पन्ध्र बर्षपछि बन्दीपुरमा उभिँदा

प्रकाशित मिति : २०७७ कार्तिक २२

- सुजन

बैशाख महिनाको उखरमाउलो गर्मि, पश्चिममा डुब्न लागेको सूर्य रातो भईसकेको छ । सधैँ झैँ यो अग्लो सेन्ट्री पोष्टमा चल्ने सिर सिर हावाले पनि आज शितलता दिन सकेको छैन । एउटा अत्यासलाग्दो बिगत आज फेरि मलाई झक्झक्याउन आईपुगेको छ । टाढा टाढा सम्म नजर डुलाउँदै म पन्ध्र बर्ष अघिको त्यो भयानक दृष्य भिजुअलाईज गरिरहेछु ।

बैशाख २६ गते ठिक पन्ध्र बर्ष भएछ । सिरहाको बन्दिपुर स्थित तत्कालिन शाही नेपाली सेनाको सुरक्षा पोष्ट माथीको आक्रमण । हो, अहिले म यहिँ उभिएको छु । उभिन त म त्यस दिन पनि यसै स्थानमा उभिएको थिएँ । तर यतिका बर्ष पछिका उभ्याईहरुमा धेरै परिवर्तन आईसकेको छ । बन्दिपुरलाई सिञ्चित गर्दै बहने कमला नदिमा धेरै पानी बगिसकेको छ ।

त्यस बेला यो पोष्ट आक्रमण गर्न आउने म एउटा लडाकु आज यो सुरक्षा पोष्टको कमाण्डर हुँ । भाग्यले त्यस दिन बाँचे । बाँच्नु नै ठूलो कुरा रहेछ । कठै ति दिनमा बाँच्न भन्दा मर्न सुर्याउनेहरुले आज बन्दिपुरलाई शायद बिर्सिए । मलाई भने चाहेर पनि बिर्सिने छुट छैन आज । त्यो दिनलाई सम्झेर मन त्यसै कुँडिएको छ ।

दक्षिण तर्फ हेर्छु लमतन्न सुतेको नहर आज पनि त्यस्तै छ, जस्तो त्यस दिन सुख्खा थियो । उत्तरतर्फ पूर्व पश्चिम राजमार्ग उस्तै छ । टाढा टाढा उत्तरमा देखिने चुरे पहाड आज पनि दर्शक झैँ लाग्छ । त्यस दिन यतिबेला त्यहि चुरेको फेदि बाट कमला नदि तर्दै गर्दा दर्शक थियो त्यो पहाड । त्यहि पहाडको साँघुरो फेदि बाट बहने कमला नदि जव बन्दिपुर निस्कन्छ तव तराईको बिशाल फाँट हेरेर उत्साहित हुँदै समुन्द्र भेट्न दौडन्छ ।

त्यस नदिको बगरमा हजारौ संख्यामा पंक्तिबद्ध भएका युवा युवतीहरु साँझ पर्न लाग्दा नदि पार गर्दै गरेको दृष्य अहिले पनि स्मृतिका पानाबाट मेटिन सकेको छैन । अघि अघि लडाकु एसल्टहरु प्रसन्न मुद्रामा पंक्तिबद्ध भएका, पछि पछि एसल्ट टिममा पर्न नसकेकाहरु मन दुखाउँदै स्टेचर र बन्दोबस्ती सामानहरु बोकेर अघि बढिरहेको दृष्य अझै पनि मानसपटलमा झल्झली आईरहन्छ ।

थाहा थिएन त्यसबेला कसैलाई । भोली त्यो बाटो कति जना फर्कने छैनौँ । मृत्यु सँग कुनै डर थिएन । कति ठूल्ठूला सपनाहरुसँग जीवनलाई साटिसकेका थियौँ । कमाण्डरको एक बचनमा हाम फाल्न तयार थियौँ । त्यो अदभूत शाहस सम्झेर फेरि एकपटक मन कुँडियो ।

