नेपाल–चीन सीमा क्षेत्रको ११ नम्बर सीमा स्तम्भमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली । तस्वीरःसशस्त्र प्रहरी बल

७ असोजमा सरकारले पत्रकार सममेलनमार्फत हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन ।
मन्त्री ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले भने, ‘बनेका घरहरू नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको भनेर प्रतिवेदन दिइएको रहेछ ।’
अहिले त्यही ठाउँमा थप भवन बनेको पाइएको भन्दै उनले नेपाल चीनबीच सीमा समस्या नभएको बताए । सञ्चारकर्र्मीहरूलाई यो विषयमा लेख्नुअघि मन्त्रालयको आधिकारिक धारणा लिन समेतले उनले आग्रह गरे ।
परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘कहीँ कतै समस्या देखा परे भने पनि बसेर छलफल गर्ने सौहार्द सम्बध छँदैछ ।’
चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चिरन्जीवी गिरीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष सम्मिलित टोलीले स्थलगत अनुगमन गरेर फर्केको छ ।
प्रजिअ नेतृत्वको टोलीमा अनुगमन गरेर फर्केका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनियाँ अधिकारीहरूले ‘त्यो भूमि हाम्रो हो, तपाईहरूको केही कुरा भए सीमानामा गरौंला’ भनेका थिए ।
२०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको र पछि बिरोध भएपछि निर्माण कार्य रोकिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताएका छन ।
यसैबीच चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई प्रमुख विपक्षी नेपाली कांग्रेसले हतारको टिप्पणी भनेको छ ।
हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबर आएपछि सरकारले खण्डन गरेको थियो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भनेका थिए ।
तर असोज ८ गते कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेकोमा पार्र्टीको ध्यानाकर्षण भएको बताएका छन ।
‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन’ उनले भनेका छन ।
अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो,होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको कांग्रेसले बताएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही अध्ययनकै क्रममा रहेको भन्दै शर्माले भनेका छन, ‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।’
साथै स्थलगत अध्ययन टोली सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउने विज्ञप्तिमा उल्लेख छ ।

असोज, ८ गते उत्तरी छिमेकी मुलुक चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ फेला परेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको बताएको छ ।
सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा भेटिएको छ ।
सीमास्तम्भ भेटिए पनि चीनले बनाएका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन नसकेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ बताउँछन्
‘प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्र्मीको टोलीसँग मेरो कुरा भएको छ,’ गाउँपालिका अध्यक्ष तामाङले अनलाइनखबरसँग भने, ‘टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर सीमास्तम्भ रहेछ ।’
नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न गएको थियो । लोलुङजोङमा चिनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रजिअ गिरी नेतृत्वको टोली त्यहाँबाट हिल्सा गएको थियो ।
११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना पटक–पटक विवाद हुने गरेको थियो । सुरक्षाकर्र्मीको टोलीले त्यसको खोजीलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्र्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो ।
सुरक्षाकर्र्मी र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खोजबिनले हराएको पिल्लर फेला परेको अध्यक्ष तामाङले बताए ।

प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्र्मीको टोली अझै सीमा क्षेत्रबाट फर्किएको छैन । सीमास्तम्भ भेटिए पनि चीनले निर्माण गरेका सीमा क्षेत्रका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन नसकेको अध्यक्ष तामाङ बताउँछन ।
‘सीमास्तम्भ त भेटिएको छ । तर चीनले भवन बनाएको भूभाग कसको हो भन्ने अझै यकिन हुन सकेको छैन,’ अध्यक्ष तामाङले भने, ‘तर अव बर्षौंदेखिको विवाद भने सुल्झिने हामीले अपेक्षा गरेका छौं ।’
चीनले नेपाली भूमिमा भवनहरु बनाएको समाचार सार्वजनिक भएलगत्तै नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावास दुवैले चीनले नेपाली भूमि अतिक्रमण नगरेको प्रष्टीकरण दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर