नेकपा सरकारको बढ्दो भ्रष्टाचार र असन्तुष्टिलाई ‘क्यास’ गर्न खोज्दै छन् राजावादीहरु

नेकपा सरकारको बढ्दो भ्रष्टाचार र असन्तुष्टिलाई ‘क्यास’ गर्न खोज्दै छन् राजावादीहरु

१७ मंसीर काठमान्डौ । राजतन्त्रको अन्त्य भएपछि मुलुकमा तीनवटा राष्ट्रिय निर्वाचनहरु भए । तर, ती सबै निर्वाचनमा राजतन्त्रको वकालत गर्ने दलहरुले खासै मत पाएनन । नयाँ संविधान जारी भएपछि भएको संघीय संसदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्र्टीका नेता राजेन्द्र लिङदेन एकजनाले मात्र निर्वाचन जिते, त्यो पनि नेकपा कार्यकर्ताको भोटले । राजतन्त्रको माग गर्ने राप्रपाका ठूला नेताहरुले नै चुनाव जित्न सकेनन ।
त्यसैकारण संघ र प्रदेशमा मात्र होइन, स्थानीय सरकारमा पनि राजावादी दलहरुको प्रतिनिधित्व छैन । तर, जनताबाट त्यसरी कटिँदै जाँदा पनि अझैसम्म राजावादी दल र अन्य संस्थाहरुले राजतन्त्र पुनस्र्थापना हुने आशा मारिसकेका छैन । पछिल्लो समयमा नेकपा सरकारले गरेको भ्रष्टाचार, महंगी, कालोबजारी, दलाल र विचौलियाको हितमा गरेका हरेक निर्णयहरुबाट नेपाली जनतामा यो सरकारप्रति व्यापक असन्तुष्टि बढदै गएको कारण त्यो असन्तुष्टिलाई अहिले ‘क्यास’ गर्न खोज्दै छन् राजावादीहरु ।
राजावादीहरूको विरोध कार्यक्रममा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखि सर्वसाधारणसमेत सहभागी हुन थालेका छन् । देशका विभिन्न स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्र्टी, कांग्रेस र कतै कुनै राजनीतिक दलमा आबद्ध नभएका मानिसको समूहबाट प्रदर्शन हुँदै आएको छ । राजसंस्थाको पक्षमा निकालिएका प्रदर्शनमा हिन्दु धर्मसम्बन्धी संघसंस्था र कतै नामै नसुनिएका संगठनको ब्यानर देख्ने गरिएको छ । गएको कात्तिक १७ मा ‘वीर गोर्खाली अभियान’ को ब्यानरमा बुटवलमा प्रदर्शन भएको थियो । त्यसैगरी कात्तिक २५ मा ‘राष्ट्रवादी नागरिक समाज’ को ब्यानरमा काठमाडौंको जमलमा प्रदर्शन भयो । कात्तिक २७ मा नेपाल विद्वत परिषद्को ब्यानरमा विराटनगर, मंसिर ४ गते ‘स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम’ को ब्यानरमा धनगढी, मंसिर १० मा ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ को ब्यानरमा पोखरा र ‘नेपाल राष्ट्रवादी समूह’ को ब्यानरमा जनकपुरमा राजावादीले प्रदर्शन गरे ।
मंसिर १४ गते ‘२०४७ को संविधान पुनःस्थापना अभियान’ को ब्यानरमा हेटौंडा र मंसिर १५ मा ‘राष्ट्रिय शक्ति’ समूहको ब्यानरमा काठमाडौंमा प्रदर्शन गरिएको छ । काठमाडौंको प्रदर्शनमा पूर्वमन्त्री केशरबहादुर विष्टले नेतृत्व गरेका थिए । अधिकांश विरोध र प्रदर्शनमा सहभागीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्र खारेज गरी २०४७ को संविधान लागू गर्नुपर्ने माग अघि सारेका छन । राप्रपा मकवानपुरले १९ गते हेटौंडामा प्रदर्शनको तयारी गरेको छ भने २० गते काठमाडौंमा ‘नेपालका लागि नेपाली’ समूहको ब्यानरमा प्रदर्शन गर्न लागिएको छ । काठमाडौं र हेटौंडामा हुन लागेका प्रदर्शन रोक्न प्रशासनलाई गृहले निर्देशन दिइसकेको छ ।
राजतन्त्रको पक्षमा कसले गर्दैछ देशभर श्रृंखलाबद्ध प्रदर्शन ?
नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।
संविधान सभाको पहिलो बैठकले २०६४ मा राजतन्त्रको अन्त्यको घोषणा गर्दै विधिवतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको घोषणा गरेको थियो । त्यहीबेलादेखि असन्तुष्ट राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आइरहेका छन । अहिले १२ वर्ष बितिसक्दा पनि राजतन्त्र र हिन्दु राष्ट्रको माग राख्ने क्रम रोकिएको छैन । राजतन्त्रको पक्षमा रहेका समाजका विभिन्न व्यक्ति र विगतमा राजतन्त्रको कार्यकालमा विभिन्न पदमा रहेर काम गरेका व्यक्तिहरुको पहलमा यस्ता प्रदर्शनहरु हुने गरेका छन ।
केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन । नेपालमा पछिल्लो समयमा दुई छिमेकी मुलुक भारत र चीनबाट उच्च स्तरमा भएका निरन्तर भ्रमण, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दो द्वन्द्व र वर्तमान सरकारले सुशासन कायम राख्न नसकेको भनी तीव्र आलोचना भइरहेको सन्दर्भमा राजावादीहरुले प्रदर्शन अगाडि बढाएका छन ।
सोमबार राष्ट्रिय शक्ति नेपालको उपत्यका आन्दोलन परिचालन समितिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । सो पार्टीका अध्यक्ष केशरबहादुर विष्ट हुन । यस अगाडि विभिन्न संस्थाहरुले बुटवल, पोखरा, जनकपुर र नेपालगञ्चमा, धनगढी, विराटनगरमा प्रदर्शन गरेका छन ।
राजतन्त्रवादी साना दलहरु र हिन्दु राष्ट्र राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन । त्यसबाहेक प्रदर्शनकै लागि केही अस्थायी समूहहरु समेत गठन भएका छन । जस्तो– धनगढीमा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिममा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम गठन गरिएको थियो । त्यसैगरी, कात्तिक २५ गते काठमाडौंमा भएको प्रदर्शन राष्ट्रवादी नागरिक समाजको ब्यानरमा भएको थियो ।

अहिलेको प्रदर्शनमा फ्रन्ट लाइनमा रहेकाहरुमा विश्व हिन्दु महासंघ, केशर बहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिवोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रग्रेस (वीपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायतका छन । त्यसैगरी राजतन्त्रको पक्षमा रहेका समाजका विभिन्न व्यक्ति र विगतमा राजतन्त्रको कार्यकालमा विभिन्न पदमा रहेर काम गरेका व्यक्तिहरुको पहलमा यस्ता प्रदर्शनहरु हुने गरेका छन । आगामी २० गते र त्यसपछि पनि विभिन्न समूहले काठमाडौंमा थप प्रदर्शन गर्ने तयारी गरेका छन । २० गतेको प्रदर्शनको पहल बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी लगायतले गर्दैछन ।
अहिले भइरहेका प्रदर्शनमा युवाहरुमा सडकमा ल्याउने पहल भने वीर गोर्खाली नामक संस्थाले गरेको छ । सो संस्था राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना गर्न चाहने युवाहरुको संस्था हो । अहिले पछिल्लो समयमा देशका विभिन्न भागमा भइरहेका प्रदर्शनको अगुवाइ सो संस्थाले गरेको छ । आइतबार मकवानपुरमा भएको प्रदर्शनको नेतृत्व पनि यही वीर गोर्खालीले गरेको थियो ।