घाम डुबिसकेको थियोे । मन शान्त हुनै सकेन । साँझ परेपछि ब्यारेकको पेरिमिटर घुम्न निस्किएँ । नहर छेउमा पुगेपछि मन कुँडिएर आयो । जहाँ बटालियन सहायक कमाण्डर कमरेड फ्यूजन फाएरिङ्ग शुरु भएको केहि छिनमै मेरै सामु ढल्नु भएको थियो । टाउकोमा गोली लागेको थियो उहाँलाई । एसल्टको कमाण्डर नै शुरुमै गुमाएका थियौँ हामीले ।

सुख्खा नहर त्यस रात कैयौँ पटक ओहोर दोहोर गर्दाको याद उत्तिकै ताजै थियो । एकपटक नहरको बालुवामा हिँड्ने प्रयास गरेँ । त्यस नहरबाट घाईतेहरु पछाडी हटाउँदाको यादले फेरि चिमोट्यो । कति घाईतेले त्यहि नहरमा शहादत प्राप्त गरेका थिए । बन्दिपुरको यो सुख्खा नहर त्यस रात वीरहरुको रगतले लछप्पै भिजेको थियो ।

नहरबाट निस्किएर वायर अब्स्ट्याकल नजिकै पुगेँ । जहाँ बटालियन सह कमाण्डर कमरेड रक्तिम ढल्नुभएको थियो । नजिकै थियो सेन्ट्री पोष्ट बाट यो स्थान । सेन्ट्रीले मलाई देखेर सलाम गर्यो । शायद आफ्नो जिम्मेवारी क्षेत्रमा केहि कमजोरी भयो की भनेर त्रसित थियो उ । केहि भन्नै सकिँन मैले । गाह्रो थियो उसलाई बुझाउन । शायद पन्ध्र बर्ष अघि त्यो लडाँइको बेला उ भर्खर स्कुल जान थालेको हुँदो हो । बिचरा उसले कसरी बुझोस कमरेड रक्तिमहरुको रक्तिम इतिहाँस ।

पश्चिम तर्फ ढलेका कमरेड दिनेश, राम्जी सम्झेर मन उस्तै अमिलो भयो । दर्जनौ लडाँइमा वीरता प्रदर्शन गरेका ति अनुभवी कमाण्डर र दर्जनौ सहयोद्धाका सम्झनाले मन थामिएन ।

साँझ पर्नु अघि शहीदका सामूहिक चिहान तर्फ नजर लगाएँ । जहाँ लडाँई पछि यत्र तत्र छरिएका झण्डै तिन दर्जन बढी बहादुर योद्धाहरुका शबहरु एकै ठाँउमा पुरिएका थिए ।

अब त चिहान माथि खयरका बिरुवाहरु पनि ठूलै भईसकेछन । यस्तो लाग्थ्यो ति सबै शहीदहरु एक एक बिरुवा भएर उम्रिरहेका छन । अनि मलाई सामुन्नेमा देखेर प्रश्न गरिरहेछन ।

‘के हाम्रा सपनाहरु पूरा भए त ?’

ब्यारेक फर्कदै गर्दा उत्तर तर्फ अबस्थित पूर्व पश्चिम राजमार्ग बाट एक नजर आफ्नै पोष्ट तर्फ हेरेँ । उहि पुरानो तस्विर सँग तात्विक भिन्नता थिएन । एक पटक झस्किएँ पनि । उति बेला कैयौँ पटक रात र दिनमा रेक्कि गरेर नक्शा तयार गर्दा , अनि जस्ताको तस्तै हु बहु बन्दिपुर पोष्टको आकृति सिन्धुलीको दमारमा उतार्नु अघि योे पोष्टलाई हेर्न कति क्यामोफ्लाइज र कन्सिलमेन्ट अपनाउनु पर्दथ्यो । त्यहि झझल्कोले एकपटक धड्कन बढ्यो । ब्यारेक भित्र नछिरुन्जेल लागिरहन्छ म रेक्कि नै गरिरहेको छु । आफैँलाई विश्वास लाग्दैन म नै त्यहाँको कमाण्डर हुँ ।

