१७ गते ससुराजी काम विशेषले हाम्रो घरमा आउनु भएको थियो । मैले उहाँलाई सोधेँ ‘तपाइँकी छोरीको जन्मदिन कहिले हो ?’ किनकि उनको जन्मदिनको बास्तविकता अहिलेसम्म अलमलमै छ । मङ्सिर १० गते हो कि १८ गते हो भन्ने विषयमा यकिन थिएन । ससुराजीले भ्mवाट्टै भन्नु भयो– ‘१८ गते जस्तो लाग्छ ।’ मैले उहाँलाई १० गते कि १८ गते भनेर अफ्सन नदिएरै सोधेको थिएँ । तर पनि उहाँले १८ गते भन्नु भयो । उनको नागरिकतामा पनि यही नै छ । त्यति भएपछि १८ गतेलाई नै आधिकारिकता मान्नै प¥यो । ससुराजीको उत्तर पनि स्वाभाविक हो । किनकि मेरी उनलाई जन्माएको त उनको आमाले हो । ससुराजीलाई घर गृहस्तीका विभिन्न झैझमेलाले झेलेको थियो । प्रथम सन्तान जन्मिएको पनि हेक्का भएन । अहिले उनले आमा गुमाएको पनि १० बर्सै नाघिसक्यो । उतिबेला उहाँलाई जन्मदिन सोध्ने आवश्यकता नै परेन । यो फेसबुके अभियान त्यतिबेला यति चर्को थिएन । खासमा थिएन नै भन्दा पनि हुन्छ । अहिले यो अभियानमा सामेल नभए त जङ्गली युगको मान्छे पो भइन्छ कि जस्तो लाग्छ । त्यसैले उनको जन्मदिनको आवश्यकता प¥यो मलाई पनि बाध्यताले । जन्मदिनको खोजी गर्दा उनको बुबा भन्दा आधिकारिक अरू हुने त कुरै भएन । त्यसैले आज नै मैले पनि उनको सम्झना फेसबुके कितावको पानामा यसरी सजाएँ । –
“तिमीले आजको दिन यो पृथ्वी नहेरेको भए हाम्रो सहकार्य नहुँदो रहेछ । तिमी सँग सहकार्य नभएको भए मेरो राजनीतिक जीवनको यो उँचाई नहुन सक्थ्यो । धेरै धेरै बधाई छ तिमीलाई । तिमीसित सँगसँगै जीवन बिताएको पनि ३७ बर्स पुगिसके । अझै ५० बर्स सँगै रहन पायौं भने हामी दुबै १०३ बर्सका हुनेछौँ । कल्पना गर त त्यसबेला हामी कस्तो समय र सत्तासँग लडेका हौंला । ०४६ सालको जनआन्दोलनमा एउटा छोरी पेटमा र अर्को छोरी पिठ्युँमा बोकेर पनि पञ्चायती व्यवस्था मुर्दावादको नारा लगाएको तिमीलाई मन परेकै हो । जनयुद्धका बेला सेनाको हिरासतमा पनि तिम्रो निडरता सबैभन्दा उच्च रहेकै हो । पछि भारतका विभिन्न सहरका गल्लीहरूमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू र पार्टीका प्रचण्डदेखि सबै शीर्ष नेताहरूमा तिम्रो कार्य निकै प्रसंसित थियो । त्यसैगरी रोल्पा, जाजरकोट, बाँके, स्याङ्जा, पाल्पा र दाङका पश्चिमी गाउँहरूमा पनि तिम्रो काम र जनताका झुपडीहरूमा तिमीले छोडेका स्नेह ढुङ्गामा कुँदेका अक्षर जस्तै छन् । जाजरकोटको जुँगाथापाचौरमा र रोल्पाको दुम्ला, टिलामा तिम्रा अगाडि बम र रकेट लन्चरबाट साहीसेनाले गोला बर्साउँदा तिम्रा नेताहरू डरले थुरथुर भएर झोला छोडेर भागेको र तिमीले उनीहरूको झोला र कागजपत्र स्याहारसुसार गर्दै निडरताका साथ सुरक्षित भएको त्यहाँका