
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक प्रेस वक्तव्य जारी गर्दै बाढी, पहिरो तथा डुवानमा परेका पीडितहरुको खानपिन तथा बसोवासको तुरुन्त व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ र यसको दीर्घकालीन समाधानका लागि सरकार समक्ष जोडदार आवाज उठाउन पीडित जनसमुदायमा हार्दिक आव्हान समेत गरेको छ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रतीकले एक वक्तव्य जारी गर्दै यस्तो माग तथा आव्हान गरेका हुन् ।
१९ गते जारी वक्तव्यमा भनिएको छ, “विकासका नाममा गरिने जथाभावी सडक निर्माण, अव्यवस्थित बसोवास, पर्यावरण विनाश, जोखिमपूर्ण बस्तीको स्थानान्तरणमा वेवास्ता, ढुङ्गा, माटो, बालुवा, उत्खनन् तथा डोजर आतङ्क, तटबन्ध निर्माण गर्ने काममा उदासीनता, सीमा क्षेत्रमा भारतको मिचाहा प्रवृत्तिप्रति सरकारको मौनता आदि देशैभरि बाढीपहिरो तथा डुवान बढ्दै जानुका प्रमुख कारणहरु हुन् । मुख्यतः सत्ताको आडमा दलालहरुको चरम लापरवाही र त्यसप्रति सरकारको निरीहता यसमा जिम्मेवार छ । हाम्रो पार्टी यस प्रकारको सरकारी रबैयाको घोर विरोध तथा भत्र्सना गर्दछ ।”
बाढी तथा पहिरोमा परी बेपत्ता हुन पुगेका नागरिकहरुको खोजी तथा उद्दारमा खटिन निर्देशन दिंदै वक्तव्यमा भनिएको छ, “सिन्धुपाल्चोक, सङ्खुवासभा, तनहुँ, म्याग्दी, कालीकोट, बझाङ्, बैतडी लगायतका जिल्लाहरु यो वर्षको बाढीपहिरोका कारण अति प्रभावित हुन गएका छन् । यसै क्रममा झापादेखि कञ्चनपुर सम्मका तराइ–मधेशका अधिकांश जिल्लाहरु डुवानमा पर्नगई ठुलो मात्रामा धनजनको क्षति भएको छ । यस वर्षको बाढी, पहिरो तथा डुवानका कारण देशैभरि करिव ३०० जनाको मृत्यु, अन्दाजी १०० जना बेपत्ता र कैयौं जना घाइते भएका छन् । यस दुःखद घडीमा हाम्रो पार्टी मृतकहरुप्रति श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभ र मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ । साथै वेपत्ताहरुको खोजीगर्न सम्बन्धित जिल्ला तथा इलाकाका पार्टी कमिटीहरुलाई निर्देशित गर्दछ ।”
वक्तव्यमा बाग्लुङ ढोरपाटनमा गएको बाढी र पहिरोको बारेमा उल्लेख गर्दै भनिएको छ, “यसपालि मनसुनी वायु असारदेखिनै निकै सकृय रहँदै आएको छ । गएका वर्षहरुको तुलनामा यो वर्ष अत्यधिक वृष्टि भएका कारण देशभर बाढी, पहिरो तथा डुबानका घटनाहरु एकाएक बृद्धि भएका छन् । पुर्वदेखि पश्चिमसम्मका तराइ–मधेश, पहाड तथा हिमाली क्षेत्रका प्राय सबै जिल्लालाई यस वर्षको बाढी, पहिरो र डुवानले प्रभावित पारेको छ । बागलुङ्को ढोर पाटन सबैभन्दा पछि बाढीको चपेटामा परेको क्षेत्र हो । यही भदौ १७ गते राती पहिरोले त्यस क्षेत्रमा पर्ने भूजीखोला थुनिएपछि गएको बाढीमा परी १४ जनाको मृत्यु, ३८ जना वेपत्ता र जलविद्युतका पाँचवटा भवन, दुईवटा विद्यालय भवन र एउटा स्वास्थ्य चौकीसहित ११५ घर क्षतिग्रस्त भएको खबर छ ।”





























