काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार ३०१ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् । उनका अनुसार काठमाडौंमा २३० जना, भक्तपुरमा २४ र ललितपुरमा ४७ कोरोना संक्रमित देखिएका हुन् ।
मंगलबार काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी २३२ कोरोना संक्रमित देखिएका थिए ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मंगलबार साँझसम्म काठमाडौंमा २ हजार ९ सय ५५, ललितपुरमा ४ सय ६३ र भक्तपुरमा तीन सय जनामा कोरोना पुष्टि भएको थियाे।

नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

२४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर