जगत बहादुर श्रेष्ठ ‘क.जगत बा’बाट सिक्नु पर्ने कुराहरु

जगत बहादुर श्रेष्ठ ‘क.जगत बा’बाट सिक्नु पर्ने कुराहरु

नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी विचार निष्ठा र आदर्शको धरोहर कमरेड जगत बहादुर श्रेष्ठ यतिवेला मृत्यु सैयामा हुनुहुन्छ । उमेरले ९२ वर्र्षीय कम्युनिस्ट आन्दोलनको जीवितमध्ये सबैभन्दा पुरानो पुस्ताका जेष्ठ नेता जगत बा यहि २०७७ भाद्र ३१ गतेका दिन आफ्नै घरमा लडेपछि अस्वस्थ हुनुभयो र तत्काल उहाँलाई हस्पिटल भर्ना गरियो । तर यता हस्पिटलले उहाँको मस्तिष्कमा रक्तश्राव भएको र उमेरको कारण अपरेसन गर्न संभव नहुने तथा विना अपरेसन सन्चो हुने कुनै सम्भावना नरहेको बताएपछि अस्पतालवाट डिसचार्ज गरि घरमा ल्याउने काम भयो । यसरी अस्पतालमा उपचार संभव नहुने भएपछि यतिवेला उहाँ आफ्नै निवासमा जीवनको पक्षमा आफ्नै अगाडि उभिएको मृत्युको विरुद्धमा संझौताहिन संघर्ष गरिरहनु भएको छ । कमरेड जगत वहादुर श्रेष्ठसंग आजको सिङ्गो कम्युनिस्ट आन्दोलनको इतिहास जोडिएको छ । उहाँ विक्रम सम्बत १९८६ साल कार्तिक २२ गते गोरखाको जौंवारीमा बुवा नर बहादुर श्रेष्ठ र आमा नन्द कुमारी श्रेष्ठका ६ भाइ छोराहरुमा काइलो छोराको रुपमा जन्मनु भएको थियो । युवा अवस्थावाट नै कम्युनिस्ट आन्दोलनमा प्रभावित जगत बा २०१० सालको विद्यार्थी आन्दोलनमा सकृय सहभागी भई गोरखामा पक्राउ समेत पर्नु भएको थियो । २०११ सालमा कम्युनिस्ट पार्र्टीको सदस्यता लिएका जगत बा गोरखा जिल्लाको कम्युनिस्ट पार्र्टीको संस्थापक हुँदै २०१४ सालको दोश्रो महाधिवेशनमा गोरखा जिल्लाको प्रतिनिधि समेत चुनिनु भएको थियो । २०१५ सालको संसदीय चुनावमा उहाँ उत्तरी गोरखावाट कम्युनिस्ट पार्र्टीको उमेदवार हुनुभयो । उक्त निर्वाचनमा पराजित भएपनि उहाँले सम्मानजनक मत प्राप्त गर्नु भएको थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले साही ुकुु गरे पछि उहाँ त्यो कदमको विरोधमा उभिनु भयो । पार्र्टी भित्रको रायमाझीको राजापरस्त लाइनको खुलेर विरोधमा लाग्नुभएका कमरेड जगत बहादुर श्रेष्ठ २०१७ सालमा सम्पन्न कम्युनिस्ट पार्र्टीको बहुचर्चित दरभंगा प्लेनममा संविधानसभाको पक्षमा खुलेर लाग्नु भएको थियो । २०१७ सालको दरभंगा प्लेनममा पार्र्टीमा रायमाझीको राजाको कदमलाई समर्थन गर्नु पर्ने, कमरेड पुस्पलालको विघटित संसद पुनस्स्थापन हुनुपर्ने र कमरेड मोहन विक्रम सिंहको संविधानसभाको चुनाव गर्नुपर्ने गरि तीनवटा विचार प्रस्तुत भएका थिए । प्रस्तुत तीन प्रस्ताव हलमा भोटङ्ग हुदा केन्द्रीय समितिमा एक्लै भएका कमरेड मोहन विक्रम सिंहको संविधानसभाको प्रस्ताव बहुमतले पास गरेपनि षड्यन्त्रपुर्वक ढंगले रायमाझी र पुस्पलालको मिलेमतोमा प्लेनमको निर्णय केन्द्रीय समितिले उल्टाईदिएको जगत बा लाई पटक्कै मन परेन । २०१९ सालको तेस्रो महाधिवेशनवाट तुल्सीलाल अमात्य महासचिवमा निर्वाचित भएपछि उनले अपनाएको ख्रुस्चोभी संसोधनवादको उहाँ प्रारम्भ देखिनै विपक्षमा खडा हुनु भयो । कमरेड पुस्पलाल पनि तुल्सीलालको विचारको विपक्षमा रहेको हुनाले पार्र्टी भित्रको टि. एल (तुल्सीलाल)को विरुद्धमा विद्रोह हुने आशामा रहे पनि पि. एल.