
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले १२८ औं माओ जन्म दिवसको अवसरमा एक महत्वपूर्ण वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्न कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुन आव्हान समेत गरिएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले वक्तव्यमा भन्नुभएको छ, “यो बेला सच्चा माओवादीहरुले संशोधनवादलाई नाङ्गेझार नपारी विश्व सर्बहारा क्रान्तिको विकास संभव छैन । यस स्थितिमा कथित कम्युनिस्ट सरकारको भण्डाफोर गर्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ दृढताकासाथ अगाडि बढ्नुमा नै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व रहन्छ । अतः म केन्द्रीय समितिको तर्फबाट सबै पार्टी कमरेडहरुसित विशेष उत्सवका रुपमा माओदिवस मनाउन र माओले देखाएको बाटोमा निरन्तर लागिरहन हार्दिक अनुरोध गर्दछु ।”

यस्तो वक्तव्यको पूर्णपाठ ः
“आज डिसेम्बर २६ माओत्सेतुङको १२८औं जन्म दिवस हो । माओत्सेतुङ विश्व सर्वहारा वर्गका महान नेता तथा आम उत्पीडित जनताका मुक्तिका मार्गदर्शक हुनुहुन्थ्यो । आज विश्वभरि र नेपालमा पनि सर्वहारा वर्ग तथा आम उत्पीडित जनताले भव्यताका साथ माओ दिवश मनाइरहेका छन् । माओ दिवसको यस ऐतिहासिक अवसरमा विश्व तथा नेपाली सर्र्वहारा वर्ग, उत्पीडित जनसमुदाय, सम्पूर्ण समर्थक तथा शुभचिन्तकप्रति हाम्रो पार्टी लालसलाम अर्पण गर्दछ ।
कमरेड माओले माक्र्सवादका तीनवटै सङ्घटक अङ्ग अर्थात् दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा सार्वभौम महत्वको योगदान गर्नु भएको छ । चिनियाँ प्रतिक्रियावाद तथा विश्व साम्राज्यवादका विरुद्धको भीषण वर्गसङ्घर्ष र संशोधनवादका विरुद्धको निर्मम दुईलाईन सङ्घर्षका बीचबाट माओले माक्र्सवाद–लेनिनवादको जुन विकास गर्नु भयो त्यो सार्वभौम महत्वको छ । यसक्रममा माक्र्सवाद–लेनिनवाद, विश्व सर्वहारा वर्गको अखण्ड क्रान्तिकारी सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादका रुपमा विकसित हुन गएको छ । आज, कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्नै सक्दैन ।
यतिबेला नेपालमा साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवम् हस्तक्षेप बढ्दै गएको छ र त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादले साथ दिइरहेको छ । त्यसैको परिणाम लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय विस्तारवादले आफ्नो नक्सामा पारेर नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि सिधा हस्तक्षेप गरेको वर्तमान सन्दर्भमा कम्युनिस्ट नामको वर्तमान प्रतिक्रियावादी सरकारका प्रधनमन्त्रीद्वारा संघीय संसद पनि विघटन गरिएको छ र देश झन वैदेशिक हस्तक्षेपका लागि बलियो आधार बन्दै छ । कालापानीबाट भारतीय सेना हटाउन र लिम्पियाधुरा, सुस्ता लगायतका अतिक्रमित भूभाग फिर्ता गर्नका लागि कूटनीतिक पहल बढाउनुको साटो संशोधनवादीहरुको सरकारमा जाने लुछाचुडी र भागवण्डा नमिलेको कारण वर्तमान सरकारका प्रधानमन्त्रीले भारत र अमेरिकी इशारामा संसदको विघटन गरेका छन् र संसदीय पार्टीहरु विभाजित भएर कोही सडक र कोही सरकारमा छन् । यसबाट भारतीय र अमेरिकी प्रतिक्रियावादी सरकारहरु खुशी भएका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी)को भनाइ छ कि अब संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था नै हुन सक्दैन अबको विकल्प संघीय जनगणतान्त्रिक सरकार हुन्छ । नयाँ जनवाद, बैज्ञानिक समाजवाद र जनवादी केन्द्रीयता मान्नेहरुबीच ध्रुवीकरण र एकताको आवश्यकता झन बढेको छ । यस बारे विषेसजोड दिन जरुरी छ ।साथै आज यसप्रकारको नयाँ विश्वका निम्ति रणनीतिक महत्वको संयुक्त मोर्चा बनाउन पनि जोड दिनु पर्दछ ।
आज विश्वभरि दक्षिणपन्थी संशोधनवादीहरु प्रतिक्रियावादमा पतन भएर नवउदारवादका पक्षपोषक बन्न गएका छन् । यो बेला सच्चा माओवादीहरुले संशोधनवादलाई नाङ्गेझार नपारी विश्व सर्बहारा क्रान्तिको विकास संभव छैन । यस स्थितिमा कथित कम्युनिस्ट सरकारको भण्डाफोर गर्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ दृढताकासाथ अगाडि बढ्नुमा नै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व रहन्छ । अतः म केन्द्रीय समितिको तर्फबाट सबै पार्टी कमरेडहरुसित विशेष उत्सवका रुपमा माओदिवस मनाउन र माओले देखाएको बाटोमा निरन्तर लागिरहन हार्दिक अनुरोध गर्दछु ।”






























