भाद्र १८ काठमाडौँ,
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा भीषण पहिरो गएको छ । बुधबार राती १० बजे भुजिखोलाको शिर देउरालीबाट पहिरो आएको हो ।
पहिरोले ढोरपाटन नगरपालिका वडा नं. ९ का डुनेपनेरा, सुकराङ, सुकुरदुङ, वडा नं. ७ को दोगाडी र वडा नं. ८ को हुकोटमा थुप्रै घरगोठहरू बगाएको छ ।
प्रारम्भिक जानकारीअनुसार बाढीपहिरोका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्कविहीन भएको बताइएको छ ।
त्यस्तै, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्डेमा १ घर बगाएको छ भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्राविसमेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुलसमेत बगाएको छ ।
एक जनाको शव भने बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
एवम् प्रकारले ढोरपाटन घुम्न गएका गल्कोटका एक जना व्यक्तिसमेत बेपत्ता भएको स्थानीयले बताएका छन ।


भुजिखोलामा पहिरोले थुनिँदा खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगिठे बजार र खाल, खार, खर्वाङसम्म नदी तटमा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्राप्त जानकारीअनुसार ढोरपाटन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपक थापाले सेना, प्रहरीसहित आफूहरू यतिखेर घटनास्थलतर्फ जाँदै गरेकाछन् र ‘हामी अहिले घटनास्थलतिर हिँडेका छौँ, त्यहाँ पुगिसकेपछि जनधनको अनुमानित क्षतिबारे बताउन सक्ने छौँ ।’ भनेका छन् ।
यता, बागलुङका तर्फबाट प्रतिनिधि सभाका सांसद देवेन्द्र पौडेलले घटनास्थल आवश्यक उद्धारलगायतका काम गर्न गृहमन्त्रालयबाट टोली पठाउनेबारे समन्वय भइरहेको जानकारी दिएका छन् । उनले छिट्टै गृहमन्त्रालयबाट घटनास्थलमा टोली पुग्ने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर