चितवन । नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता, चितवन कम्युनिस्ट पार्टीका संस्थापक नेता तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार जगतबहादुर श्रेष्ठको निधन भएको हो । केही दिन अगाडि आफ्नै निवासमा लडेर गम्भिर घाइते हुन पुग्नुभएका नेता श्रेष्ठको चितवन स्थितित सिएमसी अस्पतालमा आज साढे चारबजे निधन भएको नेकपा (क्रान्तिकारी माओवादी)की नेतृ तथा पोलिटब्यूरो सदस्य अम्बिका मुडभरीले जानकारी दिनुभयो ।
अहिले अस्पतालमा क्रान्तिकारी माओवादीका पीवीएम चन्द्रहरी सुवेदी अटल, केस विकास, जिल्ला सेक्रेटरी अशोक शर्मा लगायतका नेताहरु पुगेका छन् । चिवनको नारायणगढ निवासी श्रेष्ठ २०११ सालदेखि अविचलित रुपमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पक्षमा उभिदै आउनु भएको थियो । १९८६ कार्तिक ३२ गते जन्मनु भएका श्रेष्ठ २०१५ सालको आम निर्वाचनमा उत्तरी गोरखाबाट कम्युनिस्ट पार्टीको तर्फबाट कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईसँग चुनाव लड्नु भएको थियो ।
उहाँले प्रगतिवादी साहित्य तथा देशभक्तिका पक्षमा निरन्तर कलम चलाउँदै आउनुभएको थियो । उहाँ एक राष्ट्रकवि र कम्युनिस्ट आन्दोलनका अविचलित योद्धा हुनुहुन्थ्यो । उहाँको कविता संग्रह ‘मेरो धर्ति’ प्रकाशित रहेको छ ।
उहाँका तीन छोरा रहेका छन् ।
उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीसहित भोलि (शुक्रबार) अन्त्यष्टी गरिने नेतृ मुडभरीले बताउनु भयो ।





























