पछिल्लाे ६ महिनामा प्राकृतिक विपद्का कारण ३९८ जनाकाे मृत्यु

पछिल्लाे ६ महिनामा प्राकृतिक विपद्का कारण ३९८ जनाकाे मृत्यु


काठमाडौं । पछिल्लाे ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३९८ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ। अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो भने अहिले पनि पहिरोमा बेपत्ताहरुकाे खाेजी भइरहेकाे छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि हालसम्मको अवधिमा १०४ जना बेपत्ता र ४२९ जना घाइते समेत भएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार मनसुन सुरु भएदेखि अर्थात गत जेठ ३० गतेयता मात्रै पहिरोबाट २८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ ।

उल्लेखित अवधिमा चट्याङ लागेर ८६ जना घाइते समेत भएको तथ्यांकमा उल्लेख छ । प्राधिकरणको मनसुन भएयताको तथ्यांक अनुसार ३६३ को मृत्यु, १०३ बेपत्ता र ३१७ जना घाइते भएका छन् ।

प्राधिकरणले बितको २४ घण्टामा नेपालमा विभिन्न जिल्लामा गरेर ५ स्थानमा आगलागी, ३ स्थानमा अबिरल वर्षा, ३ स्थानमा जनावर आक्रमण, १ स्थानमा बाढी, १ स्थानमा पहिरोका घटना भएको जनाएको छ ।