जनताले सम्झिएकै छन् । हिजमात्रै अनलाइनमा प्रकाशित प्रचण्ड र केपीको दोहोरी पत्र मैले पढेर सुनाउँदा रोल्पामा ठुला नेताहरू (त्यसबेलाका माओवादीका प्रचण्ड, बाबुराम, दिवाकर, विप्लव, महरा, गुरुङ, बादल, सुदर्शन, शक्ति बस्नेत, पम्फा, हिसिला, सुनिल, पासाङ आदि सबै) र नारायणकाजी, परि थापा, माधव नेपाल, बामदेव आदिलाई मिठो खाना खुवाएको सम्झिएकी थियौ । आज तिमीजस्ता निरक्षर जनताले गरेको राजनीतिक योगदान त गुमनाम भए नै, अब त तिम्रो खाना मिठो थियोे भन्नेहरूले तिमीलाई चिन्दा पनि चिन्दैनन् । यही परिवर्तन र उपलब्धि पनि दलालहरू, ठेकेदारहरू, ठुला ब्यापारीहरू, माफिया, तस्कर र डनहरूले पो हामीले ल्याएका हौँ भन्दै कुर्लन्छन् । तिमीले प्रवासदेखि रोल्पासम्म आफुले सुखोरुखो खाएर मिठोमिठो खुवाएका नेताहरूले पनि तिनै दलाल, माफिया, तस्कर, डन, ठेकेदारलाई काखी च्यापेको देखेर तिमीले कस्तो राजनीति गरिएछ भन्दा म पढेलेखेको र बुज्रुक नेता भनाउँदाको मुख बुझो लाग्छ र म निरुत्तर जस्तै हुन्छु । मेरो मुटु पिरो हुन्छ, निचोरिएर आउँछ । तर पनि मैले हार खाएको छैन । अझै राजनीतिक लडाइँमा खटेकै छु र पनि तिम्रो सहयोग उस्तै छ जस्तो पहिला जनयुद्ध अगाडिदेखि थियो ।”
अब म हाम्रो सम्बन्धको गाँठो कसरी प¥यो र हाम्रा सैतीस बर्से सहयात्राका केही कुरा कस्ता रहे भनेर सम्झिन चाहन्छु ।
म लगभग सर्वहारा वर्गीय धरातलमा जन्मिएको मान्छे । मेरा बाआमाले साविक लाहुरेचौर गाउँ पञ्चायतको वडा नं. ७ हालको तुलसीपुर उपमहानगरपालिकाको ३ नं. वडामा पर्ने साजबास भन्ने ठाउँमा सानोतिनो खुत्रुके पसल, चियानास्ता र अर्डर अनुसार खाना पकाउने ब्यवसाय गरी बस्नुहुन्थ्यो । हाम्रो खेतिपाती गर्ने जमीनको त नाम निसान पनि थिएन । त्यस्तो परिबेसमा ५३ बर्स पहिला मेरो जन्म हाम्रा बाआमाको दोस्रो सन्तानका रूपमा भएको हो । मैले प्रारम्भिक शिक्षा बाआमाकै काखमा लुटपुटिएर कक्षा तीनसम्म आपूm जन्मिएको गाउँको प्रा.वि. स्कूलमा पढेँ । जुन स्कूलमा बाले लामो समयसम्म सञ्चालक समितिको अध्यक्ष भएर सेवा गर्नु भयो । त्यसपछि नौ बर्सको उमेरमा २०३४ सालमा चार कक्षा पढ्नेदेखि कलेजको यात्रा हुँदै पाँच बर्स शिक्षण पेसा गर्दासम्म मैले घर छोड्नु प¥यो । २०५२ सालमा जनयुद्ध शुरु भएपछि त भूमिगत नै भइयो । त्यतिबेला पनि घरमा बस्ने अवसर प्राप्त हुन सकेन । आजसम्म पार्टीले दिएको भूमिकामा नै निरन्तर खटिएको छ । त्यसैले यतिखेर पनि घरको काममा भन्दा पार्टीकै काममा समय दिनु पर्ने अवस्था भएको छ । अहिले विश्वभर कोभिडको माहामारीले सबैलाई आक्रान्त बनाएको छ । त्यसको प्रभाव मेरो सन्दर्भमा पनि नपर्ने कुरा भएन । यही कोभिडको कारणले मात्रै लगातार घरमा बस्ने अवसर प्राप्त त भयो परन्तु यति नै बेला मैले पारिवारिक समस्याको सामना गर्नु प¥यो । देश लकडाउन भएकै समयमा मैले भाइ र बुबालाई गुमाउनु प¥यो । स्वस्थ मनस्थितिका साथ घरमा बस्ने वातावरण त ०३४ सालदेखि आजसम्म मलाई कहिल्यै प्राप्त भएन ।
यसै बिच मैले दस कक्षा पढ्दै गर्दा जतिबेल म सोह«बर्से खुट्किलो टेकेको मात्र थिएँ । घरमा मेरो बिहे गर्ने कुरो चल्ने गरेको रहेछ । त्यतिबेला मेरो दिदीको बिहे गर्नु पर्ने उमेर भएको थियो । आमाले मेरो बिहे गरेर बुहारी भित्र्याएपछि मात्रै दिदीको बिहे गर्ने अडान लिनु भएको रहेछ । किनकि दिदी स्कूल जानु हुन्नथ्यो । घरमा भैँसीलाई घाँसपात गर्ने, दाउरा खोज्ने र बाख्रा चराउने यी तीन पिरयिडका कक्षा दिदीले पढ्नु हुन्थ्यो । दिदीको बिहे पहिला गरेपछि त यो कक्षा खाली हुने भयो । त्यसैले बुहारी भित्र्याएर मात्रै छोरी पठाउने आमाको योजना थियो । म स्कूलबाट कहिले एक दुई हप्तापछि शुक्रबारमा र कहिले महिनादिनपछि मात्रै घर जान्थेँ । नौ बर्सको उमेरदेखि मेरो डेराको जीवन यथावतै थियो ।
मैले पढ्दापढ्दै र सानै उमेरमा बिहे गर्न अस्वीकार गरेको थिएँ । त्यसपछि मलाई या त पढ्न छोडेर दिदीले सम्हालेको घरधन्दा सम्हाल्नु पर्ने या त बिहे गरेर पढ्न जानु पर्ने दबाब आयो । मैले यी दुई अफ्सन मध्य एक रोज्नु पर्ने बाध्यता आइलाग्यो । धेरै दिनको छलफल र बहसपछि मैले पढ्नका लागि बिहे गर्ने विकल्प रोजेँ । बिहे नगर्ने मेरो अठोट थला प¥यो । अब कुरो आयो बिहे कोसित गर्ने ? कहाँ र कसरी गर्ने ? मलाई मेरै जन्म ठाउँका एउटा परिवारले छोरी दिन तयार रहेछ । मैले उक्त प्रस्ताव अस्वीकार गरेँ । बिहे गर्ने नै हो भने मैले रोजेको केटी हुनु पर्छ भनेर बाआमासित प्रस्ताव गरेँ ।
मैले हाइस्कूलको शिक्षा मामा घर बसेर लिएको थिएँ । कक्षा १–३ प्रा.वि. कल्लेराम्री कोटमा (घरगाउँकै स्कूल) २०३०–०३३ सालमा, कक्षा ४–७ नि.मा.वि. गुरुजजुर, रक्षाचौरमा २०३४–०३७ र कक्षा ८–१० मा.वि.भ्युँडहर सुनपुर (भमके)मा २०३८–०४१ सम्म पढेको हुँ । हाइस्कूल पढ्नेबेला स्कूल जाँदा आउँदा बाटो पर्ने भएकाले हाल मेरो जीवनसाथी देवीको माइतीघरमा उनलाई देखेको थिएँ । त्यहीबेला उनको रहनसहन, चालाचलन, बोलीचाली, जीउडाल सबै कुराको परिचित थिएँ । तर उनीसँग बोलचाल हुँदैनथ्यो । नजाने गाउँको बाटै नसोध्नु भनेझैँ उनीसित बोलचाल गर्नुपर्ने कुनै आवश्यकता नै पर्दैनथ्यो । न त उनी स्कूल जान्थिन् न त उनी मेरो नाता पर्ने केटी थिइन् । मायाँ पिरिमको त आवश्यकता नै थिएन । अहिलेको जस्तो सस्तो लभ गर्ने जमाना पनि थिएन । मलाई लभको खाँचो पनि थिएन । वास्तवमा मलाई लभ कसरी गर्छन् थाहा पनि थिएन । मेरो लक्ष्य त उच्च शिक्षा पढ्ने थियो । बरू अलिअलि काङ्ग्रेस, कम्युनिस्टबारे जान्ने बुभ्mने विषयको राजनीतिक चस्का पर्न थालेको थियो ।
