एमसीसी सम्झौता खारेज गर्न र जारी नक्सा अनुसारको भूमि फिर्ता गर्न माग गर्दै क्रान्तिकारी माओवादीले ग¥यो विरोध प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २०७७ आश्विन २४

- अनु निरौला


काठमाडौं । राष्ट्रिय स्वाधीनताको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारी माओवादीले लिम्पियाधुरासहितको जारी नक्सा अनुसारको अतिक्रमित भूमि फिर्ताको पनि जोडदार माग गरेको छ । क्रान्तिकारी माओवादीको काठमाडौं जिल्ला समितिले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र दलाल संसदीय व्यवस्था तथा राष्ट्रघाती दलाल शासकहरुका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।


काठमाडौंको चावहिलमा भएको विरोध प्रदर्शन विरोधसभामा परिणत भएको थियो । विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य तथा ३ नं. प्रदेशका इन्चार्ज समेत रहेका चर्चित नेता दिनेश शर्मा सागरले सम्बोधन गर्नुभएको थियो । उहाँले राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायत महामारीका कारण उत्पन्न संकटमा ओली सरकारको राष्ट्रघाती तथा जनघाती चरित्रको भण्डाफोर गर्दै एमसीसी सम्झौता संशोधन वा परिमार्जन होइन पूर्णरुपमा खारेज गर्नुपर्नेमा जोड दिनुभयो । जनताले पटक पटक अन्याय, अत्याचार, शोषण, दमन, विभेद र उत्पीडनका विरुद्ध संघर्ष र बलिदान गर्दै आएको र अहिले पनि जनताको मुक्तिका निम्ति संघर्ष अपरिहार्य रहेको बताउनु भयो । उहाँले वर्तमान सत्ता, व्यवस्था र संविधानको अग्रगामी विकल्पको लागि जनगणतन्त्रको आवश्यकतामाथि जोड दिनुभयो र संघर्षमा उत्रन जनसमुदायलाई अपिल समेत गर्नुभयो । देशभक्त तथा क्रान्तिकारी कम्युनिस्टहरुको एकताबद्ध संघर्षले मात्रै राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान हुने बताउनु भयो ।


त्यसैगरी विरोध कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज सरुले क्रान्तिकारी माओवादी लगायतका देशभक्त तथा क्रान्तिकारी शक्तिको दबाबमा ओली सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपनि नक्सा अनुसारको अतिक्रमित भूमि फिर्ता गराउन चरम उदासिनता प्रदर्शन गरिरहेको बताउनु भयो । एकातिर आफैले जारी गरेको नक्सा अनुसारको भूमि फिर्ताका लागि ठोस पहल नगर्नु अर्कोतिर एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पास गर्ने षड्यन्त्रमा लाग्नुले ओली र सत्तारुढ डबल नेकपाका नेताहरुको राष्ट्रघाती चरित्र उदाङ्गो भएको टिप्पणी गर्नुभयो । उहाँले अतिक्रमित भूमि फिर्ता नभएसम्म र एमसीसी सम्झौता खारेज नभएसम्म क्रान्तिकारी माओवादीको आन्दोलन नरोकिने पनि बताउनु भयो । उहाँले अहिले देशमा महिला, दलित तथा गरिब निमुखा जनताका विरुद्ध हत्या, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु बढिरहेको चर्चा गर्दै राज्य जनताप्रति गैरजिम्मेवार र नालायक बन्दा जनसर्वसाधारणले ठूलो दुःख पाएको चर्चा गर्नुभयो । क्रान्तिले मात्र सबै समस्याको हल गर्नेभन्दै क्रान्तिको आवश्यकतामाथि जोड दिनुभयो ।


विरोध कार्यक्रमको सञ्चालन क्रान्तिकारी माओवादी काठमाडौंका सेक्रेटरी खगेन्द्र छन्त्यालले गर्नुभएको थियो । कार्यक्रममा पार्टी, देजमो तथा जबस मोर्चाका नेता कार्यकर्ताहरुलगायत जनमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।