
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)सहितका चार कम्युनिस्ट पार्टीले रणनीतिक संयुक्त माेर्चाकाे अवधारणा पत्र र संघर्षका कार्यक्रम बिहीबार घाेषणाा गर्दै छन् । संसदीय व्यवस्थाकाे विकल्पमा नयाँ जनवादी राज्य व्यवस्थाकाे स्थापना गर्दै वैज्ञानिक समाजवादी क्रान्तिकाे दिशामा अगाडि बढ्नुपर्ने विषयमा सहमत हुँदै चार कम्युनिस्ट पार्टीले रणनीति संयुक्त माेर्चा निर्माण गर्ने सहमति गरेका थिए । सहमति अनुसार चार पार्टीले काठमाडौंकाे कमलादीस्थित प्रज्ञा भवनबाट बिहीबार (२९ गते) साढे १२ बजे एक भव्य समाराेहबीच संयुक्त माेर्चाकाे अवधारणा पत्र र संघर्षका कार्यक्रमकाे घाेषणा गर्दैछन् ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच बनेको रणनीतिक संयुक्त मोर्चाले शीर्ष नेतृत्वको उपस्थितिमा एक भव्य समारोहबीच आफ्नो रणनैतिक संयुक्त मोर्चा घाेषणा एवं माेर्चाको अवधारणा पत्र, संरचना र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको हाे ।
चार पार्टीको याे संयुक्त माेर्चाबाट क्रान्तिकारी पंक्ति उत्साहित बनेकाे छ भने आमूल परिवर्तनका पक्षधर जनताले पनि आशाकाे नजरले हेरेका छन् ।
संसद विघटनपछिकाे विकसित राजनीतिक परिस्थितिमा संसदकाे पुनर्स्थापना तथा संसदकाे निर्वाचनबाट मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका समस्याहरुकाे वास्तविक समाधान नहुने भन्दै सम्पुर्ण सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारी शक्ति र व्यक्तिहरु संघीय जनगणतन्त्रकाे विकल्पमा अगाडि बढ्नुपर्ने चार कम्युनिस्ट पार्टीको निष्कर्ष रहेकाे छ ।
प्राप्त जानकारी अनुसार चार पार्टीको संयुक्त माेर्चाले प्रारम्भिक चरणमा बुटवलमा फागुन ६ गते, धनगढीमा १४ गते र इटहरीमा २१ गते जनसभा गर्ने संघर्षका कार्यक्रम तय गरेकाे छ ।





