गेट नजिकैको त्यो पक्कि घर झण्डै आधा भत्किएको त्यस रात, त्यसको सानो छत बाट देखिने बिशाल तराईको फाँट र उत्तर तर्फका चुरे पहाड अनि त्यो पहाडबाट निस्कने कमला नदि हेर्दा लाग्छ अझै त्यहाँ वीरहरुका पाईलाहरु मेटिएको छैन । नमेटिने पाईलाहरु हुन ती । न पहिरोले मेट्न सक्ला, न त बर्षेनी कमलामा आउने बाढीले मेट्न सक्ला । ति वीरका पदचिन्हहरु इतिहासबाट हराउनै सक्दैनन ।

रात छिप्पिन लाग्दा सम्म मनमा कुरा बेस्सरी खेलिरहन्छन । समय परिबर्तनशील छ । ठिक पन्ध्र बर्ष अघि म यतिबेला कैयौ साथीहरु गुमाउँदै बत्तिमा पुतली हाम फाले झैं हाम फालिरहेको थिएँ । अहिले परिस्थिति ठ्याक्कै उल्टो छ । म यहाँको सुरक्षा कमान्डर हुँ । फर्केर ति दिनहरुलाई हेर्दा एउटा प्रश्नले सँधै घच्घच्याईरहन्छ ।

‘के पूरा भए त शहीदका सपनाहरु ? अनि तिनका आत्माले शान्ति पाए होलान ? यत्तिका लागि थियो यति ठूलो बलिदान ? ’ अनुत्तरित छन प्रश्नहरु ।


भाग्यले बाँचेकाहरु आज गुमनाम छन । पेट पाल्नकै लागि सडकपेटी देखि अरबका मरुभूमिमा बसेर धिक्कारीरहेका छन । पटक्कै मनमा संतोष मिल्दैन । नेता र कार्यकर्ताले देख्ने सपना नि फरक फरक हुँदारहेछन । यहाँ आफ्ना सपनाहरु पूरा गर्न अरुको सपनाको बलि चढाइँदोरहेछ । आफू बाँच्नलाई अरुलाई कभर बनाइँदो रहेछ ।

थाहा छैन फेरि अर्को पुस्ताका युवाहरुलाई यिनै सपनाहरुको ब्यापार गरेर कतिले नाफा कमाउने हुन कुन्नी । कति निर्दोष युवाहरुलाई यसरी नै प्रयोग गरिरहनेछन । सम्झेर निकै भावुक बन्छु म ।

सेन्ट्रीले बाह्र बजेको घण्टी हान्छ । म जबर्जस्ती निदाउने कोशिस गर्छु । तर अहँ निन्द्रालाई धकेल्दै यादहरु उसैगरि तँछाड र मछाड गरि आईरहेकाछन । त्यत्तिका साथीहरु गुमाएर सैयौं घाईतेहरु बोकेर उज्यालो हुँदा एम आइ सत्र हेलिकप्टर सँग लुकिछिपी गर्दै चुरेको जंगल छिरेको भर्खर जस्तो लाग्छ । रातभरको लँडाई, थुप्रै सहयोद्धा गुमाउँदाको वियोग, थकित शरिर, भोक, प्यास, कमला नदिको उत्तरतर्फ बाट घेराबन्दी, जंगलभर दुई सय भन्दा बढी घाईतेको बिस्कुन अनि साथमा थिए गोली बिनाका खाली राईफलहरु ।

दिनभर घाईतेको पिडा हेरेर रातको प्रतिक्षा गर्नु बाहेक अर्को बिकल्प थिएन । कम्पनी कमाण्डर कमरेड शक्ति लगाएत केहि घाईतेलाई जंगलमा श्रद्धाञ्जली दिएको यादले मन उस्तै भक्कानिन्छ ।

