
बझाङ । बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक आशंका गरेको छ । आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले बाजे बज्यैसँग बस्दै आएकी सम्झना गोठमा गाईबस्तुलाई घाँस हाल्न गएको बेला बलात्कार गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको परिवारको दाबी छ । उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको उनका काका ईश्वर कामीले बताए । घटनास्थल पुगेका स्थानीयका अनुसार मन्दिरभित्र हत्यारासँग सम्झनाको निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको अवस्थामा रहेको छ ।

घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन मस्टा गाउँपालिका खिकालावासी सदरमुकाम चैनपुर आएका छन् । यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक विरोध भइरहेको छ । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्तिसमेत निकालेका छन् ।
घटनामा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
न्यून आर्थिक अवस्था भएका सम्झनाका बाजे गोरख कामीले बुढेसकालमा पनि आरनको काम गरेर गुजारा चलाउँदै आएका थिए । नातिनीको हत्याका दोषी पत्ता लगाएर कारबाही गर्न गोरख लगायत खिकलावासीहरु सदरमुकाम चैनपुर आएर अहिले हारगुहार गरिरहेका छन् ।





























