पृष्ठभूमि
नेपाली जनता लामो समय देखि देशी र विदेशी प्रतिक्रियावादद्धारा शोषित पीडित रहि आएका छन । यस उत्पीडनको सबैभन्दा ठुलो मारमा मजदुर वर्ग नै परेका छन । देश र जनतालाई यस प्रकारको उत्पीडन बाट मुक्त गर्नका लागि क्रान्तिको आवश्यकता पर्दछ । नेपाली जनताले दलाल तथा नोकरशाही पँजीपति एवं सामन्त वर्ग र साम्राज्यवाद विस्तारवादका विरुद्ध ठुलाठुला संघर्ष गर्दै आएका छन । यिनै संघर्षहरुको एउटा गुणात्मक कडी दशवर्षीय महान जनयुद्ध हो । यी सबै संघर्षहरुमा नेपाली मजदुर वर्गले विशेष भूमिका निर्वाह गर्दै आएको छ । परन्तु, आन्दोलनमा विद्यमान मुलतः दक्षिणपन्थी संशोधनवादी विचलनका कारण उत्पीडित जनता र मजदुर वर्गले ठुलो धोका र धक्का खाँदै आउनु परेको छ । वस्तुतः नेपाली जनता र मजदुर वर्ग यो बेला झनै शोषण, उत्पीडन र पीडामा छटपटाइ रहनु परेको छ । संसदीय लोकतान्त्रिक गणतन्त्र र नामधारी कम्युनिस्ट सरकार प्रतिक्रियावादी राज्यसत्ता कै रक्षा कवच बन्न गएका छन । यो बेला राष्टिय स्वाधिनताको रक्षा, जनताको जनतन्त्रको स्थापना जनजीविकाका समस्याहरुको समाधानका लागि क्रान्ति एक अनिवार्य आवश्यकता बन्न गएको छ । र यस क्रान्तिमा मजदुर वर्गले ऐतिहासिक भूमिका निर्वाह गर्न जरुरी भएको छ । यस निम्ति क्रान्तिकारी कम्युनिस्ट पार्टी र मजदुर वर्गका बिच घनिष्ट सम्बन्ध हुनु पर्दछ ।
आजका समस्या
आज सिगों देश र जनताका राष्टियता, जनतन्त्र र जनजीविकाका समस्या त छँदैछन त्यसमा थप मजदुर वर्गका समस्या निकै जटिल र गम्भिर प्रकारका रहेका छन । यी समस्या एकातिर देशभित्रका प्रतिक्रियावादी राज्यसत्ताको संरक्षक सरकार र अर्कोतिर नव उदारवादी भूमण्डलीकृत साम्राज्यवादका कारण निकै बल्झिदै र जटिल बन्दै गएका छन ।
झन्डै तीन दशक यता विश्व साम्राज्यवाद नवउदारवादी सिद्धान्त र संरचनागत समायोजन कार्यक्रम लिएर उपस्थित भएको छ । यसले निजीकरण, उदारीकरण र व्यापारीकरणका मान्यता, नारा, कार्यक्रम र नीति अगाडि सार्दै विश्वका जनता र मजदुर वर्गको भयानक ढंगको शोषण उत्पीडन गर्दै आएको छ । यस प्रकारका शोषण उत्पीडनजन्य समस्यालाई हामीले ठीकसित बुझनु पर्दछ । ती समस्याहरु मूलतः यी हुनः
पहिलो, देशीय प्रतिक्रियावादी सरकार साम्राज्यवादको मिलेमतोमा सार्वजनिक उद्योग व्यवसायलाई ध्वस्त बनाई निजीकरणलाई प्रोत्साहित गरिएको छ र देशलाई साम्राज्यवादी बहुराष्टिय कम्पनीहरुको क्रीडा स्थल बनाइएको छ । राष्टिय उद्योग व्यवसायलाई धराशायी बनाउदै लगिएको छ । मजदुरहरुलाई हक, अधिकार र सुविधाबाट बञ्चित गराइएको छ ।
दोस्रो, नेपाली जनविरोधी तथा दलाल सरकारले साम्राज्यवाद विस्तारवाद र बहुराष्टिय कम्पनीहरुलाई सजिलो हुने गरि श्रम ऐन सहित विभिन्न नियम कानुन बनाउन, बदल्न र मनोमानी गर्न निर्वाध छुट दिइरहेको छ । तदनुरुप अनौपचारिक श्रम ठेकेदारी तथा करार प्रथा, मजदुरहरुको तलब कटौती, मजदुर वर्गलाई पेशाबाट निष्काशन, मजदुरहरुलाई संगठित गतिविधीका लागी अवरोध लगायतका कामहरु वेरोकटोक हँदै आएका छन ।
