
म अर्थात्
सगरमाथा
सेताम्मे फुल
दुर्गुणयुक्त
मानिसभन्दा
धेरै माथि
स्वार्थभन्दा नि
धेरै फरक
भयङ्कर
कुरूपताभन्दा
नि बेग्लै
सोझो सपाट
दृढताप्रति समर्पित
कुरूप र सुरूपको
गम्भीर सङ्घर्षण
युद्धमयी पागलपन
फकिरी गान
म अर्थात्
सर्वहारा सिकन्दर
विद्रोहज्वरबाट
आक्लान्त ग्रस्त
मुक्तिस्वप्नमै मस्त
म अर्थात्
सगरमाथा
दलालचेत
मृत्युभयबाट
पर धेरै पर
निजमुक्त
स्वतन्त्र तन्त्रयुक्त
विचार आस्थामा
सतत अडिग
लोभमोहरहित
निरन्तर
समर्पण विरुद्ध
सङ्घर्षर्शील
अभययुक्त
दुस्साहसयुक्त
जागृत जागृत
म अर्थात्
सगरमाथा
हिंस्रक विरुद्ध
निर्मम हिंसक
हुन्छु अब
म अर्थात्
सगरमाथा
रक्ताग्नी झैं
राताम्मे हुन्छु
कहिल्यै
ननिभ्ने गरि
बल्छु
आगो ओकल्छु
म अर्थात्
सगरमाथा
मृत्युु मार्छु
विस्फोट हुन्छु
कैवल्य वा
जे भन
म मुक्तिपथ
विस्तीर्ण गर्छु