यस्ता कैयौं दर्दनाक पीडा भोग्ने ति योद्धाहरु जसले त्यो भयानक संकटको सामना गरे आज पेट पाल्नकै लागि खाँडीको चर्को गर्मिमा श्रम गरिरहँदा अनि घाईतेहरु उपचारका लागि सामाजिक संजालमा याचना गरिरहँदा त्यो दिन सम्झेर कस्तो अनुभूति गर्लान ? कति बाल सिपाँहीको रगत बग्यो त्यस रात । आज अयोग्यका नाममा बिटुलिएका बाल सिपाँहीहरु सोह्र सत्र बर्षे उमेरका ति दिनहरु सम्झेर कस्तो मनोविज्ञानमा बाँचिरहेका होलान ?
अनि शहीदका आत्माले शान्ति पाउलान त ? भौतिक शरिर ढले पनि तिनका आत्माहरु कुनै न कुनै रुपमा भड्किरहनेछन । जवसम्म तिनका सपनाहरु पूरा हुनेछैनन् । एकपछि अर्को शहीदका तस्विरहरु सम्झनामा आईरहेका छन । बत्ति निभाएर म निदाउने कोशिस गर्छु ।

उ पर शहीदको सामुहिक चिहान नजिकै बलेको पिलपिल बत्तिले म झस्कन्छु । बिस्तारै त्यो बत्तिको संख्या एकाएक बढिरहेको छ मध्य रातमा । ध्यानपूर्वक नियालिरहन्छु म । एक हुल मानिसहरु त्यस चिहानको वरपर हर्कत गरिरहेकाछन । मुटुको धड्कन बढिरहेको आभाष हुन्छ मलाई ।

मध्यरातमा चिहानमाथि कसले किन हर्कत गर्ला ? कुनै उत्तर नै छैन म संग । मृत्युपछिको अस्तित्वको कुनै विश्वास नगर्ने म अव विवश थिएँ त्यसलाई स्विकार गर्न । किनकी त्यो त अव मेरा आफ्नै आँखाले प्रस्ट देखिसकेको छ । एकएक गर्दै एउटा लावा लस्कर निस्किरहेछ । त्यो लस्कर बिस्तारै हाई वे तर्फ प्रस्थान हुन्छ । म नजरले तिनीहरुलाई पछ्याईरहन्छु । हाई वे मा निस्किएपछि तिनीहरु हाम्रै ब्यारेक तिर आईरहेकाछन । फाट्टफुट्ट चलेको गाडीको प्रकाशमा म प्रष्ट देखिरहेको छु उस्तै लस्कर, उस्तै हतियारधारीहरु जो बर्षौ बर्ष अघि कमलाको बगरै बगर यहि ब्यारेक आक्रमणको लागि अघि बढेको थियो ।

म आत्तिएर ब्यारेकमा स्टान्ड टु लगाउँछु । मेरो सबै टुकडी सम्भावित आक्रमणको प्रतिरक्षा गर्न तयारी अबस्थामा छ । केवल फाएरको लागि आदेश पर्खन निर्देशन दिन्छु म ।

त्यो लस्कर ब्यारेकको गेटअघि आएर टक्क अडिन्छ । एउटा सिपाँही मेरो कानमा साउती गर्छ, ‘सर मलाई धेरै डर लागिरहेछ । उ ती केटीहरु त मैले दक्षिणी पोष्टमा सेन्ट्री बस्दा कतिपटक देखेको थिएँ । अस्ति राती रुँदै हिँडेका यिनीहरु नै हुन ।’

नियालेर एकोहोरो हेर्छु म प्राय सबै उहि अनुहारहरु छन जो सम्झनामा आईरहन्छन । उस्तै निर्दोष छ उनिहरुको अनुहार, उस्तै कमरेडली छ व्यवहार, उस्तै छ तिनिहरुको पोशाक जुन बर्षौ अघि देखि मेरो तस्विरमा छ ।

कुनै हलचल गर्न सक्दिन म । न मेरो मुखबाट नै आवाज निस्कन्छ । उभिएको उभिएकै हुन्छु म । एकसाथ उनिहरु नै बोल्न शुरु गर्छन ।

