
काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष पवनमान श्रेष्ठले वर्तमान ओली सरकारले नेपाल सम्बत्लाई घोर अपमान गरेको आरोप लगाउनु भएको छ । नेपालको राष्ट्रिय सम्बत् ११४१ नयाँ बर्षको उपलक्ष्यमा एक शुभकामना सन्देशका लागि जारी गरिएको वक्तव्यमा यस्तो आरोप लगाउनु भएको हो । अध्यक्ष श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ, “१२ वर्ष अगाडि नेपालमा गणतन्त्र स्थापना भइसकेपछि गणतन्त्रिक नेपालको पहिलो सरकारले नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत् घोषणा गरिए तापनि यसलाई नेपाल सरकारले राष्ट्रिय सम्बत्को रुपमा प्रयोग गरिएको छैन । राष्ट्रिय सम्बत्को एउटा क्यालेण्डरसम्म प्रकाशन नगरी सरकारी घोषणा अघोषित रुपमा रद्दिया टोकरी फाल्ने काम भएको छ । विश्वमा उत्कृष्ट उदाहरणको रुपमा रहेको एक जना सर्वसाधारणा नागरिक शंखधर साख्वाःले जनताको ऋण मोचन गरी देशको नाममा स्थापित भएको नेपाल सम्बत्, राष्ट्रिय सम्बत्लाई घोर अपमान गर्ने काम सरकारले गरिरहेकोछ ।”
नेपाल सम्बत्११४१ नयाँ वर्षको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तर्फबाट देश र जनताको प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गरिएको वक्तव्यमा अगाडि भनिएको छ, “यो ब्रम्हाणवादको एउटा निकृष्ट नमूना हो । जनयुद्ध र जनआन्दोलनको भावना विपरीत नेपालको पहिचानसहितको संघीयतामा लगी राज्य पुर्नसंरचना नगरी भौगोलिक रुपमा मात्र नाम मात्रको संघीयताको प्रतिगामी संविधान बनाएर जनताका अधिकारलाई अपहरण गर्ने काम संसदीय पार्टीहरु र नेताहरुले गरेका छन् ।”

आज नेपालको विकसित आदिवासी नेवाः जातिको पहिचान सबैभन्दा बढि संकटमा परिरहेको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “आज कोरोनाका कारणले जनताहरु पीडित भइरहेका छन् । सरकार जनताको स्वास्थ्य प्रतिको जवाफदेहीताबाट पन्छेको छ । जनता गंभीर आर्थिक संकट र उपचार नपाई मरिरहेका छन् । सरकारको नालायकिपनका कारणले काठमाडौं उपत्यका कोरोना महामारीकोहटस्पट बनेकोछ । यसले नेवाः जातिलाई गंभीर रुपमा असर परिरहेकोछ ।”
राष्ट्रिय स्वाधीनताको विषय उठान गर्दै वक्तव्यमा भनिएको छ, “एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, भारतीय विस्तारवादले नेपालको भूमि कालापनी–लिपुलेक–लिम्पियाधुरा कब्जामा राखेको र झण्डै ७१ ठाउँमा सीमा अतिक्रमण गरे तापनि सरकारले कुनै चासो देखाएको छैन । आज ब्रम्हाणवादी दलाल र आत्मसमर्पणवादी सरकारका कारणले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका गंभीर संकटमा परेकोछ । नेवाः जाति र सम्पूर्ण नेपाली जनताका समस्यासहित देशको समस्या हल गर्न संघर्ष बाहेक अर्को विकल्प छैन ।
वक्तव्यमा राष्ट्रियता, नेवाः जातिको मुक्ति र जनजीविकाका समस्याहरुको समाधानका निम्ति वर्तमान दलाल राज्यव्यवस्थाका विरुद्ध संघर्षमा उत्रनुको विकल्प नरहेको भन्दै आम जनतामा संघर्षका निम्ति अपिल गरिएको छ । वक्तव्यमा भनिएको छ, “त्यसैले नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः यस ब्रम्हाणवादी दलाल सरकार र व्यवस्थाका विरुद्ध संघर्ष गर्न नेवाः र नेपाली जनतामा हार्दिक अपील गर्दै पुनः नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछ ।”





























