सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा राष्ट्रपति भण्डारीको सक्रियता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा राष्ट्रपति भण्डारीको सक्रियता

२० कात्तिक काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारीको बोलावटमा मंगलबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम शीतलनिवास पुगे । भोलिपल्ट, बुधबार गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादललाई पनि शीतलनिवास बोलाइयो । बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग छुट्टै भेटवार्ता गरे ।
प्रधानमन्त्री ओलीको खेमालाई पार्र्टीभित्र अप्ठ्यारो पर्दा साथ दिँदै आएकी राष्ट्रपति भण्डारीले विगतमा पनि नेकपाका शीर्षनेताहरुलाई कहिले बेग्लाबेग्लै त कहिले सामुहिकरुपमा बोलाएर सम्झाउने गरेकी थिइन । यसपटक पनि उनले दुईजना सचिवालय सदस्यहरुलाई एक्लाएक्लै बोलाएर ओलीको पक्षमा बहुमत जुटाउने लबिङ गरिन । तर, यसपटक ‘शीतलनिवास कार्ड’ त्यति प्रभावकारी देखिएको छैन ।
वामदेवको कडा प्रस्तुती
नेकपाभित्रको शक्तिसंघर्षमा ओलीको गुटलाई खुलेरै साथ दिँदै आएकी राष्ट्रपति भण्डारीले मंगलबारको भेटमा पनि उपाध्यक्ष गौतमलाई ‘पार्र्टी एकता बचाउन’ भूमिका खेलिदिन आग्रह गरेकी थिइन ।
राष्ट्रपतिको आशय पूर्वएमाले र जबज पक्षधर भएका कारण वामदेवले ओलीलाई नै साथ दिनुपर्छ र सरकार टिकाउनुपर्छ भन्ने थियो । तर, उपाध्यक्ष गौतमले चाहिँ ओलीले पार्र्टीको बैठक बोलाएर त्यहाँ माफी नमागेसम्म समस्या समाधान नहुने जवाफ दिए । एकता बचाउने वा टुटाउने भूमिका पनि प्रधानमन्त्री ओलीमै निहीत रहेको जवाफ गौतमले राष्ट्रपतिलाई दिएका थिए ।
उच्च स्रोतले दिएको जानकारीअनुसार नेता गौतमले राष्ट्रपतिलाई भने, ‘तपाईले केपी ओलीलाई पनि यसैगरी सम्झाउनोस न, आफ्नो नजिकको मान्छेले गल्ती गर्याे भने आलोचना गर्न सक्नुपर्याे नि । समस्या ओलीमै छ ।’
गौतम कडारुपमा प्रस्तुत भएपछि राष्ट्रपति भण्डारीले नरम स्वरमा ‘सम्झाइरहेकै त छु नि’ भनेकी थिइन ।
आफूले ओलीलाई २० पटकजति गुन लगाएको तर, ओलीले बीसैंपटक धोका दिएको नेता गौतमले राष्ट्रपतिसमक्ष गुनासो पोखेका थिए । आफूविरुद्ध पार्र्टीभित्र सधैं ओलीले ‘ब्याक बाइटिङ’ गर्ने गरेको गौतमले बताएका थिए । आफू पार्र्टी एकताकै पक्षमा रहेको तर ओलीका गलत हर्कतको समर्थन गर्न नसक्ने अनि गुटबन्दीलाई साथ नदिने भन्दै गौतमले शीतलनिवासलाई खरो जवाफ दिएको स्रोतले बतायो ।
यसअघि विभिन्न आश्वासन दिएर गौतमलाई आफ्नो पक्षमा समेट्दै आएका ओली अहिले उनीसँग छलफलै गर्न नसक्ने अवस्थामा पुगेका छन । प्रधानमन्त्रीले आफूलाई अपमानित हुने गरी ‘ब्याक बाइटिङ’ गरेको भन्दै गौतम ओलीसँग आक्रोशित भएका हुन । प्रधानमन्त्री ओलीले नसक्ने भएपछि गौतमलाई फकाएर केपी ओलीसँग नजिक ल्याउने राष्ट्रपति भण्डारीको प्रयास मंगलबार असफल बन्यो ।
‘पार्र्टी एकता बचाउनुपर्यो भन्ने राष्ट्रपतिको आग्रहमा नेता गौतमले एकता भाँड्ने र पार्र्टी फुटाउने षड्यन्त्र ओलीबाटै भइरहेको बताएका थिए । अरु नेतालाई पेल्ने र दूरी बढाउने काम केपी ओलीले नै गरिरहेको भन्दै नेता गौतम अब प्रचण्ड लगायतका सबै नेताहरुलाई विश्वासमा लिने दायित्व पनि ओलीकै भएको बताएर शीतलनिवासबाट फिर्ता भएका थिए ।
वामदेवपछि बादललाई सेकताप
पार्र्टीभित्रको अन्तरसंघर्षमा वामदेव गौतमलाई सम्झाउन नसकिए पनि सचिवालय सदस्य बादलले चाहिँ आफूलाई साथ दिने प्रधानमन्त्री ओलीको विश्वास छ । तर, गतसाता खुमलटारमा ६ नेताहरुको जमघटमा बादलसमेत सहभागी बनेपछि प्रधानमन्त्री अलि बढी झस्किएका छन । यहीबेला, राष्ट्रपति भण्डारीले बुधबार बादललाई पनि शीतलनिवासमा बोलाएर वामदेवलाईजस्तै सम्झाइन ।
राष्ट्रपति भण्डारीले पार्र्टी एकता बचाउन र सरकारमा प्रधानमन्त्रीलाई साथ दिन बादललाई पनि आग्रह गरिन । अहिलेसम्म तपाईले प्रधानमन्त्रीलाई साथ दिएर राम्रो भूमिका खेलिरहनुभएको छ र अब पनि त्यस्तै भूमिका खेलिदिनुपर्याे भन्दै राष्ट्रपति भण्डारीले बादललाई सम्झाएकी थिइन ।