‘सुजन कमरेड हामी ब्यारेक आक्रमण गर्न आएका होईनौ । हामीलाई बिर्सनु भयो होला अव त । तर हामीले बिर्सिन सकेका छैनौं । हामी भड्किएका आत्माहरु हौं । हामीले आफ्नो शरिर बलिदान गरेको आज पन्ध्र बर्ष भयो । तर यी पन्ध्र बर्षमा चिहानमा पटक्कै शान्ति मिलेन । हाम्रो आत्माले शान्ति पाएन । अनि हामी हाम्रो शरिर ढलेको यो स्थानमा पन्ध्रौं स्मृतिमा भड्किएर आईपुगेका हौं । जवसम्म हाम्रा सपनाहरु पूरा हुने छैनन तव सम्म यसरी नै हाम्रो आत्मा भड्किरहनेछ ।’

मेरा सिपाँहीहरु उभिएका उभिएकै हुन्छन । लाग्छ तिनिहरुका ज्ञानेन्द्रियहरुले काम गरिरहेका छैनन । मेरो भने अघि सम्मको भयानक त्रास कम भैसकेको छ । शाहस जुटाएर सहानुभूतिपूर्वक सम्बोधन गर्छु म ।

‘प्रिय शहीदहरु अव यो ब्यारेकको वरिपरि भड्किएर मलाई थप पिडा नदेउ । तिम्रो चित्कारले चयनको निन्द्रा कहिल्यै आएन । यो भड्किएको आत्मा लिएर जाउ तिमीहरु तिनीहरुको मा जो बर्षौ देखि चयनको गहिरो निन्द्रामा छन, जसले तिम्रा सपनाहरु माथि खेलवाड गरे, आफ्ना निहित स्वार्थका लागि विभिन्न गुट र उपगुटमा विभाजित भए । तिम्रो बलिदानीले आएको गणतन्त्रमा हालीमुहाली गर्नेहरुका हरेक दरबारमा जाउ अनि प्रश्न गर । हो, प्रिय शहीदहरु तिमीहरु अहिल्यै जाउ र तिम्रो अपमान गर्नेहरुको महलमा तिम्रो आत्माको बास गराउ । जवसम्म तिम्रो आत्माले शान्ति पाउने छैन, तिम्रो सपना पूरा हुने छैन ।’

‘टङ….टङ…टङ…टङ ’ चार बजेको घण्टीले म झसङ्ग ब्युँझन्छु ।

कस्तो सपना देखेँ । पसिनाले लुथ्रुप्प भिजेछु । उठेर बत्ति बाल्छु अनि बाहिर निस्कन्छु । सडक उस्तै शान्त छ । विहानीपखको  चिसो सिरेटोमा शीतल महशुस गर्छु म । फाट्ट फुट्ट सडकमा गुडेका गाडीको प्रकाशमा शहीदहरुको सामुहिक चिहानतर्फ नजर पुर्याईरहन्छु । ठिक पन्ध्र बर्ष अघि यतिनै बेला उनिहरुका यत्रतत्र छरिएका भौतिक शरिरहरु सँधैलाई छाडेर फर्किएको यादले मन थाम्नै सक्दिन, भक्कानिन्छ ।

पूर्वि क्षितिजबाट केहि उज्यालो फैलिरहेको छ । उ माथि चुरे पहाडमा त्यसबेला फर्कदै गर्दा देखिएको जस्तै ठम्याउन सक्ने गरि उज्यालो छरिसकेको छ । सामूहिक चिहानमा बढ्दै गरेका खयरका रुखहरु हेर्दै भड्किएका ति आत्माहरु सम्झेर म प्रश्न खेलाईरहेको छु । 
भड्किएका आत्माहरुले कहिले शान्ति पाउलान ?
कहिले पूरा होलान शहीदका सपनाहरु ??

२७ बैशाख २०७७
बन्दिपुर, सिराहा
संस्मरण डायरी ।