( पुस्पलाल) बाट पहलकदमी नपुगेको निष्कर्षमा उहाँ पुग्नु भयो र २०२४ साल चैत्र महिनामा चितवनमा युवाहरू केन्द्रीकृत गरि उहाँको नेतृत्वमा डा. मथुरा प्रसाद श्रेष्ठ, आनन्ददेव भट्ट र गुण बहादुर घले समेत गरि नन सेन्टर ग्रुप गठन गरि नेपालको कम्युनिस्ट आन्दोलनमा सबैभन्दा पहिला पार्र्टीभित्रका दक्षिणपन्थी अवसरवादी समूह विरुद्ध बिद्रोहको क्रान्तिकारी झण्डा उठाउने महान कामको शुरुआत गर्नुभयो । जस्को एक बर्ष पछि मात्र कमरेड पुस्पलाल श्रेष्ठले गोरखपुर संम्मेलन गरि बिद्रोह गर्नु भएको थियो । यसरी गठन भएको नन सेन्टर ग्रुप चितवनमा चाडैं नै लोकपृय हुन थाल्यो । उहाँहरुले नन सेन्टर ग्रुपको नाममा सुरुवात गरेको कम्युनिस्ट आन्दोलनको पुनर्गठन प्रक्रियामा युवाहरु सहभागी हुने प्रक्रिया तिव्र गतिमा अगाडि बड्यो । कमरेड पुष्पगोपाल श्रेष्ठ, कमरेड बिष्णु बहादुर श्रेष्ठ, कमरेड यमुना प्रसाद न्यौपाने, कमरेड नर बहादुर खांड, कमरेड खम्वासिंह कुँवर, कमरेड अमिक सेरचन, कमरेड टेक बहादुर थापा लगायतका युवाहरुको सक्रियतामा नन सेन्टर ग्रुपले चितवन जिल्लाव्यापि संगठन विस्तार गर्न सफल भयो । यसै सिलसिलामा कमरेड मोहन विक्रम सिंह र कमरेड निर्मल लामा लगायत युवा क्रान्तिकारी नेताहरु जेलवाट छुटेर आएपछि २०२८ सालमा गठन गरिएको केन्द्रीय न्युक्लससंग उहाँहरु विचारधारात्मक ध्रुवीकरण हुनुभयो । कम्युनिस्ट पार्र्टीको चौथो महाधिवेशन सम्पन्न भए पश्चात तत्कालीन चौमको गण्डक क्षेत्रमा उहाँले संगठनको जिम्मेवारी लिएर काम गर्नु भयो । २०४० सालमा तत्कालीन नेकपा चौममा विभाजन भएपछि उहाँ नेकपा मशालमा आबद्व हुनुका साथसाथै मशाल सहित विभिन्न वामपन्थी कम्युनिस्ट समुहहरुको एकतावाट निर्माण भएको एकताकेन्द्र हुँदै जनयुद्धको निर्णयसंगै निर्माण भएको तत्कालीन नेकपा(माओवादी) मा सक्रियतापुर्वक सहभागी हुनुभयो ।
जनयुद्धको क्रममा माओवादी आन्दोलनमा देखापर्ने सबैखाले गलत विचारको विपक्षमा हमेशा कमरेड जगत बा दृढताका साथ खडा हुनुभयो । पार्र्टीभित्रकै दक्षिणपन्थीहरुको योजनामा कमरेड किरण र कमरेड गौरव लगायत क्रान्तिकारीहरुको एउटा पंक्तिलाई पक्राउ गरि कथित लोकतान्त्रिक गणतन्त्रको नाममा प्रचण्ड बाबुरामहरुले पार्र्टीको क्रान्तिकारी राजनीतिक कार्यदिशा परित्याग गरि संसदीय व्यवस्थामा आत्मसमर्पण गरेको उहाँलाई कतिपनि मन परेको थिएन । पछि कमरेड किरण र कमरेड गौरव लगायत क्रान्तिकारीहरु भारतीय जेलवाट छुटेर आएपछि कमरेड किरणको नेतृत्वमा चलेको अन्तरपार्र्टी संघर्षमा कमरेड जगत बहादुर श्रेष्ठ क्रान्तिकारी विचारको पक्षमा खडा हुनु भयो । प्रचण्ड बाबुरामहरुको घोर दक्षिणपन्थी संसदीय