नदी बस्तीमा पस्दा रुपन्देहीमा ५० घर बढी डुवानमा

प्रकाशित मिति : २०७७ आश्विन १०

बुटवल । निरन्तरको बर्षाका कारण रुपन्देहीका रोहिणी, तिनाउ र दानव नदी बस्तीमा पस्दा ५० बढी घर डुवानमा परेका छन् । घरहरु डुवानमा पर्दा ठूलो क्षति हुन पुगेको स्थानीय प्रहरीले जनाएको छ । बाढी बस्तीमा पस्दा अन्तपात, लत्ताकपडा, पशुपन्छी बगेका छन्। नदी किनारका घरहरु बगेका छन् भने अन्य स्थानमा डुबानमा परेका घरहरु पनि भत्किएका छन् ।

रोहिणी नदी सुकुम्बासी बस्तीमा पस्दा रोहिण गाउँपालिका–५, पिपरहवामा १८ घर डुबानमा परेका छन् । गोठहरु भत्किएका छन् भने खाद्यान्न, लत्ताकपडा, केही पशुचौपाया पनि बगेको स्थानीयले जनाएका छन् । यस्तै, पाक्ने बेलाको धानबालीमा पनि ठूलो क्षति हुन पुगेको छ ।

भीषण वर्षा हुँदा रोहिणीसहित, तिलोत्तमा, ओमसतिया, मर्चवार, मायादेवी, देवदह, लुम्बिनी सांस्कृतिक, बुटवल उपमहानगरपालिकाका बस्तीहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढी पस्दा मर्चवार सडक नै अबरुद्ध भएको छ ।

तिलोत्तमा गणेशनगरमा सुखौरा खोलाको बहाव बढेर गणेशनगरका धनबहादुर सार्की, रघुवीर दमाई, मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको छ । तिलोत्तमा १० मा रहेको पूर्णबहादुर गुरुङको कुखुराको खोरमा बाढी पस्दा ४ हजार कुखुरा मरेका छन् । खोरमा काम गर्ने ५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
देवदह नगरपालिका १० रम्बादेवीटोलमा चरंगे खोलाको बाढीले खोलाछेउ रहेको राम श्रेष्ठको ३ कोठे ब्लक र जस्ताले बनाएको घर र २ वटा बाख्रा, ५–६ वटा कुखुरा, लत्ता कपडा, खाद्यान्न र अन्य सामान बगाएको छ । वर्षाका कारण सम्मरीमाई ५ देबन्डीको प्रभावती मल्लाहको घर भत्किँदा ५ जना घाइते भएका छन् । घाइतेको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।

सम्मरीमाई र मर्चवारी गाउँपालिको भरवलिया, देबन्डी, मन्झरिया, लोहाटोला, बरगर टोला लगायतका क्षेत्रका १५ भन्दा बढी घरमा बाढीले क्षति पुर्याएको छ । यस्तै, बुटवल उपमहानगरपालिका, १७ रानीगन्जमा तिनाउ नदीले उमेश हरिजन, र पुरुषोत्तम पुरीको घर बगाएको छ ।
यस्तै, नेपाल आयल निगमले इन्धन भण्डारणका लागि किनेको रोहिणी नदी छेउको जग्गा पनि पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण धनमालको क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।