देशभर भएको प्रदर्शनमा सक्रिय सहभागिता जनाएको विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी पछिल्लो समयमा जनतामा व्यापक निराशा छाएको र दलहरुले शासन सञ्चालन गर्न नसकेका कारण राजतन्त्रको माग बढ्दै गएको बताउँछिन । उनी भन्छिन, ‘अब हामी मोर्चावन्दीको तयारीमा छौं, अब सबै संस्थाले संयुक्त रुपमा आन्दोलन गर्नेछन ।’
राजावादीहरुले प्रदर्शन गरिरहँदा राजा ज्ञानेन्द्र भने मौन छन । तर अघिल्लो वर्ष भने उनले देशका विभिन्न भागको भ्रमण गरेका थिए ।
अब हामी पनि प्रदर्शनमा उत्रन्छौँ, राप्रपा
राजतन्त्रको पुर्नस्थापना र हिन्दु राष्ट्रको माग गरिरहेको सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी भने सो आन्दोलनमा अहिलेसम्म प्रत्यक्षरुपमा संलग्न छैन । यद्यपि आफ्ना कार्यकर्ताहरु यी प्रदर्शनहरुमा सहभागी भइरहेको सो पार्र्टीले बताएको छ ।
विभिन्न संघ संस्थाहरुको ब्यानरमा भएको प्रदर्शनमा जनताको सहभागिता बढ्दै गएपछि राप्रपाले पनि सडकमा आउने तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङदेनले अब देशव्यापी रुपमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा आउन लागेको जानकारी दिए ।

नेकपाको भोटबाट संसदमा पुगेका लिङदेनले भने, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता जनाउन आगामी २० गते झापामा वृहत प्रदर्शन गर्दैछांै । त्यसपछि पार्र्टी आधिकारिक निर्णय गरेर अन्य स्थानमा पनि प्रदर्शन गर्छ ।’ लिङदेनले लामो समयदेखि राजतन्त्र र हिन्दु राज्यको माग उठाउने एकमात्र पार्टी हुनुको नाताले अहिले देशभर भएको प्रदर्शन आफ्नो लागि खुसीको विषय भएको बताए ।
‘राजावादी’ को प्रदर्शन रोक्न गृहको निर्देशन
राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरूमा हुन थालेपछि गृह मन्त्रालयले विरोर्ध याली, सभा, जुलुसलगायतका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्देशन अटेर गरिए बल प्रयोग हुने गृह मन्त्रालयले चेतावनी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले राजनीतिक आन्दोलन र विरोध प्रदर्शनका नाममा महामारीलाई प्रश्रय दिने गरी कुनै गतिविधि नगर्न र प्रशासनको अनुमतिबेगर भएका गतिविधि नियन्त्रणमा लिन निर्देशन दिइएको बताए । ‘कोरोना महामारीका बेला जोखिम न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने सबैको दायित्व रहेकाले राजनीतिक माग, विरोध, प्रदर्शन, र्रयालीलगायतका गतिविधि हुन थालेकाले यस्तो निर्देशन दिनुपरेको हो,’ उनले भने । सरकारका आदेश र निर्देशन उल्लंघन गर्दै परिस्थितिलाई थप प्रतिकूल बनाउने, अस्थिरता फैलाउने, सर्वसाधारणलाई भड्काउने गरी गतिविधि गर्न नदिन प्रशासनमा परिपत्र भइसकेको पनि उनले जानकारी दिए ।
उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै मन्त्रिपरिषद्ले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ मा उल्लेखित जनस्वास्थ्यमा प्रतिकूल हुने गतिविधि नियन्त्रणका लागि निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको र उनीहरूका आदेश र निर्देशन पालना गर्ने दायित्व सबैको भएको बताए ।