आत्मसमर्पणवादको विरुद्धमा कमरेड किरणको नेतृत्वमा क्रान्तिकारी विद्रोहको झण्डा उठाएर नेकपा–माओवादी पुनर्गठन गर्दा उहाँ क्रान्तिकारी विचारको पक्षमा दृढतापुर्वक खडा हुनु भयो । त्यस यता उहाँ आज पर्यन्त नेकपा क्रान्तिकारी माओवादीमा केन्द्रीय सल्लाहकार समिति सदस्यको रुपमा खडा हुनु हुन्छ । कमरेड जगत बहादुर श्रेष्ठ विभेद अन्याय र अत्याचार विरुद्धको संघर्षमा हमेशा खडाहुनुभयो । २००८ सालतिर काठमाडौंमा चलेको जयतु संस्कृत आन्दोलन र २००९ मा पश्चिममा भीमदत्त पन्तको नेतृत्वमा चलेको किसान संघर्ष र त्यसको देशव्यापी प्रभावले उहाँलाई थप आन्दोलित बनाइदियो । यसै संदर्भमा गोर्खामा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने क्रममा २०१० सालमा पक्राउ र जेलसमेत परेपछि उहाँ कम्युनिस्ट आन्दोलनमा सकृय हुनु भएको पाइन्छ । २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्य भएपछि आज पर्यन्त उहाँ क्रान्तिकारी विचारवाट कहिल्यै विचलित हुनु भएन । २०१२ सालमा मनामोहन अधिकारीले सम्वैधानिक राजतन्त्र मान्ने आत्मसमर्पणको वाटो लिदा होस वा दोस्रो महाधिवेशन पछि रायमाझीको राजावादी लाइनको विरुद्धमा मात्र होइन तेस्रो महाधिवेशनपछि महासचिव तुलसिलालको दक्षिणपन्थी र पुस्पलालको काङ्ग्रेसपरस्त राजनीतिको विपक्षमा सदैव जगत वा खडा भैरहनु भयो । चौथो महाधिवेशन पछि लामाको शुधारवादी चिन्तन र दक्षिणपन्थी झुकाव तथा मोहन विक्रमको छद्म अवसरवादको विरुद्धमा समेत उहाँ खडा हुनु भयो । यसरी माओवादी आन्दोलन भित्र प्रचण्ड बाबुरामको दक्षिणपन्थी आत्मसमर्णवाद र वामपन्थी विसर्जनवादको विपक्षमा खडा हुँदै यहाँसम्म आइपुग्दा कमरेड जगत बहादुर श्रेष्ठले बैचारिक रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद, दर्शनमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद तथा सर्वहारावर्र्गीय दृष्टिकोण, त्यसका समग्र रणनीति र कार्यनीति सहित चल्ने वर्गसंघर्षका वर्र्गीय विचारधारात्मक पक्षधरताको पक्षमा जिवनपर्यन्त लाग्नु भयो । यस अर्थमा मालेमावादी दृष्टिकोणको हिसावले उहाँको जीवन पूर्ण र सार्थक रहन पुग्यो । आफ्नो राजनीतिक जीवनकाल भरि नै कमरेड जगत बहादुर श्रेष्ठ व्यवहारमा पार्र्टी जीवनको अत्यन्तै महत्त्वपूर्ण अंग बनिरहनु भयो । भुमिगत कालभरी नै उहाँको घर पार्र्टीको सम्पर्क स्रोत र मिनिहेडक्वाटर जस्तै रहयो । एकीकृत चौम कालमा पुर्र्वी क्षेत्रका सामग्रीहरु कमरेड जयगोविन्द शाहहरुले जगत वा मार्फत पार्र्टी हेडक्वाटर पुर्याउने गर्नुहुन्थ्यो । महामन्त्री कमरेड मोहनविक्रम सिंहले गोरखपुर हेडक्वाटरवाट पार्र्टीका डकुमेन्टहरु नेपालका विभिन्न जिल्लामा पठाउनु पर्र्याे भने जगत वा मार्फत नै पठाउने गर्नु हुन्थयो । नारायणगढमा रहेको उहाको मो मो पसलको ठेगाना र संपर्कको वारेमा पुराना चौम कालिन सम्पुर्ण नेताकार्यकर्ताको मानसपटलवाट अझै ताजै रहेको पाइन्छ । माओवादी