मेयर सिंह श्रेष्ठका नाति नर बहादुर श्रेष्ठका काँइला छोरा क.जगत बहादुर श्रेष्ठको जन्म १९८६ सालमा सिरानचोक गाउँपालिका–८ जौवारीको हटियामा भएको थियोे । २००७ साल सम्म अर्थात २१ वर्षको युवा अवस्थासम्म उहाँ निरक्षर हुनुहुन्थ्यो । २१ वर्षको उमेरबाट मात्र उहाँले क,ख,र ब्,द्य,ऋ,म् सिक्न थाल्नु भएको रहेछ ।२००७ साल देखि २०१० साल सम्म उहाँले गोरखा जिल्ला कै जौवारी र शक्ति स्कुलमा पढ्नु भएको थियो । गोरखाको शक्ति स्कुलमा पढ्दा २००८ सालमा काठमाडौंबाट गएका दुई विद्यार्थी नेताहरु अरबिन्दनाथ रिमाल र रामचन्द्र शर्माले उहाँ लगायत सुर्य बहादुर मास्के,यमुना न्यौपाने,रामनाथ श्रेष्ठ,लक्ष्मणबाबु श्रेष्ठ र अरु ७–८ जना विद्यार्र्थी सम्मीलित अखिल नेपाल विद्यार्र्थी फेडेरेशन,गोरखा गठन गराइदिए । उहाँ त्यही बेला देखि राजनीतिमा जोडिनु भयो । त्यसताका गोरखामा पार्र्टी सेक्रेटरी बैकुण्ठ कट्टेल थिए । २००८ देखि २०११ सम्म क.जगत श्रेष्ठले गोरखामा नै बामपंथी विद्यार्र्थी राजनीति गर्नु भयो । २०११ सालमा गोरखा कै वार्पाक–सुलिकोट गाउँपालिका वार्ड न ४ मा पर्ने स्वाँराको नेवार गाउँमा अखिल नेपाल विद्यार्र्थी फेडेरेशन,गोरखाझको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्य हुनु भयो । त्यही साल उहाँले जिल्ला पार्र्टी सचिब क.बैकुण्ठ कट्टेलको सहयोगमा क.पुन्य प्रताप राणासँग पार्र्टी सदस्यता पनि लिनु भएको थियो । २०१२ सालमा कक्षा ८ पढ्न उहाँ काठमाडौं जानु भयो र सिताराम प्रौढ हाइस्कुलमा रात्रिकालिन पढाइ सुरु गर्नु भयो । त्यहाँ साहाना प्रधान र पुष्पलाल श्रेष्ठका भाइहरु शिक्षक थिए । त्यसपछि त उहाँलाई कम्युनिस्ट राजनीति झन धेरै लाग्यो । २०१४ सालमा २८ वर्षको उमेरमा उहाँले एसएलसी पास गर्नु भयो । उहाँको पहिलो बिबाह २००८ सालमा २२ वर्षमा भएको रहेछ तर त्यो सफल भएन । फेरि २०१८ सालमा उहाँको दोस्रो बिबाह भएको रहेछ । २०१२ साल देखि २०१४ साल सम्ममा कम्युनिष्ट पार्र्टीका धेरै नेताहरूसँग उहाँको बाक्लो भेटघाट हुन पुग्यो । यसबिचमा उहाँ पार्र्टी राजनीतिमा धेरै नै खारिनु भएको थियो । क. पुस्पलाल श्रेष्ठ,केशरजंग रायमाझी,हिक्मत सिंह भण्डारी,निर्मल लामा आदि संग उहाँको घनिष्ठ संबंध थियो । नेपाल कम्युनिष्ट पार्र्टीको दोस्रो महाधिवेशनमा प्रतिनिधि भएर उहाँले भाग लिनु भएको थियो । २०१५ सालको आम निर्वाचनमा उहाँलाई नेपाल कम्युनिष्ट पार्र्टीले गोरखाको उत्तरी क्षेत्रबाट उम्मेदवार बनायो । उहाँ उम्मेदवार भएको क्षेत्रमा कांग्रेसबाट कृष्ण प्रसाद भट्टराई र गोरखा परिषदबाट बिश्वनाथ सुवेदी चुनाव लडेका थिए । बिश्वनाथ सुवेदीले ३,१३३भोट ल्याइ चुनाव जिते । कृष्ण प्रसाद भट्टराईले २,८०८ भोट ल्याए । जगत श्रेष्ठको ५४५ भोट आयो । २०१५ र २०१६ सम्म उहाँले गोरखा र काठमाडौंमा रहेर पार्र्टी राजनीति गर्नु भएको थियो । २०१५ सालमा उहाँहरुले गोरखा जिल्ला पार्र्टीको प्रथम जिल्ला भेला धुवाँकोटको रातमाटेमा गर्नु भएको थियो । त्यो भेलाले इन्द्रदत्त पन्तलाई पार्र्टी सेक्रेटरीमा चुनेको थियो । त्यस भन्दा अगाडिका पार्र्टी सचीव बैकुण्ठ कट्टेल थिए ।


२०१७ सालमा राजा महेन्द्रले निर्दलिय पञ्चायती ब्यवस्था सुरु गरे । यसपछि सबै राजनीतिक दलमाथी प्रतिबन्ध लाग्यो । कम्युनिष्ट पार्र्टीको प्रतिबन्ध सँगै क.जगत श्रेष्ठ चितवन बसाइँ सर्नु भएछ । चितवन झरेसँगै उहाँ शिक्षक लगायत विभिन्न पेसामा आवद्ध हुनुभएको रहेछ । २०२४ सालमा त उहाँ ३८ वर्षको पुगिसक्नु भएको थियो । त्यही ताका उहाँ ,आनन्ददेव भट्ट,मथुरा श्रेष्ठ र गुण बहादुर घले मिलि स्वतन्त्र समुह नन सेन्टर ग्रुप गठन गर्नु भएछ । नन सेन्टर ग्रुपको प्रभाव चितवनमा व्यापक पनि बनेछ । पछि २०२८ सालमा नन सेन्टर ग्रुपलाई उहाँहरुले का.मोहन बिक्रम सिंहले नेतृत्व गर्नु भएको केन्द्रिय न्युक्लसमा ध्रुवीकरण गराउनु भएछ । त्यही केन्द्रिय न्युक्लसको मूल धार पछि नेकपा(चौम),नेकपा –मशाल), नेकपा(एकता केन्द्र), नेकपा(माओवादी), (एकीकृत नेकपा(माओवादी), नेकपा(माओवादी) र आजसम्म आइपुग्दा नेकपा(क्रान्तिकारी माओवादी) बनेको छ । क.जगत श्रेष्ठ पनि यी पार्र्टी संगठनका विभिन्न जिम्मेवारी बहन गर्दै नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रिय सल्लाहकारको हैसियतमा जीवन पर्यन्त हुनुहुन्थ्यो । ९१ वर्षको उमेरमा आज असोज ८ गते अपरान्ह ४.१५ मा उहाँको निधन हुन पुगेकोेछ । उहाँको निधनले गोरखा र सिंगो देशको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अपुरणिय क्षति हुन पुगेको छ । आदरणीय अग्रज कम्युनिष्ट योद्धा क.जगत बा प्रति भावपुर्ण श्रद्धाञ्जली !

प्रतिक्रिया

सम्बन्धित खवर