मजदुर आन्दाेलनमाथि प्रहरी हस्तक्षेप, १० जना मजदुर घाइते, दुई जना पक्राउ

मजदुर आन्दाेलनमाथि प्रहरी हस्तक्षेप, १० जना मजदुर घाइते, दुई जना पक्राउ


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२१ लिपनीबिर्तास्थित ब्रिटानिया नेपाल प्रालिमा कार्यरत मजदुर आन्दोलनमा प्रहरीले निर्मम हस्तक्षेेप गरेको छ । विनाकारण उद्योगले एक दर्जन मजदुरलाई निष्काशन गरेपछि पुनर्वहालीकाे माग गर्दै भएकाे  आन्दोलनमाथि प्रहरीले दमन तथा हस्तक्षेप गरेकाे हाे ।
शान्तिपूर्ण धर्नाबाट माग पूरा नभएपछि उनीहरुले सोमबार काम गरिरहेका मजदुरलाई उद्योग प्रवेशमा रोक्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरीले आन्दोलनमा दमन र हस्तक्षेप गरेको थियो ।
सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १० जना मजदुरहरु घाइते भएको आन्दोलनरत मजदुरहरुले बताएका छन् । प्रहरीको लाठीचार्जबाट उनीहरुलाई चोटपटक लागेको उनीहरुको आरोप छ । प्रहरीले आन्दोलनरत दुई जना मजदुरहरु लालबाबु महरा र राम एकबाल कुशवाहालाई प्रहरीले पक्राउ गरेकाे समेत जनाएका छन् । 
१२ जना मजदुरलाई विना कारण निष्काशन गरेको विरोधमा उद्योगको गेटमा उनीहरुले विगत एक महिनादेखि धर्ना दिदै आएका थिए । मजदुरमाथि गरेको दमनशोषण बन्द गर्नुपर्ने, विना कारण निकालिएका १२ जना मजदुरलाई पर्नवहाली गरिनुपर्ने, मजदुरमाथि लगाइएको मुद्धा खारेज गरिनुपर्ने माग उनीहरुले राखेका छन् । उद्योगले १२२ जना मजदुरमध्ये १२ जनालाई विना कारण कामबाट निकालेको उनीहरुको भनाइ छ । उद्योगले विनाआधार विभिन्न आरोप लगाउँदै स्थायी मजदूर सुनेश महतो तत्वा, रवीन्द्र दास, वीरेन्द्र महतो, अजीज मियाँ, हसरुद्दीन देवान, कमोदकुमार यादव, लालबाबू महरा, सुनील साह, श्रीकान्त पटेल, सुशील पटेल, रामकिशोर पटेल, पप्पुसाह कलवारलाई कामबाट निस्कासन गरेकाेे थियाे ।