नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणद्वारा प्रेस–वक्तव्यमार्फत पार्टी स्थायी समितिको बैठकका निणर्यहरु प्रकाशित

नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणद्वारा प्रेस–वक्तव्यमार्फत पार्टी स्थायी समितिको बैठकका निणर्यहरु प्रकाशित

पौष १६ काठमान्डौ । नेकपा (क्रान्तिकारी माओवादी)को स्थायी समितिको बैठक यही पौष ५ गते वसी संसद विघटन र मध्यावधि निर्वाचन सम्बन्धी घोषणाबारे निम्न निर्णहरु प्रेस–वक्तव्यमार्फत प्रकाशित गरिएको छ ः

प्रेस–वक्तव्य
१४ पौष २०७७मा सम्पन्न स्थायी समितिको बैठकमा यही पौष ५ गते गरिएको संसद विघटन र मध्यावधि निर्वाचन सम्बन्धी घोषणाबारे आवश्यक छलफल गरी गरिएको निर्णय प्रेस–वक्तव्य मार्फत् निम्नानुसार सार्वजनिक गरिएको छ ः
१. प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटनको यो कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम हो । साथै, यो गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासीवादी कदम पनि हो ।
२. वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यस प्रकारको सङ्कटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै सक्दैन । यस सङ्कटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, सङ्घीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्तछ ।
३. आज देशमा आन्तरिक तथा वाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको छ । देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गंभीर खतरा उत्पन्न भएको छ । यस स्थितिमा हाम्रो पार्टी वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित विशेष अनुरोध गर्दछ ।
मिति ः १६ पुष २०७७

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)