
केहि समयदेखि नेपाली समाज अशान्त छ । कोरोनाको कहरलाई पनि बेवास्ता गर्दै मानिसहरु सडकमा उत्रिन तयार भएको देखिँदैछ । तिनै जनताले भोट हालेर सबैतहमा जिताएको हालको डबल ने क पा को सरकारले उनीहरु माथि गरेको विश्वासघात र धोका उनीहरुका लागि अब दिनदिनै असह्य हुँदै गएको छ । बेरोजगारी, भ्रष्टाचार, तस्करी, कमिशनखोरी, बलात्कार, असुरक्षा, भोकमरी आदिबाट पीडित नेपाली जनता झन् यतिखेर त सहनै नसक्ने ठाउँमा पुगेका छन् । अनि उनीहरु आक्रोसित नहुन् पनि किन ?
नेपाली जनता आफुले भोट हालेको सरकारतिर आसाको नजरले हेरेका थिए । भोकमरीमाबाट पीडित जनतालाई दुई छाक खान दिने, महामारीको उपचार गर्ने जिम्मेवारीबाट पनि सरकार पछि हटेको छ । सरकारमा त जतासुकै भ्रष्टाचार, लुट, तस्करी र तमाम प्रकारका विकृति देख्दछन् । सरकार संचालनको बागडोर समातेर बसेको पार्टी नेकपाको सर्वोच्च स्थानमा आसिन नेता तिर हेर्छन् । त्यहाँ पद, धन सम्पत्ती, सुविधाकोलागि लुछाचुँडी, कचिंगल, मारामार भैरहेको छ । प्रचण्ड र ओलीमा सत्ताको होड चलेकोचल्यै छ । सत्ताको मनपरी दुरुपयोग भैरहेको छ । ..जनताको अपेक्षा विपरीत काम भयो, जनताले आफु ठगिएको महसुश गरे ।..जनतामाथि ठुलो धोका भयो । प्रधानमन्त्रीको आसनमा सवार केपी ओली भन्छन् आफ्नो सरकारले जनताकालागि काम गर्न कुनै कसर बाँकी राखेको छैन । यहाँ भन्दा बढी अरु के गर्नु ? अनि जनता आक्रोसित किन नहुन् ?
जनता संसदको प्रमुख प्रतिपक्षी पार्टी तिर हेर्छन् । त्यहाँ पनि त्यहि कचिंगल, त्यहि झगडा छ । प्रतिपक्ष सत्तापक्षकै महियार जस्तो भएको छ । नेपाली कांग्रेस कै एकथरी नेता भन्छन् शेर वहादुर देउवाको प्रधान मन्त्री ओली सँग साँठगाँठ छ । उनीहरुको दुबै मिलेर सरकार बनाउने सल्लाह भैरहन्छ । उनी संवैधानिक आयोगमा बढी भन्दा बढी आफ्ना मानिस घुसाउन पाउनुमै सफलता देखि रहेका छन् । सरकारमै नभए पनि त एउटै काली गण्डकी जन विद्युत् आयोजनाको सम्झौतामा ओली र प्रचण्ड सँग मिलेर देउवाले पनि ३ अरब रुपैयाँ घुस खाएको आफु सँग भएको प्रमाण छ भनेर बाबुराम भट्टराई कुर्लिरहेकै छन । तिनै जना “शिर्ष नेता” ले त्यसको प्रतिवाद पनि गरेका छैनन् । अनि यो पार्टीले सरकारका गलत कामको विरोध कसरि गरोस् ? त्यहाँ पनि आसा गर्ने ठाउँ छैन । अनि जनता किन निरास नहुन् ? किन आक्रोसित नहुन् ।
जनताले क्रान्तिकारी शक्तिहरु तिर हेरिरहेका छन्् । तिनीहरुमा प्रभावकारी तागत देख्दैनन् । तिनीहरु सँग उथलपुथल गरिहाल्ने शक्ति देख्दैनन् । जनताका दैनिक समस्या समाधान त्यताबाट भैहाल्छ भन्ने विश्वास गर्न सकिने अवस्था देख्दैनन् । अहिले नै सत्तालाई धक्का दिइ हाल्ने सामथ्र्य उनीहरुमा देख्दैनन् । त्यताबाट पनि उनी विश्वस्त हुन सकिरहेका छैनन् । अनि जनता किन निरास नहुन् ?
