यसरी अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टी गरियो क.थानीको पार्थिव शरीर (फोटोफिचर)

क्रान्तिकारी माओवादीका महासचिव किरणले पार्टीको झण्डा ओढाएर दिनुभयो अन्तिम श्रद्धाञ्जली

प्रकाशित मिति : २०७७ भाद्र २९


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)की नेतृ कमरेड चन्द्रा थानीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीसहित आइतबार बेलुका पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय सदस्य समेत रहनु भएकी कमरेड थानीको पार्थिव शरीरप्रति अन्तिम श्रद्धाञ्जली दिंदै महासचिव किरणले कमरेड थानीको निधनले नेपालको कम्युनिस्ट आन्दोलन, नयाँ जनवादी आन्दोलन तथा साँस्कृतिक एवम् साहित्यिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनु भयो । महासचिव किरणले क्रान्तिको, मुक्तिको तथा कम्युनिज्मप्रतिको सपना, अटुट विश्वास र त्यसलाई सार्थक तुल्याउन उहाँले गर्नुभएको संघर्ष र योगदान अनुकरणीय रहेको भन्दै पार्टीले एकजना होनाहार कमरेड गुमाउनु परेको बताउनु भयो ।


महासचिव किरणले कमरेड चन्द्रा थानीको निधनबाट शोकले सन्तप्त हुन पुग्नुभएका उहाँका जीवनसाथी तथा पार्टी पीवीएम चक्रापाणि शर्मा, छोरा र छोरीहरु लगायत सम्पूर्ण परिवारजन र पार्टीपंक्तिप्रति पार्टीको तर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभयो ।


कमरेड थानीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पार्टीका स्थायी समिति सदस्य तथा पश्चिम ब्यूरो इन्चार्ज रामसिंह श्रीस, पार्टी पीवीएमहरु दिनेश शर्मा, पवनमान श्रेष्ठलगायत केन्द्रीय सदस्यहरु, जबस मोर्चाका नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।


२०१७ साल चैत्र १६ गते जन्मनु भएकी कमरेड चन्द्रा थानी पित्त थैलीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा २०७७ भदौ १७ गते भर्ना हुनु भएको थियो । उपचारको क्रममा आज २०७७ भाद्र २८ गते दिउँसो ४ः१५ मा उहाँको निधन भएको थियो । कमरेड चन्द्रा थानी अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय सहसचिव, इच्छुक साँस्कृतिक प्रतिष्ठानको कार्यकारी सदस्य, अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँले कम्युनिस्ट क्रान्तिकारी राजनीतिका साथै प्रगतिवादी साहित्यको क्षेत्रमा आफूलाई सक्रियतापूर्वक समर्पित गर्दै आउनु भएको थियो ।


भौतिक रुपमा उपस्थित हुन नसकेपनि सामाजिक सञ्जालबाट प्रगतिवादी साहित्यिक वृतका प्रायः लेखक, कवि तथा साहित्यकारहरुले क.थानीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


२०३६ सालको वाम विद्यार्थी आन्दोलनबाट राजनीतिमा आवद्ध हुनु भएकी कमरेड थानीले २०३८ सालमा नेकपा (चौम)को पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । त्यसबेलादेखि अविचलित रुपमा कम्युनिस्ट क्रान्तिकारी आन्दोलन तथा प्रगतिवादी साहित्यिक तथा साँस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आउनु भएकी कमरेड चन्द्रा थानी एक अथक जुझारु कम्युनिस्ट योद्धा हुनुहुन्थ्यो ।

फोटो : जय दाहाल