यसरी तटमा नबस

प्रकाशित मिति : २०७७ आश्विन १३

- –मित्रलाल पंज्ञानी

बाहिर अन्याय अत्याचार भइरहेको छ । बञ्चितिमा परेकाहरू न्यायका निमित्त प्राणको बाजी थापेर लडिरहेका छन । सत्ताको सुख सुविधा भोग गरेर अघाउनुको साटो भोगको भावनालाई झन झन अनियन्त्रित बनाउदै लगेका भोगान्ध सत्तासीनहरू भोगवैभव गुम्ने भयले उत्तेजित भई भोकाहरूमाथि निर्मम प्रहार गरिरहेका छन । जीवन मरणको मुद्दा नै मुख्य विषय बनेको यो बेला ए भिक्षु तिमीले केमा ध्यान गरिरहेका छौ ? के हो तिम्रो ध्यानको विषय ? मान्छेको जीवनको सबभन्दा सरोकारको विषयलाई बेवास्ता गरेर कता भौतारिँदै छौ ? बुद्ध त भीषण जोखिमहरू उठाएर न्याय बोल्दै हिँडेका थिए । उनले त न्यायका निम्ति बोल्न भनेका थिए । मुक्तिका निम्ति लड्न भनेका थिए ।
‘फूल बनेर संसारलाई असल नजरले हेर । काँडालाई काँडा नदेख । काँडासित प्रतिवाद नगर । पन्छाउन नखोज ।’ बुद्धले यस्तो कहिल्यै भन्दैनन । ‘सम्यक दृष्टि’ हुनुपर्छ’ भने । काँडालाई फूल देख्ने दृष्टि साम्यक् दृष्टि होइन, पागलदृष्टि हो । बुद्धले ‘साम्यक कर्म’ हुनुपर्छ भनेका छन । अघि बढ्ने बाटोमा तेर्सिएको काँडालाई नपन्छाउनेहरूको कर्म साम्यक् कर्म होइन, सिल्ली कर्म हो । कविहरू कहिलेकाहीँ पागल पनि हुन्छन । बुद्ध कहिल्यै पागल हुँदैन । कहिलेकाही कविहरू बुद्ध पनि हुन्छन । बुद्धले भनेको अहिंसा निरपेक्ष होइन, सापेक्ष हो । ‘आफ्नो प्राण रक्षाका निम्ति अन्य आधारहरू प्रशस्त छँदाछँदै प्राणी हत्या गरेर आहार बनाउने परिपाटीलाई प्राथमिकता नदेऊ’ भनेको हो । विकल्परहित अवस्था आइप¥यो भने मांसाहार क्षम्य छ ।
ध्यानले केही क्षण भोक टार्न सक्ला, भोक मेट्न सक्दैन । तिमीले जतिसुकै अर्र्ती देऊ भोकाको ध्यान खानातिरै जान्छ । त्यो ध्यानलाई अन्यत्र लैजान सक्दै सकिँदैन । ध्यानमा बसेर मुक्ति हुँदैन । मानौँ मुक्ति हुन्छ रे । तिमी मात्रै मुक्त भएर त यो संसार शान्त हुदैन । केही लाख मान्छे शान्त भएर पनि यो संसार मुक्त हुँदैन । करोड जना मुक्त भएर पनि यो संसार मुक्त हुँदैन । यो संसारमा सात सय करोेड मान्छे छन । मेरो तात्पर्य उचित ध्यानसाधनाको अपमान होइन । आफूलाई खास विषयमा दत्तचित्त भई केन्द्रीकृत गर्नका लागि ध्यानसाधना मूल््यवान छ । ध्यानका निम्ति ध्यानको कुनै मूल्य छैन ।