केही साताअघि गृहमन्त्री रामबहादुर थापासहितको सुरक्षा बैठकले नै राजावादीका गतिविधि बढ्दै गएको र यसबाट अस्थिरता फैलाउन बल पुग्ने निष्कर्ष निकालेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले महामारीका बेला राजनीतिक गतिविधि वा भेलारजुलुस आयोजना गर्दा महामारीलाई प्रश्रय दिने भन्दै त्यस्ता गतिविधि नियन्त्रणमा लिइने बताए । ‘पछिल्लो समय सडकमा राजनीतिक गतिविधि बढेको र यसले संक्रमणको अवस्थालाई भयावह तुल्याउने देखेरै यस्ता गतिविधि नगर्न भनेका छौं,’ उनले कान्तिपुरसँग भने । उनले सडकमा प्रदर्शन नगर्न राजनीतिक दल र अभियानकर्ताहरूलाई पनि आग्रह गरे ।
त्यसैगरी नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले पछिल्लो समय सडकमा देखिएका राजनीतिक विरोधरप्रदर्शन र रयालीलाई ‘सूक्ष्म निगरानी’ मा राखिएको बताए । ‘कसको नेतृत्वमा कुन कुन संगठन विरोध जुलुसमा सहभागी छन भन्ने विषयलाई हामीले सूक्ष्म रूपमा नियालिरहेका छौं,’ उनले भने, ‘प्रशासनले निषेध गरेका गतिविधि सञ्चालन गर्न दिँदैनौं, अटेर गरिए कानुनअनुसार अघि बढ्छौं ।’
राप्रपाका युवा नेता राजाराम बर्तौलाले पूर्वनिर्धारित कार्यक्रम नरोकिने र जबर्जस्ती प्रशासनले रोक्न खोजे प्रतिवाद गर्ने बताए । ‘शान्तिपूर्ण प्रदर्शन जसरी पनि गर्छौं,’ उनले भने, ‘कार्यक्रममा प्रशासनको अवरोध भए प्रतिवाद हुन्छ, त्यसको जिम्मा सरकार स्वयंले लिनुपर्छ ।’ राप्रपाले काठमाडौं र झापालगायतका केही सहरमा राजसंस्था र हिन्दु धर्मको पक्षमा प्रदर्शनको तयारी गरेको छ । तर गृह मन्त्रालयले अब हुने विरोध प्रदर्शन र भीडभाड गर्न नदिन देशभरका प्रशासनलाई निर्देशन दिइसकिएको स्पष्ट पारेको छ ।
यसको जिम्मेवार को त ?
राजावादीहरुले अहिले सत्तारुढ दल नेकपाभित्र रहेको द्वन्द्व र विपक्षी नेपाली काँङ्ग्रेसको अर्कमण्र्यताको फाइदा उठाउन खोजेका छन । सरकार र प्रतिपक्षका कारण देशको गणतन्त्र अहिले एउटा लुटतन्त्रमा बदलिएको छ । सरकारले राम्रोसँग जनतालाई फाइदापुग्ने हिसावले डेलिभरी नै गर्न सकेको छैन । देशमा अहिले न राष्ट्रियता बलियो बन्दै छ, न लोकतन्त्रको सही उपयोग त न सरकारले जनताका दैनिक जीवनसँग सम्वन्धीत समस्याको हल । नेपाली जनताका लागि सरकार छ र ? को अवस्था बनेको छ । न सरकार त न विपक्षीले राम्रोसँग काम गर्न सकेका छन् । यस्तो अवस्थामा कुनै पनि नाममा प्रतिगामी शक्तिहरुले धमिलोमा माछा मार्न ढडीया थापेका छन् र नेपालका वेरोजगार युवाहरु, जो संग हिंज निरङकुश राजतन्त्रको कालो रात र दिनको प्रत्यक्ष अनुभव छैन ।
२०६२–०६३मा १२–१५वर्ष पुगेकाहरु अहिले २२–२५वर्षका भएका छन् । उनीहरुले विगतको राजतन्त्र र निरङकुश पञ्चायती व्यवस्थाको कालरात्री देखेनन, देखेत अहिलेको गणतन्त्रमा गरिएको लुटतन्त्र । फेरी विगतमा लामो समय राजतन्त्रको छाहारीमा बसेर लुटेकाहरुले उनीहरुले गुमाएको स्वर्ग यिनै वेरोजगार २२–२५वर्षका युवाहरुको काँध चढेर आफ्नो गुमेको स्वर्ग फीर्ताको सपना देख्दैछन् ।
ओली सरकारका निर्णयहरु र कार्यशैलीहरुले त्यसमा घिउँ थप्ने काम गरिरहेको छ ।
उल्लेखित युवाहरु आन्दोलनमा हावी हुने र मानिसहरुले भावनामा बगेर उनीहरुलाई समर्थन गर्ने हुन सक्छ । सरकार गलतन निर्णयहरु र विपक्षीका अर्कमण्र्यताका कारण राजतन्त्रवादीहरु उत्साहित भएको देखिन्छ ।