
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले ‘संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र’को मूल नारा दिंदै देशव्यापी रुपमा सडक आन्दोलनमा उत्रिएको छ । वर्तमान केपी शर्मा ओलीले गरेको संसद विघटनको कमदलाई प्रतिगामी भन्दै त्यसको विरोध एवम् भण्डाफोर गर्न भन्दै क्रान्तिकारी माओवादीले भोलि (पौष ८ गते) दिनको १ बजे रत्नपार्क शान्तिबाटिकामा विरोधसभाको आयोजना गरेको छ । विरोधसभालाई पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी सातवटै प्रदेशका विभिन्न जिल्लाहरुमा पनि विरोध कार्यक्रम राखिएको सम्बद्ध स्रोतले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको कदमलाई एकातिर प्रतिगामी भनेको छ भने अर्कोतिर यसलाई संसदीय व्यवस्था, सत्ता र संविधानको असफलताको अभिव्यक्ति भएको ठहर गरेको छ । मंसिर ८ र ९ मा सम्पन्न क्रान्तिकारी माओवादीको पोलिट व्यूरो बैठकले वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधान सम्पूर्ण रुपले असफल र बद्नाम भएको निष्कर्ष निकाल्दै यो व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना अपरिहार्य बनेको ठहर गरेको थियो । र, संघीय जनगणतन्त्रको स्थापना गरौं भन्ने मूल नाराका साथ देशव्यापी रुपमा उसले सडक आन्दोलन चर्काउने समेत निर्णय गरेको थियो । निर्णय अनुसार मंसिर २५ गते काठमाडौंको रत्नपार्क लगायत सातवटै प्रदेश र जिल्लाहरुमा समेत विरोधसभाको आयोजना गरिएको थियो । तत्कालीन जनयुद्ध, जनआन्दोलन, मधेश तथा जनजाति, दलित, महिला तथा मुस्लिम आन्दोलनको समेत जनादेश संघीय जनगणतन्त्र स्थापनाका लागि थियो भन्दै क्रान्तिकारी माओवादीले आमूल परिवर्तनका पक्षधर सम्पूर्ण देशभक्त तथा कम्युनिस्ट क्रान्तिकारी पार्टी र आम जनतामा यही एजेण्डाको वरिपरि गोलबन्द हुन सार्वजनिक आव्हान समेत गरेको छ ।






