तर, गृहमन्त्री थापाले यसपटक राष्ट्रपतिसमक्ष केही असहमति राखेको स्रोतले बतायो । पार्र्टी नफुटोस र गत स्थायी कमिटीको बैठकको स्पिरिटअनुसार अगाडि बढोस भन्ने पक्षमा आफू रहेको बादलले राष्ट्रपतिलाई जवाफ दिएका थिए ।
त्यसपछि प्रधानमन्त्री शीतलनिवास पुगे
राष्ट्रपतिले वामदेव र बादललाई सम्झाउने प्रयास गरेपछि प्रधानमन्त्री ओली बुधबार शीतलनिवास पुगेका थिए । शीतलनिवास जानुपूर्व शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू ‘शीतलनिवास जान लागेको तर राजीनामा दिनका लागि हैन’ भनेका थिए । शीतलनिवास स्रोतले चाहिँ प्रधानमन्त्री ओली पार्र्टीको कुरा लिएर नभई सरकारको नियमित कार्यसूची अन्तरगत बुधबार शीतलनिवास आएको दाबी गरेको छ ।
आफू मंगलबार शीतलनिवास गएको वामदेव गौतम आफैंले मिडियामा स्वीकार गरे पनि बादलसँगको भेटलाई शीतलनिवास स्रोतले गुपचुप राख्न खोजेको छ । तर, बादलले आफूलाई शीतलनिवासले बोलाएको र राष्ट्रपतिलाई भेटेर फर्केर निकटस्थ नेताहरुलाई सूचना दिइसकेका छन ।
शीतलनिवास कार्ड
पार्र्टीभित्रको शक्तिसंघर्षमा ‘शीतलनिवास कार्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको बलियो स्रोत हो । सचिवालय, स्थायी कमिटी र संसदीय दलभित्र अल्पमतमा पर्न लाग्दा प्रधानमन्त्री ओलीले पार्र्टीमा यो कार्ड खेल्ने गरेका छन ।
अहिले नेताहरुलाई फकाउनका लागि मात्र होइन, धम्काउनका लागि पनि प्रधानमन्त्रीले शीतलनिवासको कार्ड प्रयोग गरिरहेको नेकपा नेताहरु बताउँछन । पार्र्टीको बहुमतले प्रधानमन्त्रीबाट हटाउन खोज्यो भने ‘झन ठूलो स्टेप चाल्छु’ र ‘कोटेश्वरको तानाबाना निस्तेज पार्छु’ भन्दै प्रधानमन्त्रीले थर्काउने शक्तिको स्रोत पनि शीतलनिवास नै भएको अर्र्को पक्षका नेताहरुको तर्क छ ।
तर, पार्र्टीभित्रको गुटबन्दीमा खुल्लारुपमा लविङ गर्न थालेपछि राष्ट्रपतिको भूमिकालाई लिएर संस्थामाथि नै आलोचना हुने क्रमसमेत बढेको छ । राष्ट्रपतिले राजनीतिक चलखेलमा नलागी राष्ट्रप्रमुखको संस्थागत मर्यादा बचाउनुपर्ने सार्वजनिक टिप्पणीहरु हुन थालेका छन ।

नेकपाको ९ सदस्यीय सचिवालय कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा छन । उनका साथमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्र छन । तर, पार्र्टी फुटाउने स्थिति आएमा विष्णु पौडेलले पनि साथ दिने सम्भावना कम छ ।
विगतमा यसरी अल्पमतमा पर्दा प्रधानमन्त्री ओलीले वामदेव गौतम र बादललाई फकाएर बहुमत जुटाएका थिए । तर, यसपालि त्यो स्थिति नभएपछि ‘शीतलनिवास कार्ड’ प्रयोग गरेर सचिवालयमा शक्ति आर्जन गर्ने प्रयास गरिएको हो ।
कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक राख्न ओलीसँग आग्रह गरे पनि ओलीले बैठक पनि बोलाउँदिनँ र बहुमतको निर्णय पनि मान्दिनँ भनेर पार्र्टीलाई ठाडो चुनौती दिइसकेका छन ।
पार्र्टी एकताका बाँकी कामहरु टुंग्याउन, महाधिवेशनको कार्यसूची बनाउन र आगामी मंसिरमा हुने केन्द्रीय कमिटीको बैठकका एजेण्डाहरु तय गर्नका लागि त्यसअघि सचिवालय बैठक बस्नपर्ने आवश्यक रहेको एक सचिवालय सदस्यले बताए । तर, प्रधानमन्त्रीले नमानेकै कारण बैठक हुन नसकेको ती नेताले अनलाइखबरलाई बताए ।