जनयुद्धकालमा पनि उहाको घर माओवादी सुचनाकेन्द्र र अघोषित कार्यालय जस्तै रहयो । त्यतिमात्र होइन उहाँको घर पार्र्टीको महत्त्वपूर्ण कोषकेन्द्र समेत रहिरहयो । भुमिगत कालमा पार्र्टीका कार्यकर्ता पाल्ने कतै जानुपर्दा बाटाखर्चको व्यवस्था गरिदिने घरको रुपमा उहाँको मम पसललाई लिइने गरिन्छ । नारायणगढ बजारमा मम पसल खोलेर परिवारको पालनपोषण गर्ने पार्र्टी कार्यकर्तालाई सेल्टरको व्यवस्था मिलाउने र खर्चको व्यवस्था गर्ने काम सामान्य दृष्टिकोण भएको मान्छे वाट संभव हुने कुरा पनि थिएन । तर यो असामान्य कामको आजिवन जिम्मेवारी बहन गर्न कमरेड जगत बा सफल हुनुभयो ।
माओवादी जनयुद्धमा सहभागी भएको कारण उहाँलाई जनयुद्धकालभरी राज्यसत्ताले सताईरहयो । कहिले छोरालाई पक्राउ गरेर दुस्ख दिने, कहिले घर खनतलासी गर्ने, कहिले परिवारका सदस्यलाई मानसिक तनाव दिने जस्ता कामले जनयुद्धकालभरि उहाँको परिवार र उहाँलाई सताइरहयो । पटक पटक गिरफ्तार गर्ने र चरम यातना दिने कार्यले उहाँलाई युद्धकालभरी पछ्याइरहयो । पल पलको मृत्युलाई जित्दै सदैव क्रान्ति र क्रान्तिकारी विचारको रक्षामा उहाँ सतिसाल जस्तै गरि खडा भैइरहनु भयो । यी र यसप्रकारका उहाँका जीवनका सिकाइ र भोगाइका बहुआयमिक पक्ष आजका नयाँ पुस्ताका युवाहरुको लागि असाध्यै ठुलो शिक्षा र मार्गदर्शन बन्न सक्छन । नेपाली कम्युनिस्ट आन्दोलनमा कमरेड जगत बहादुर श्रेष्ठको बहुआयमिक भुमिका रहेको छ । राजनीतिक आन्दोलमा सहभागिता, सांगठनिक सक्रियता र व्यवस्थापकिय भुमिकाका अलावा शिक्षा संस्कृति, साहित्य र कलाको क्षेत्रवाट पनि उहाँले धेरै महत्त्वपूर्ण भुमिका खेल्नु भएको पाइन्छ । गोर्खामा रहदा देखिनै शिक्षण पेशामा आवद्व जगत बा चितवन जिल्ला झरेपछि पनि उक्त क्षेत्रमा सक्रिय रहनु भएको पाइन्छ । शिक्षकको रुपमा चितवन माविको स्थापना, विरेन्द्र क्याम्पसको स्थापना, सप्तगण्डकी कलेजको स्थापनामा उहाँको महत्त्वपूर्ण र अग्रणी भुमिका रहेको पाइन्छ । त्यस्का अलावा चितवनको प्रगतिवादी साहित्यमा पनि उहाँको अभिभावकीय भुमिका रहदै आइरहेको छ । कथा, कविता र निबन्ध लगायतका लेख र रचनाहरुको माध्यमवाट समाजमा रहेका तमाम विकृति विसंगतिको विरोध गर्नु, कान्ति र क्रान्तिकारी विचारको पक्षपोषण गर्दै शाषक जाति वर्ग र उस्को सत्ताको विरुद्ध विद्रोहको रक्तसञ्चार प्रवाह गर्नु तथा जनताको जनजिविका र देशभक्तिपूर्ण भावनाको विकास र संदेश प्रभाह गर्नुमा उहाँका साहित्यका कृतिहरुको मुख्य भुमिका रहेको पाइन्छ । निबन्धसंग्रह, कवितासंग्रह लगायत थुप्रै उहाँका प्रकाशित कृतिहरुले अग्रगमन न्याय र समानताको पक्षपोषण गरिरहन्छन । साथसाथै उहाँले पत्रकारिता र प्रेश स्वतन्त्रताको आन्दोलनमा पनि भुमिका खेल्दै अइरहनु भएको पाईन्छ । पारिवारिक रुपमा अहिले जगत बा तीन छोरा वुहारी र सात नाती नातिना सहित संगोलमा वस्दै आउनु भएको छ । उहाँको जेठो छोरो सागर र माइलो छोरो समिर