तेस्रो, यस प्रकारको स्थितिमा देशमा बेरोजगारी तीव्र वेगमा बढदै गएको छ । नेपाली युवाहरु लाखौंको संख्यामा विदेश गइरहेका छन । मजदुरहरु विशाल संख्यामा विस्थापित हुन पुगेका छन । यसको परिणाम के भएको छ भने दलाल तथा विदेशी पँजीपतिहरुले मजदुरहरुलाई सस्तो ज्यालामा काम गराइ रहेका छन । अतिरिक्त मूल्य शोषणको यो अर्को तरिका हो । नेपाल र विश्वको श्रम बजारमा आज मजदुरहरुले यसै प्रकारको पीडादायी अवस्था भोग्न बाध्य हुनु परेको छ ।
चौथो, मजदुर आन्दोलन र टेड युनियनका नेताहरुलाई सुविधा दिने र उनीहरुलाई किन्ने प्रक्रिया तीव्र रुपमा बढदै गएको छ । फलतः मजदुर आन्दोलनमा अवरोध खडा गर्ने, सम्झौतामा जोड दिने र मजदुर आन्दोलनलाई तुहाउने लगायत अनेकौं कसरत भइरहेका छन । यी नेपाल र विश्व कै सन्दर्भमा कटु यर्थाथ हुन ।
नेपाली मजदुरहरु सामु उक्त समस्याहरु त लामो समय देखि रहि आएका छन नै । परन्तु, अहिले कोभिड १९ को महामारीको कारण स्थिति झनै जटिल बन्दै गएको छ । यो बेला मजदुरहरुलाई कामबाट निष्कासन गर्ने तलब सुविधा कटौती गर्ने, कम तलब दिने जस्ता काम तीव्र वेगमा भइरहेका छन । बेरोजगारीको समस्या अत्यन्तै विकारल बन्दै गएको छ । यस प्रकारको स्थिति प्रति आफूलाई कम्युनिस्ट बताउने सरकार रमिते बनेर बसिरहेको छ ।
समस्या समाधानका उपाय
मजदुरहरुका यी समस्या आर्थिक, राजनीतिक र सांस्कृतिक प्रकृतिका समस्या हुन र यिनको समाधानका उपायहरुको खोज पनि त्यसरी नै गरिनु पर्दछ । वस्तुतः यी समस्या मात्र मजदुर वर्गका समस्या होइनन, सिंगो देश र आम उत्पीडित जनसमुदायका समस्या पनि हुन । यी राष्टियता, जनतन्त्र र जनजीविकासित जोडिएका समस्या हुन ।
उक्त समस्याको समाधानका उपाय दुई प्रकारका छन, ती हुनः तात्कालिक र दीर्घकालिक । यी दुबै उपाय संघर्ष सित सम्बन्धित छन । तात्कालिक समाधानको उपाय भनेको मजदुर वर्गका जल्दाबल्दा र आधारभूत समस्याहरुलाई पनि सूत्रबद्ध गरि सर्वप्रथम आफ्नै संगठनको पहलमा संघर्षलाई अगाडि बढाउनु हो । यसका निम्ति विभिन्न पक्षसित साझा विषयमा संयुक्त संघर्ष पनि गर्नु पर्दछ । संघर्ष गर्दै जाँदा कतिपय तात्कालिक माग पुरा पनि हुन सक्छन, तर सबै र आधारभूत माग पुरा हुन सक्दैनन । यसका निम्ति दीर्घकालिन समाधानको उपाय अवलम्बन गर्नु पर्दछ । यो विषय अन्ततः र सारतः सत्ता प्राप्तिको प्रश्नसित जोडिएको छ । यस निम्ति सम्पूर्ण शोषित पीडित जनसमुदायसित एकताबद्ध भएर अगाडि बढ्नु पर्दछ । यो आमूल क्रान्तिको काम हो । यस निम्ति आम जन विद्रोहको तयारी गर्न जरुरी छ ।
संर्घष वा क्रान्तिका कामलाई व्यवस्थित ढंगले अगाडि बढाउनका लागि संगठन एक अनिवार्य तत्व हो । संगठन नभई संघर्ष हुन सक्दैन र संघर्षको अभावमा मजदुर वर्गका माग पनि पुरा हुन सक्दैनन । संगठन निर्माणको काम अप्ठेरो हुन्छ । असंगठित र अनौपचारिक क्षेत्रमा संगठन बनाउन त झनै गाह्रो हुन्छ । तर, जतिसुकै अप्ठेरो र गाह्रो भए पनि संगठन निर्माणको काम सम्पन्न गर्दै जानु पर्दछ । संगठनलाई बलियो र जुझारु बनाएर मात्रै संघर्ष सञ्चालन गर्न सकिन्छ ।
केही सैद्धान्तिक प्रश्न
यद्यपि प्रतिक्रियावादी वर्गले मजदुर वर्ग र श्रमिक वर्गलाई हेप्ने र श्रम कार्यलाई तुच्छ ठान्ने गर्दछन । परन्तु, कुरा त्यसो होइन, श्रमिक वर्गले आफू श्रमशक्तिको मालिक भएकोमा गौरव गर्नु पर्दछ । यसबारे निम्न विषयमा ध्यान दिन जरुरी छः