जब मैले बिहे गर्नुपर्ने समयले घचेड्दै थियो, त्यतिबेला मैले बआमालाई लौ मैले बिहे गर्नै पर्ने हो भने त्यही केटी माग्नुस्, दिन्छन् भने गर्छु नत्र अरू कसैलाई गर्दिन भनेर देवीका बारेमा बताएँ । त्यसपछि भने स्कूल जाँदा आउँदा उनलाई अलि नजिकबाट नियाल्न थालेँ । उनका गतिविधि माथि चासो दिन थालेँ । कतै हात मागेको बेला उनका बाआमाले स्वीकार गरे भने त मेरी श्रीमती हुने केटी पो हो, के कस्ती छे त भनेर नियाल्न थालेँ । मेरै प्रस्ताव अनुसार देवीको हात माग्न मेरा भाञ्जदाजी शोभाखर साप्कोटा र बा भएर उनको घरमा जानु भयो । धेरै समयको गलफत्तीपछि अन्ततः उनका बाआमाले मसँग आफ्नी छोरीको बिहे गरिदिन राजी भए । अन्त्यमा २०४१ साल बैशाख २७ गते परम्परागत धार्मिक विधिविधान अनुसार हाम्रो मागी विहे सम्पन्न भयो । देवीलाई त झन् आफ्नो बिहे हुँदैछ भन्ने कुरा पनि जन्ती गएर स्वयम्बर गर्ने समयमा मात्रै जानकारी भएको रहेछ । यसरी हाम्रो बिहे सम्पन्न भयो । अनि उनले घरधन्दा हेर्न थालिन र मैले अगाडिको शिक्षा आर्जन गर्ने अवसर पाएँ । तथापि आफ्नो इच्छाअनुकूल उच्च शिक्षाको अन्तिम खुट्किलोसम्म उक्लने अबसर मैले जुराउन सकिन । दुई वटा कारणले मेरो बाटो अबरूद्ध बनायो । पहिलो मेरो घरको आर्थिक अवस्था । दोस्रो राजनीतिक कृयाशीलता ।
तुलसीपुरदेखि सल्यान जोड्ने राप्ती राजमार्ग २०४२ सालदेखि निरन्तर चल्न थाल्यो । त्यसपछि हाम्रो व्यवसाय पूर्ण रूपमा बन्द भयो । व्यवसायबाटै जोडेको सानोतिनो खेतबाट हाम्रो परिवारलाई खान पुग्दैनथ्यो । त्यसैले हामीले बसाइँ सरेर बर्दिया जानु प¥यो । पेटभरी भात खान पाउने अभिलासा बोकेर हामी बर्दियाको पाथाभारमा बसाइँ सरेर गयौँ । बर्दियामा गएपछि हामीलाई खान लाउनको समस्या त परेन तर देवीले भने निकै कष्टपूर्ण जीवन बिताउनु प¥यो । जस्को म यहाँ सबै कुरा खोल्न पनि सक्दैन । त्यसो त उनले बिहे गरेको दोस्रो बर्सदेखि नै घरमा निकै कष्टप्रद जीवन विताउनु परेको थियो । म घरमा बस्दैनथेँ । बसेकै भए पनि मैले केही गर्न सक्ने अवस्था थिएन । या त मैले बाल्यकालमै बाआमाबाट छुट्टिएर बस्नु पर्ने हुन्थ्यो । म निकै अप्ठ्यारो अबस्थामा थिएँ । छुट्टिएर बसुँ भने मेरो पढाईले हाइस्कूल पास नगर्दै बिश्राम लिनु पर्ने थियो । साथै आर्थिक अभावका कारण जीवन कष्टकर पनि हुन्थ्यो । नछुट्टिएर बसौँ श्रीमती छोड्नु पर्ने घरको दबाब । म भने बाआमा र श्रीमती दुबै छोड्न चाहन्नथेँ । क्रमशः

प्रतिक्रिया

सम्बन्धित खवर