बुहारी लक्ष्मी अमेरिका हुनुहुन्छ । जेठी बुहारी यमुना, कान्छो छोरो सुधिर र बुहारी सीता साथमै हुनुहुन्छ भने जीवनसाथी नरदेवी श्रेष्ठको २०७२ सालमा निधन भयो । कमरेड जगत बहादुर श्रेष्ठ ९२ वर्षको हुनुहुन्छ । अब आउदो कार्तिक २२ गते उहाँ ९३ वर्षमा लाग्नुहुन्छ । यो उमेर प्राप्त गर्ने अवसर निकै थोरै मानिसलाई मात्रै मिल्छ । माक्र्सवादी दृष्टिकोणमा को मान्छे कति उमेर बाच्छ वा बाच्दैन ? त्यो त्यति महत्वपूर्ण प्रश्न होइन महत्त्वपूर्ण प्रश्न त ऊ जीवनपर्यन्त क्रान्तिकारी भइरहन सफल भयो कि भएन ? भन्ने हुन्छ । जगत बा को घरमा म आफु केहिदिन अगाडि पुग्दा समेत उहाँ माक्र्सवादी साहित्यका पुस्तकहरु कापि र कलमहरुको विचमा हुनुहुन्थ्यो । उहाँ राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर कलम चलाइरहनु हुन्थ्यो । क्रान्ति र संघर्षको अविचलित यात्रामा नथाकिकन लागिरहन हामी सबैलाई हौषला प्रेरणा र उर्जा थपिदिइरहनु हुन्थ्यो । युवाहरुलाई क्रान्तिको भोक जगाउने र उनीहरुको दृष्टिकोणमा क्रान्तिकारी आशावाद जगाउन उहाँ असाध्यै निपुण हुनुहुन्थो । ९२ वर्षको बृद्धअबस्थामा पनि आधुनिक सामाजिक संजालको माध्यमवाट राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर लेख्दै र अविव्यक्ति दिदै आइरहनु भएको थियो । अन्तमा समग्र हिसावले हेर्दा जीवन र जगतको प्रक्रियागत परिक्षामा कमरेड जगत बहादुर श्रेष्ठ उतीर्ण हुनु भएको छ । अहिलेको क्रान्तिकारी आन्दोलनको खडेरीको वेला आजको युवापुस्ता र समग्र क्रान्तिकारीहरुको लागि कमरेड जगत बहादुर श्रेष्ठ एउटा विशाल विश्वविद्यालय हो । यो पुस्ताले उहाँवाट क्रान्तिकारी निष्ठा आदर्ष, राजनीतिक प्रतिवद्वता , त्याग, धैर्यता, आशावाद तथा वलिदानी भवना लगायत थुप्रै थुप्रै क्रान्तिका आचरण व्यवहार र कार्यशैली सिक्न जरुरी हुन्छ । एउटा असल अविचलित र निष्ठवान तथा आदर्शशील क्रान्तिकारी योद्वा भएकै कारणले मालेमावादको विरुद्वमा खडा भएका तमाम अवसरवादी सोच विचार चिन्तन र दृष्टिकोणलाई उहाँले जित्नुभयो । क्रान्तिकारी विचारको पक्षमा उभिदा जीवनको गोरेटोमा आउने सबै विघ्न वाधा र कठिनाइहरु झल््दै अगाडि वड्नुभयो र जीवन देखि जगतसम्मको लडाई जित्नु भयो । अब उहाँले हार्न बाँकि केही पनि छैन तर अफसोच !! यतिवेला उहाँ मृत्युसंग निरन्तर हार्दै गइरहनु भएको छ । तर फेरि पनि जीवनका सबै घटनाक्रमलाई हेर्दा मृत्युसंग उहाँ लडिरहनु भएको छ, हार्न मानिरहनु भएको छैन, मृत्युका अगाडि कारयरतापुर्वक हात उठाएर घुडा टेक्दै आत्मसमर्ण नगर्ने प्रतिवद्वताका साथ उहाँ लडिरहनु भएको छ । अन्तिम लडाईमा जिते जीवन हुन्छ हारे वलिदान । तपाईं लड्नुस जगत बा !! हार्दै नहार्नुस !!! यो लडाईमा जिते त जित भैहाल्यो, हारे तापनि तपाईंकै यो जित हुदैछ । यो अन्तिम जितको लागि तपाईंलाई लाख लाख शुभकामना छ कमरेड जगत बा । हार्दिक शुभकामना !!
२०७७ असोज ३ भरतपुर चितवन