पहिलो, मानवीय सभ्यता, संस्कृति र इतिहासको निर्माण श्रम प्रक्रियाका बीच बाटै भएको हो र मानवीय इतिहासका निर्माता श्रमिक जनसमुदाय नै हुन । केही समय शोषित उत्पीडित हुन परे पनि अन्ततः श्रमिक वर्गले नै शोषण उत्पीडन विहीन नयाँ समाजको निर्माण गर्दछन ।
दोस्रो, विश्व र नेपालमा पनि शोषित पीडितहरुको संख्या विशाल छ । गरिब तथा मध्यम वर्गका किसान, भूमिहीन सुकुम्बासी, गरिबीको रेखामुनिका जनता, बेरोजगार र अर्धबेरोजगार अनि शोषित पीडित महिला, दलित, जनजाति, मुस्लिम सहित जनसमुदाय र मजदुर वर्ग समेत मिलाउँदा यो संख्या ९५ प्रतिशत भन्दा बढी हुन्छ । तसर्थ, हामी एक्लै छैनौं । सबै गोलबन्द भएर नै क्रान्ति सम्पन्न हुन्छ ।
तेस्रो, क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त अनिवार्य रुपमा आवश्यक हुन्छ । मजदुर वर्ग र उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्त माक्र्सवाद हो । आज त्यो माक्र्सवाद लेनिनवाद माओवादका रुपमा विकसित भएको छ । मजदुर वर्गले यस सिद्धान्तको मर्म बुझ्न जरुरी छ । माक्र्सवाद, मजदुर वर्ग र क्रान्तिकारी कम्युनिस्ट पार्टी अन्तर सम्बन्धित छन ।
चौथो, माक्र्सवादी मान्यता अनुसार अहिले सम्म संसारमा जे जति वर्ग छन तिनमा सबैभन्दा क्रान्तिकारी वर्ग सर्वहारा वर्ग हो । यस अर्थमा मजदुर वर्ग नै क्रान्तिको वास्तविक नेता हो । किनभने यस वर्गसित गुमाउनका लागि शोषण उत्पीडनका सांग्लो बाहेक अरु केही छैनन, अपितु प्राप्त गर्नका लागि सिंगो संसार नै छ ।
पाँचौं, देश र जनतालाई अर्ध सामन्ती अर्ध औपनिवेशिक तथा नव औपनिवेशिक अवस्थाबाट मुक्त गर्न र मजदुर वर्ग सहित सम्पूर्ण श्रमिक जनतालाई राज्यसत्ताको मालिक बनाउनका लागि सर्वप्रथम नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न र त्यस पश्चात वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जान आवश्यक छ । यही नै मजदुर वर्गको ऐतिहासिक मिसन हो । नेपाली क्रान्तिमा मजदुर वर्गले खेल्नु पर्ने भूमिका पनि यसै कार्यभार सित जोडिएको छ ।
उपसंहार
हामीले छोटकरीमा देशको अवस्था, मजदुर वर्गका समस्या तथा समाधानका उपाय र केही सैद्धान्तिक प्रश्नमा मोटामोटी रुपमा चर्चा गर्यौ । यी सबै कुरा नेपाली क्रान्तिमा मजदुर वर्गको भूमिका सित सम्बन्धित छन । नेपाली क्रान्तिमा आज शहर र मजदुर वर्गको भूमिका बढेर गएको छ । नेपाली क्रान्तिलाई अन्ततः जन विद्रोहको रुपमा सम्पन्न गर्नका लागि शहरिया मजदुर वर्गले एकातिर संगठन र संघर्षका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्दछ भने अर्कोतिर ग्रामीण भेगका किसान सहित सम्पूर्ण उत्पीडित जनसमुदाय सित एकताबद्ध भएर जान जरुरी छ ।
मजदुर वर्गले संघर्ष गर्दा तात्कालिक हकहित तथा सुधारका काममा पनि ध्यान दिनै पर्दछ । परन्तु, सुधारका खातिर दीर्घकालिन हित र उद्देश्यलाई बलि चढाउने सुधारवादका विरुद्ध संघर्ष गर्दै जानु पर्दछ । मजदुर वर्गले आफ्नो ऐतिहासिक मिसन पुरा गर्नका लागि दक्षिणपन्थी संशोधनवाद सित लडन र क्रान्तिकारी कम्युनिस्ट पार्टीसित एकताबद्ध हुन जरुरी छ ।
साभार मजदुर विद्रोह, वर्ष १, अंक १, कार्तिक २०७७

प्रतिक्रिया

सम्बन्धित खवर