाट यथास्थितिको पुनरुत्पादन गरेर संकट समाधान सम्भव छैन ।

३. आजको प्रतिगमनलाई परास्त गरी संकटको वास्तविक समाधान अग्रगामी परिवर्तनले मात्र गर्न सक्ने भएकाले कम्युनिस्ट, वामपन्थी, देशभक्त, सच्चा लोकतन्त्रवादी शक्तिहरू तथा व्यक्तित्वहरूले एकताबद्ध भई संकटलाई निकास दिन पहल लिउन् भन्ने जनआकांक्षा आम रूपमा प्रकट हुन पुगेको छ । यस्तो पहल हुँदा आमूल परिवर्तनका पक्षमा आम जनता ध्रुवीकृत हुने प्रबल सम्भावना उत्पन्न भएको छ । साथै क्रान्तिकारी पार्टीहरूलाई रणनैतिक संयुक्त मोर्चाको निर्माण र त्यसमार्फत् व्यापक जनसङ्घर्षको विकास गर्नुपर्ने जिम्मेवारीबोध तथा विचार, राजनीति र भौतिक शक्तिका दृष्टिले समेत त्यस्तो मोर्चा परिचालन गर्न सक्षम हुनैपर्दछ भन्ने निष्कर्षमा पु¥याएको छ ।
उपरोक्त विषयहरूलाई गम्भीरतापूर्वक हृदयंगम गरी रणनैतिक संयुक्त मोर्चाका आधारभूत मान्यता र संरचना निर्धारण गरिएको छ ।

(ख ) रणनैतिक संयुक्त मोर्चाका मान्यताहरू
१. यस रणनैतिक संयुक्त मोर्चाको उद्देश्य दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु हुनेछ । रणनैतिक संयुक्त मोर्चा साम्राज्यवाद र दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको विरुद्धको मोर्चा भएकाले यसले मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम र मध्यम वर्गको पूर्ण अधिकार तथा राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने लक्ष्य राख्दछ । मोर्चामा कम्युनिस्टहरूका अलावा वामपन्थी, देशभक्त, सच्चा लोकतन्त्रवादी शक्ति, व्यक्तित्वहरू र मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम आदि उत्पीडित वर्ग र समुदायका प्रतिनिधिहरू सामेल हुनेछन् ।
२. जनगणतन्त्र÷वैज्ञानिक समाजवादको रणनैतिक उद्देश्य पूरा गर्न संक्रमणकालीन राजनीतिक अवस्थामाथि हस्तक्षेपसहित अघि बढ्नु अनिवार्य हुन्छ । न्याय, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धि दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाबाट सम्भव छैन । त्यसैगरी राजनीतिक प्रतिगमन र संकटको समाधान एक वा अर्को प्रकारको प्रतिक्रियावादी संसदीय व्यवस्थाभित्रैबाट गरिने प्रपञ्चबाट पनि सम्भव छैन । त्यसैले संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न ‘राजनीतिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार र जनगणतन्त्र÷वैज्ञानिक समाजवाद स्थापना’को राजनीतिक शृंखला हुँदै अघि बढ्नु आवश्यक छ । यस राजनैतिक शृंखलालाई अघि बढाउन सङ्घर्षकै एक औजारका रूपमा राजनीतिक समीक्षा सभाहरूमार्फत् व्यापक जनताका सरोकारहरूलाई संगठित गर्ने नीति लिइनेछ ।
३. रणनैतिक संयुक्त मोर्चाले रणनैतिक उद्देश्य प्राप्त गर्ने ध्येय पूरा गर्न र तत्कालका देश एवं जनताका समस्याहरू समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरूमा निरन्तर जनपरिचालन र सङ्घर्ष गर्नुपर्दछ । साथै कार्यगत एकतामा आधारित गठबन्धनहरू, विभिन्न जनवर्गका न्यायपूर्ण सङ्घर्ष एवं सन्दर्भहरूलाई समेत मोर्चाले नीतिगत तथा व्यावहारिक नेतृत्व दिन निरन्तर लागिपर्नेछ ।
४. रणनैतिक संयुक्त मोर्चा गठनको एउटा मुख्य लक्ष्य कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरण र पार्टी एकता हो । त्यसैले यस रणनैतिक संयुक्त मोर्चामार्फत् पार्टीहरूबीच गरिने सहकार्य र सैद्धान्तिक–व्यावहारिक अन्तरक्रियालाई व्यवस्थित गर्दै पार्टी एकतासम्म पुग्ने प्रयत्नहरूलाई घनिभूत पारिनेछ ।
५. यस मोर्चामा हाल र पछि आबद्ध हुने कम्युनिस्ट पार्टीहरू र अन्य शक्ति एवं व्यक्तित्वहरू मोर्चाको मान्यतासँग नबाझिने गरी आफ्नो कार्यदिशाअनुरूप अभिव्यक्ति र गतिविधि गर्न स्वतन्त्र रहने छन् । साथै उनीहरूले आफ्ना त्यस्ता गतिविधिहरू मोर्चामा अवगत गराउनु आफ्नो दायित्व ठान्ने छन् ।

(ग ) रणनैतिक संयुक्त मोर्चाको संरचना
१. रणनैतिक संयुक्त मोर्चा एउटा मोर्चा संगठनको रूपमा गठन हुनेछ । यो केन्द्र, प्रदेश, जिल्ला र आवश्यकतानुसार स्थानीय तहसम्म गठन गर्न सकिनेछ । केन्द्र र प्रदेश समितिमा हाललाई १५ जना रहनेछन् भने जिल्ला तहमा ११ सदस्यीय समिति बनाइने छ । मोर्चामा आबद्ध पार्टीहरूबाट समान संख्यामा प्रतिनिधि रहनेछन्, साथै घटकहरूको सहमतिमा थप पार्टी तथा स्वतन्त्र व्यक्तित्वहरू सामेल गर्दै जाने नीति लिइनेछ । प्रत्येक समितिमा एक अध्यक्ष र एक सचिव पदाधिकारी रहने छन् । पदाधिकारीहरू सहमतिमा छ÷छ महिनामा आलोपालो प्रणालीमा परिवर्तन गरिनेछ । मोर्चाका घटकहरूले आफ्नो तर्फबाट प्रतिनिधित्व गराउँदा कम्तिमा एक सदस्य महिला, दलित, जनजाति, मधेसी, मुस्लिम समुदायबाट हुनु अनिवार्य छ । सबै उत्पीडित समुदायबाट प्रतिनिधित्व सुनिश्चित होस् भन्नका लागि घटकहरूबीच समझदारी बनाउनुपर्नेछ ।
२. रणनैतिक संयुक्त मोर्चाको विधान र आचार संहिता विकास गरिनेछ । विधानमार्फत् नै यसको समग्र सञ्चालन विधि वा आवश्यक अन्य विषयहरू टुंगो गरिनेछ ।

मोहन वैद्य ‘किरण’
(महासचिव)
नेकपा (क्रान्तिकारी माओवादी)

विप्लव
(महासचिव)
नेकपा

ऋषिराम कट्टेल
(अध्यक्ष)
नेपाल कम्युनिस्ट पार्टी

आहुति
(संयोजक)
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर