वामदेव चर्चामा आउँदा बादलको घाँटीमा घण्टी !

वामदेव चर्चामा आउँदा बादलको घाँटीमा घण्टी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सरकार फेरबदलको हल्ला बढ्दै जाँदा उपाध्यक्ष वामदेव गौतम एकाएक चर्चामा आएका छन् । तर यसपटक पनि उनी साझा व्यक्तित्वका रुपमा आउन सकेका छैनन् । पार्टीका शीर्ष नेताहरुले आ–आफ्ना मानिसलाई काखी च्याप्न थाल्दा उनी फेरि पनि पार्र्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको पोल्टाका मानिस बनेर देखिएका छन् ।
वर्तमान अर्थमन्त्री युवराज खतिवडाको समयावधि सकिदै गर्दा उक्त स्थानमा पार्र्टी उपाध्यक्ष वामदेव गौतमलाई लगी उपप्रधानमन्त्री समेत दिइने सोच प्रचण्ड–माधव पक्षको देखिएको छ । तर सरकारको नेतृत्व गरिरहेका पार्र्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने समयावधि थपेर भए पनि उनै खतिवडालाई निरन्तरता दिने पक्षमा देखिएका छन् ।
वामदेवको विषयलाई लिएर मन्त्रीमण्डल हेरफेरको सुरुआतीमै समस्या सिर्जना हुन गएपछि यो प्रक्रिया अघि बढ्नेमा आशंका पैदा भएको छ । आन्तरिक पार्टी एकताका नाममा गृह, अर्थलगायतका मन्त्रालयमा हुन लागेको आन्तरिक बाँडफाँडको पहिलो गासमै ढुंगा लाग्नपुग्दा एकताको स्वाद नै हराउन पुगेको छ ।
दुईतिहाईको सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले प्रम ओलीले राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठेपछि पार्टी एकातिर ओलीको अल्पमत र अर्कातिर प्रचण्ड–माधव नेपालको बहुमतको खण्डहरमा देखा परे पनि ओलीका लागि यो कुचो लगाउनु पर्ने कसिंगर हावाले उडाइदिएसरह आनन्द दिलाएको थियो ।
तर प्रचण्ड र माधव नेपाल बालुवाटारमै पार्टी स्थायी समितिको वैठक बोलाएर ओलीको छायाँबाट पर जान आँट गरेनन् । बरु सूर्यपुत्र जुम्ल्याहा आश्विनी कुमारजस्ता भएर एकले अर्कालाई सार्वजनिक रुपमै सत्तोसराप गर्न रुची देखाए । पार्टीभित्रका मध्यमार्गी विचौलिया भने हस्ताक्षर संकलनका नाममा कहिले प्रचण्डको आँगनमा त कहिले ओलीको आँगनमा पुगेर चर्कोचर्को स्वरमा देउसी–भैलो खेलिरहे ।
नेकपाकै नेता रामकार्कीले सुंगुरको गोठ सफा गर्न गएका आफूहरु नै सुंगुरमा बदलिएको स्वीकार गरिरहँदा अर्का नेता लेखराज भट्टले आफू प्रचण्डको भैंसी नभएको स्पष्टीकरण दिइरहेका थिए । गर्दागर्दै त एकले अर्काको आँगन छाडेको र स्वयम् भैंसी फुकाएर रातारात अरुको गोठमा किलोदाम्लो सारिसकेको सगर्व घोषणा पनि गरिरहेका थिए ।
आफ्नो गोठमा भैंसी भरिभराउ देखेपछि प्रम ओलीले आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई ‘भैंसी किनेपछि जुम्राको के लेखो’ भनी सनक्क आँखा सन्काउँदै गर्दा आफ्नै काँखमा सिह्रानी लगाउनेहरुले ‘प्रचण्डको निर्णय क्षमता गुमिसकेको’ घोषणा गरेर गोठ अदलीबदली गरिरहेका थिए ।
यस्तो पृष्ठभूमिको साक्षी बनिरहेका त्राहिमाम प्रचण्ड आँखा चिम्लिएर ओलीको एमसीसी बटम लाइनमा अघि सारिएको एकसूत्रीय ध्रुवीकरणमा ल्याप्चे ठोक्न पुगेका थिए । पहलकदमी गुमेपछि मानिस परिस्थतिको हनुमान हुन पुग्छ । उसको अगाडि स्वर्ण लंका दहन गर्नुको विकल्प हुँदैन पनि ।
त्यसपछि पार्टीभित्रको समस्या समाधानका नाममा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय पार्टी एकता संयन्त्र निर्माण गरी नाटक मन्चन थालनी भयो । एकता संयन्त्रको प्रतिवेदन बुझेपछि ओलीले स्पष्टै भनेका थिए– ‘आखिर एमसीसी पारित नै गर्ने भए यत्रो लफडा केका लागि ? … खानु बाङ्गो मुखले !’
पार्टी एकताको प्रतिवेदन उपयुक्त दुई वाक्यमा संश्लेषण गरी आनन्दसँग खुट्टा हल्लाउँदै बसेका बेला अर्थमन्त्री खतिवडाको समयावधि सिद्धिनु र उपाध्यक्ष वामदेव गौतमलाई यस स्थानका लागि अघि सारिनु एकैसाथ भएपछि प्रम ओली झसंग भएका छन् । सरकार संचालनमा आफ्नो ‘प्रेरोगेटिभ राइट’ भएको दाबा गर्दै आएका ओलीमा यसपटक पनि टसमस हुने छाँट देखिदैन ।
उता प्रचण्ड–माधव पक्ष भने जसरी पनि गौतमलाई उपप्रधान तथा अर्थमन्त्री बनाइ छाड्ने ध्याउन्नमा लागिरहेको छ । अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालसहित झलनाथ खनाल पनि गौतमलाई नै सरकारमा लैजान एकमुख भएर लागिपरेका छन् ।
राष्ट्रिय सभामा हालसम्म पूर्ति नगरिएको एक सिटमा वामदेव गौतमलाई मनोनयन गरेर राष्ट्रियसभामा पुर्याई उपप्रधान तथा अर्थमन्त्रीको जिम्मा दिन प्रम ओलीमाथि दबाब बढिरहेको छ । यसका लागि आफू तयार रहेको उपाध्यक्ष गौतमले पनि स्वीकार गरिसकेका छन् ।
पार्टी पद्धति र प्रक्रियाअनुसार पार्टी सचिवालयको वैठक बसी निर्णय गराएर गौतमलाई राष्ट्रिय सभा सदस्यमा पठाइनु पर्छ । राष्ट्रियसभा सदस्य भएपछि मात्र गौतमको उपप्रधान तथा अर्थमन्त्री हुने ढोका खुल्ने छ ।
तर नेकपा भन्ने पार्टी अहिले राजनीतिक बिचौलियाको हातमा पुगेको छ । त्यसभित्र राजनीतिक बिचौलियाको चलखेल निकै प्रभावी छ । वामदेवलाई अर्थमन्त्रालयमा पठाएर ‘एमाले’लाई जुधाउन थालेको र गृह आफ्नै हातमा ‘माओवादी’ले लिन थालेको गुह्य कुरा ओलीले कानमा पारिदिएपछि वामदेवको आँखा गृहमन्त्री बादलमाथि मडारिन पुगेको छ ।
स्मरणीय छ पार्टीभित्र विवाद चुलिएकै बेला उपाध्यक्ष गौतमलाई ओलीले उनकै निवासमा पुगेर ‘उपयुक्त समयमा प्रधानमन्त्री बनाउने’ भनी कान फुकिदिएपछि गौतमले पार्टी एकताका आठ–बुँदा सार्वजनिक गरी ओलीको पलना भारी बनाएर प्रचण्ड–माधवको ढाड उति नै बेला सेकिदिएका थिए । पार्टी एकता संयन्त्रले पनि त्यही आठबुँदेवरिपरि प्रदक्षिणा गर्दै प्रतिवेदनका सबै पाना भरेर दुवै अध्यक्षलाई बुझाइसकेको छ ।
क्यारिम बोर्डको खेलमा स्ट्राइकरले गोटीमाथि सिधै प्रहार नगरी टंकी (रिबन कट) हानेर घुमाएर गोटी फसाए झैं अब खतिवडालाई छाडेर वामदेवरुपी वाण गृहमन्त्री बादलतिर सोझिएर गएको देखिन्छ । त्यसो त आइपर्दाका घडीमा बादलले आफूलाई साथ नदिएको भन्ने ओलीको गुनासो र प्रचण्डलाई कतै संसदीय रङगमञ्चमा बादलले आफूलाई ओझेलमा पार्ने त होइन भन्ने दुई भिन्न राजनीतिक रसायनबीच रिमिक्स हुन त जाँदैन ? दुई अध्यक्षबीच हुने लेनदेनमा तेस्रो पक्षको उपस्थिति आवश्यक नहुन पनि सक्छ । नेपाली उखान त्यसै बनेको छैन– ‘कति मरे बन्दुकैले, कति मरे स्वरले !’ तर यसको सहज पटाक्षेप हुन बाँकी नै छ ।