
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–७, छोटौलका ६४ वर्षीय किसान नारायण राय यादवको उखुको भुक्तानीका लागि आन्दोलनरत अवस्थामै गत मंगलबार हृदयाघातका कारण मृत्यु भयो । चार वर्षदेखि चिनी मिलबाट उखुको भुक्तानी नपाएपछि उखु कृषकको आन्दोलनमा सामेल हुन उनी काठमाडौं आएका थिए । यसपटक भुक्तानी नलिई नफर्किने भन्दै आन्दोलन भइरहेको अवस्थामा आन्दोलनका अगुवा र सरकारबीच फेरि उधारो सम्झौता भएको खबर सुनेपछि नारायण राय यादवलाई हृदयघात भएको थियो । हृदयघातका कारण उनको प्राण पखेरु उड्यो । अरु किसानहरु पनि अमिलो मन पारेर रित्तो हात फर्किन बाध्य भए ।
आन्दोलनरत किसानका कथित अगुवा र सरकारबीच चार बुँदे सहमति भएपछि उनीहरुले आफू फेरि ठगिएको अनुभूति गरे । यस्तै सहमति गत वर्षको आन्दोलनको बेला पनि भएको थियो तर पैसा अझै हात लागेको थिएन । विगतको सहमति कार्यान्वयन नगरेका कारण यो वर्ष फेरि आन्दोलन गर्नु परेको थियो ।
यो पटक पनि ऋण काँढेर आन्दोलनमा आएका किसानहरु रित्ता हात फर्किन बाध्य हुनु प¥यो । ऋणमाथि ऋणको भार बढ्दै जानु, अर्कोतिर उधारो सहमतिका साथ आन्दोलन स्थगन गर्ने तयारी हुनुले किसानहरुमा असह्य पीडा भएको छ । यही पीडा सहन नसकी किसान यादवको हृदयघातका कारण मृत्यु भएको पीडित परिवारजनले बताएका छन् ।

नारायणको परिवार २५ लाख रुपैयाँभन्दा बढी ऋणले थिचिएको छ । त्यत्रो ऋण उनले घर–परिवारको आवश्यकता पूर्ति गर्न र खेतीकै लागि विभिन्न वित्तीय संस्थाबाट लिएका थिए ।
पुषको चिसोमा १७ दिनसम्म आन्दोलन गर्दा पनि रित्तो हात फर्कनुपर्दा नारायण रायको मृत्यु भएको भन्दै नारायण राय यादवको मृत्युको जिम्मा सरकारले लिनुपर्ने आवाज उठिरहेको छ । बिचौलिया, सरकार र उद्योगी मिलेर किसानहरुलाई फेरि धोका दिएको पीडित किसानहरुले बताउँदै आएका छन् । किसानले उखु मिलबाट पाउनुपर्ने ९० करोड रुपियाँ सहमति अनुसार २१ दिनभित्र नपाए किसानहरुले कडा संघर्षमा उत्रने समेत चेतावनी दिइरहेका छन् ।