भर्खरै भगवानलाई भेटेर आएजसरी भागवत चरित्र वर्णन गरिरहेका ए पण्डित ! जीवनको नितान्त सरोकारको विषयलाई चर्चाबाट पन्छाएर के बर्बराइरहेका छौ तिमी ? मान्छे यहाँ अहिले भर्खरै भोकले मर्न आँटिसक्यो । कहाँको कहिलेको मोक्षको कुरा गरिरहेका छौ ? मृत देह मात्रै कामनारहित हुन सक्छ भन्ने कुरा तिमीले पुज्न पठाएका भगवान र सन्त महन्तहरूको चरित्रबाट पुष्टि भइसकेको छ । जेलाई तिमीले हाम्रो दुःख र दारिद्¥यको कारण बताइरहेका छौ त्यो शतप्रतिशत झूटो छ । त्यसमा गम्भीर षडयन्त्र र बेइमानी लुकेको छ ।
फेरि जन्म लिन नपर्ने अवस्थालाई मोक्ष भनिरहेका छौ । एक त पूर्वजन्म र पुनर्जन्मको तर्क नै आधारहीन छ । ल एकछिनलाई तिम्रा कुरा मानिदिऊँ । यही पृथ्वीमा मान्छे भएर फेरि जन्मन पाइने भए त राम्रै हुन्थ्यो नि । किन चाहियो मोक्ष ? आफ्नो मानव चोलालाई धिक्कारिरहेका त छैनौ नि तिमी । मरिन्छ कि भन्ने भयले बेला बेलामा छ्याप्पै छोपिन्छौ । मौका पाएसम्मका सुख भोग पनि गरिरहेका छौ । अझ के के गरौँला भनेर मनभरि कामना बोकेर हिँडेका छौ । यही कामनाले तिमीलाई बाँच्ने प्रेरणा प्रदान गरिरहेको छ । अनि तिमी ढोङवश काम वासनाविनाको जीवनको गफ लडाउँछौँ । फेरि जन्म हुनु नपर्ने अवस्थालाई मोक्ष भन्दै छौँ । हुँदै नहुने कुरा ।
सांसारिक विषयबाट पर रहने भन्ने तिम्रो सिद्धान्त नै गलत छ । बाह्य सांसारिक कारणहरूबाट अप्रभावित रहने भन्ने तिम्रो शिक्षा नै बेतुकको छ । बाहिरको जाडो र गर्र्मीबाट तिमी पनि अप्रभावित रहन सक्दैनौ । अरूलाई अर्ती दिएको मात्रै हौ । पैँतालिस डिग्री र शून्य डिग्री तापक्रममा समान वस्त्र लगाएर बस्न तिमी स्वयम असमर्थ छौ । आगोमा बसेर नतातिने र हिउँमा बसेर नचिसिने हुँदै हुँदैन । यी पनि केवल पुराण वा दन्त्य कथाका मिथक मात्रै हुन ।
यो धर्म ठीक र त्यो धर्म बेठिक भन्ने कुरै होइन । अल्लाहले हजरत मोहम्मदलाई र परमेश्वरले ईसा मसीहलाई पृथ्वीमा पठाएका कथा र भगवान विष्णु आफै राम र कृष्णका रूपमा पृथ्वीमा आएका कथा सब मिथक हुन । यो संसारमा कुनै अल्लाह, परमेश्वर र भगवानका कृपाले झिँगा पनि मरेको छैन । यहाँ जे जति राम्रो भएको छ असल मान्छेहरूको प्रयत्नले र जेजति गडबडी भएको छ खराब मान्छेहरूको दुष्प्रयत्नले भएको छ । कुटिल शासकहरू र तिनका चारणहरूले असल मान्छेलाई जबर्जस्ती ईश्वरसित लगेर जोडिदिएका हुन ।
जुनसुकै नामका तिम्रा धर्महरूले भौतिकवादलाई निषेध गर्छन । किनभने भौतिकवादले भौतिक जगत्का भौतिक कार्य कारण सम्बन्धहरूको खोजी गर्दछ । खोज्दै जाँदा वास्तविक ठग को हो भनी पत्ता नलाग्ने कुरै भएन । हामीलाई भाग्यले ठगेको हुँदै होइन । सामन्ती राज्य व्यवस्थाले ठगेको हो । पुँजीवादी राज्य व्यवस्थाले ठगेको हो । वर्तमान समाज वर्गहरूमा विभक्त छ । यहाँ शोषक वर्ग र शोषित वर्ग छन । शोषक वर्गले अर्थप्रणाली, न्याय प्रणाली, सुरक्षा प्रणालीमार्फत सवैतिर हैकम जमाएर बसेको छ र त्यही हैकमलाई कायम राख्न धर्मको प्रचारलाई महत्व दिएको छ ।
आज विज्ञानले भौतिक सत्यलाई प्रमाणित गरेर देखाइसकेको छ । शरीरकै कुरा गरौँ । यो अनेक पदार्थहरूबाट निर्मित छ । तिनै पदार्थहरूको सन्तुलनमा जीवित छ । एउटा स्वस्थ्य मनुष्यमा हुनु पर्ने खास खास पदार्थहरूको अनुपात विज्ञानद्वारा प्रमाणित छ । भौतिक विज्ञान गणितमा आधारित छ । अङ्कको सहाराविना विज्ञानले एक पाइला पनि चाल्न सक्तैन । हामीले हाम्रो युगलाई डिजिटल युग भन्दछौँ । किनकि यो पूर्णत डिजिट –अङ्क) मा आधारित छ ।
संसार नदीको छाल उर्लिरहेको छ । काल जुर्मुराइरहेको छ । यसरी तटमा नबस, मझधारमा हेलिन आऊ । यहाँ गति छ । जीवन गतिमा छ । निर्धालाई कहिल्यै खान नदिने अति सञ्चयका शौखिन दुइटा खञ्चुवा भाले अधिक सञ्चयार्थ लडिरहेका छन भने, ठीक छ, तिमी तटमा बसेर रमिता हेर एकछिन । तर पनि धेरै बेर तटस्थ नहोऊ । त्यो युद्धलाई त्यस ‘मै खाऊँ’वादी खञ्चुवा प्रवृत्तिको विनासमा लगेर टुङ्ग्याउने गरी भूमिका खेल ।