“राजावादीहरु”को हौवा
केहि हप्ता देखि देशका राजधानी लगायत देशका धेरै शहरमा “राजा आउ, देश बचाउ” भन्ने नारा लागे । “गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद” भन्ने नाराहरु लागे । विरोध जुलुसहरु भए । यसले नेपालमा सानो तिनो तरंग ल्यायो । केहि मानिसहरु राजतन्त्र आइपो हाल्ने हो कि भनेर तर्सिएका पनि छन् । यसको कारण के हो त ? यो बुझ्नु जरुरी छ ।
संविधान सभाको पहिलो बैठकबाट ०६५ सालमा गणतन्त्र पारित हुने वित्तिकै नेपालका सबै नागरिक चौबिस घण्टा भित्रै गणतन्त्रवादी भै हाले भनेर कसैले ठानेको भए त्यो सोच गलत थियो । नेपालको इतिहासको झण्डै साँढे दुई शताव्दि सम्म शासन गर्दै आएको राजतन्त्रको पक्षमा कोहि पनि थिएनन् भन्ने सोचाई गलत हो । गणतन्त्र आइसके पछि पनि केहि मानिस राजतन्त्रको पक्षमा रहिरहेको कुरा सबैलाई थाहा भएकै विषय हो । यो जस्तो लाचार सरकार यसभन्दा अघि थिएन । सरकार प्रति जनताको आक्रोस पनि त्यत्तिकै छ । यसभन्दा अघिको भन्दा यतिखेर सडकमा उत्रिनका लागि राम्रो अवसर भएको कुरा राजावादीहरुले बुझे । यहि मौकामा उनीहरु सडकमा उत्रिने काम गरे । यो सत्तालाई घृणा गर्ने र आक्रोषित केहि मानिसहरु पनि यसमा मिसिए । तर ती सबै राजावादी होइनन् । यसको राम्रो समीक्षा गर्नु आवश्यक छ ।
हचुवा विश्लेषण नगरौं
नेपाली संचार माध्यम र सामाजीक संजालमा प्रायः ती सडकमा उत्रने सबैलाई “राजावादी” भन्ने गरेको पाइन्छ । तर, माथि उल्लेख गरि सकिएको छ कि सामान्य मानिसमा यो सरकार र यो व्यवस्था प्रति जुन असन्तुष्टि छ, त्यो आक्रोषमा परिणत भैसकेको छ । त्यो आक्रोषलाई व्यक्त गर्न त्यो असंगठित जमात पनि सडकमा उत्रिने गरेको छ । यसभन्दा अघि पनि ‘इनफ इज इनफ’ भन्नेहरुले आयोजना गरेको संघर्षमा धेरै युवाहरु सडकमा उत्रिएका थिए । उनीहरुको भनाईबाट अड्कल गर्न सकिन्थ्यो तिनीहरु मध्ये धेरैजसो गणतन्त्रवादी नै थिए । यसका आयोजकहरुले कुनै पार्टीको ब्यानर प्रयोग नगरेर ‘नागरिक समाज’को नाम झल्कने ब्यानरको प्रयोग गरेका छन् । यो कुरा चाहिँ सत्य हो कि आयोजकहरु चाहिँ राजावादी र गणतन्त्र विरोधी नै हुन् भन्ने देखिन्छ । तर, त्यसमा सहभागि हुने सबैलाई “राजावादी”को बिल्ला भिराइदिनु चाहिँ गलत कुरा हो । त्यसकारण, यो घटनाको हचुवा विश्लेषण नगरेर सटिक किसिमको विश्लेषण गर्नु आवश्यक छ ।
जन आक्रोषको मर्मलाई बुझौं
कोरोना महामारीको पनि परवाह नगरिकन मानिसहरु आक्रोष व्यक्त गर्न किन सडकमा उत्रि रहेका छन् । त्यसको मर्मलाई हामीले राम्रो सँग अध्ययन गर्नु जरुरी छ । उनीहरुको रुची राजतन्त्र फर्काउनेमा होइन, आफ्ना रोजी रोटीको समस्या समाधानमा छ भन्ने कुरा त्यहाँ सहभागी हुनेहरुले बताइरहेका छन् । कारण सहित पैदा भएका जन आक्रोषलाई ठिक दिशा दिने जिम्मेवारी क्रान्तिकारी शक्तिहरुको हो । अग्रगामी शक्तिहरुको हो । जनताको आक्रोष सडकमा पोखिने कुरा स्वभाविक हो । तर यसलाई पश्चगामीहरुले पनि प्रयोग गर्ने खतरा जहिले पनि रहन्छ । यतिखेर त्यहि हुने संभावना देखिँदैछ । त्यसकारण, यसलाई सहि दिशा तिर उन्मुख गराउनु र त्यसको नेतृत्व गर्नु क्रान्तिकारीहरुको जिम्मेवारी हो । यसलाई पुरा गर्न क्रान्तिकारी शक्तिहरुले छिटो भन्दा छिटो तयारीमा जुट्नु आवश्यक छ ।
२०७७ ।०८। २१






























