जन्म, बिबाह र मृत्यु मानवजातिको सिंगो जीवनका प्रकट तीन मूल चरण हुन् । यीमध्ये जन्म र मृत्यु जीवनको सुरुआत र अन्त्य मात्र हुन्, बीचको जीवन (बालापन, किशोर, युवा, बयस्क र बृद्ध) मानिसले सचेतन भोगगर्ने वास्तविक जीवन हो । यो कर्मशील जीवन पनि हो ।
जीवनका यी तीनै चरण हरेक समाजमा अवलम्बन गरिदै आएका संस्कार, संस्कृति र परंपरामा बाँधिएका हुन्छन् । यिनैले हामीलाई समकालिन समाजमा पारिवारिक, सामाजिक र समुदायिक बनाएका हुन्छन् पनि । तथापि संस्कारमा समयसापेक्ष लचकता, परिमार्जन, सुधार र अन्य समकालीन सामाजिक संस्कारसँग संगतिपूर्ण मेल हुन आएन भने त्यो केही पुस्तापछि स्वतः लोप भएर जान्छ ।  
हिन्दु संस्कृति अनुसारको मृत्यु संस्कार पनि यही दोबाटोमा उभिएको छ । यो मृत्यु संस्कार (काजक्रिया) निकै रुढीग्रस्त, पीडादायी र अव्यवहारिक पनि छ । विश्वका समकालीन संस्कारमा क्रिश्चियन, यहुदी, आर्यआदिका मृत्यु संस्कार समयसापेक्ष परिमार्जित र व्यवहारिक छन् । अबका दिनमा हिन्दुसंस्कारभित्र रहेका अव्यवहारिकतालाई हटाइनु जरुरी छ । विशेषतः मृत्युसंस्कारमा सुधारको खाँचो छ ।
वेद र वेदभन्दा प्राचीन कालमा मृत शरीर आजको जस्तो जलाउने चलन थिएन । गाड्ने चलन भएपनि पूर्ण रुपमा शरीर कुहिएपछि मात्र हड्डी नसड्ने भएकाले त्यसलाई गाड्ने परंपरा थियो । यसको अर्थ थियो– पृथ्वीबाट प्राप्त पञ्चमहाभूतले शरीर बनेको हुँदा मृत्युपछि उक्त शरीरको पृथ्वीमा बिसर्जन गरिनु पर्छ । त्यति बेला प्राण त्यागपछि पनि शरीर केहीदिनसम्म जीवितै रहेको मानिन्थ्यो । मानिसको मृत्युभएदेखि लगभग १३/१४ दिनसम्म शरीर कुहिएर बिसर्जित नहुँदासम्म शरीरका कोषिका बाँचिरहेको विश्वास गरिन्थ्यो । जनसंख्या अत्यन्तै कम भएकाले पनि मृतकप्रति अत्यन्तै अलापविलाप गरी भावनात्मकता प्रकट गरिन्थ्यो ।
आज हामीले मान्ने संस्कार लाखौं वर्षको परिस्करण, परिमार्जन, पुरानोको त्याग र नयाँको अबलम्बन सँगै आएको हो । मृत शरीरलाई केही घण्टाभित्रै जलाउने वा गाड्ने संस्कार त धेरै पछिमात्र प्रचलनमा ल्याइएको हो । वेदकाल र सोभन्दा पहिले लगभग १३/१४ दिनसम्मका शरीर पूर्णरुपमा कुहिएर विसर्जन हुँदासम्मका दिनमा विभिन्न प्रक्रिया गरिन्थे । त्यो पश्चिमा जगतमा पनि ब्याप्त थियो । कथा र उदाहरणका रुपमा ट्रोयकी राजकुमारी हेलेनको सौन्दर्य, उनको प्राप्तिका लागि लडाइँ र उनको मृत्युपछि लाशसँगको भोगविलासका वर्णनलाई नियाल्न सकिन्छ । मृत भनिएको शरीर जीवितै  रहने सक्ने विश्वासले नै प्राचिन मिश्रमा गिजाको पीरामिडजस्ता गगनचुम्वी पीरामिड बनाइएको भौतिक इतिहास हाम्रासामु साक्षी छ ।  
प्राचीन कालमा १३/१४ दिन बीचमा शरीर पूरै कुहिएर नजाँदासम्म वा कुनै पनि कोषिका रातो रहेसम्म शरीरको त्यो भाग जीवितै रहेको मानिन्थ्यो । अर्थात् मृत्यु भनेको शरीर पूरै सडिसक्नुपर्ने कुरालाई मानिन्थ्यो । तात्कालीन भारत वर्षमा यो संस्कार व्यापक प्रचलनमा देखिन्छ । इन्दु घाँटी सभ्याताको उत्खनन्मा कतिपयको समांश (मासुसहितको शरीर) र कसैको मासु कुहाएर जमिनमा विसर्जन गराई कंकालमात्र पुरिएको उत्खनन्बाट पाइएको छ । कंकालमात्र खाल्डोमा पुरिदिनु भनेको १३/१४ दिने प्राचीन मृत्यु संस्कारको अवशेष हो ।
आधुनिक समाजमा मेडिकल डाक्टरले ‘क्लिनिकल डेथ’ घोषणा गरिसकेको मानिसलाई भेन्टिलेटरमा अक्सिजन दिएर राखिरहने हो भने त्यो शरीर कैयौं महिना र वर्षसम्म पनि जीवितै रहन्छ । मृत्युपछि पनि २४ देखि ७२ घण्टासम्म मानिसका विभिन्न अंगहरु जीवितै रहने हुनाले तिनलाई प्रत्यारोपण गरिन्छ । यो विज्ञानले व्यवहारतः प्रयोगमा ल्याएको यथार्थता हो । यसले पनि मानिसको शरीरको मृत्यु प्राण जाने बित्तिकै पूर्णरुपेण भैहाल्छ भन्ने देखाउँदैन । शरीरभित्रका विभिन्न प्रणालीहरु आआफ्नै किसिमले ढिलोचाँडो वा क्रमशः मर्छन् भन्ने प्राचीन तथा वेद कालीन संस्कारगत मान्यतामा सत्यता छ । यो बढी भौतिकवादी पनि छ ।
भौतिक शरीर वा शरीर विज्ञानसँग जोडिएको शास्त्र योग शास्त्र हो । योगशास्त्रका अनुसार मूल प्राण त्याग गएको १० दिनपछि मात्र शरीर पूर्णतः मृत हुन्छ । यो मान्यताअनुसार मानिसको मृत्यु अंशअंशमा हुँदै जान्छ । योगशास्त्रको वास्तविक मान्यताअनुसार शरीरमा पाँच प्राण हुन्छन् : समान (हड्डी), मूल प्राण (मुटु), उदान (घाँटी), अपान (जनेन्द्रीय स्थान) र ब्यान (मासु र बोसो) ।
मानिसको स्वाभाविक मृत्युहुँदा सुरुमा समान अर्थात् हड्डीको तापमान घट्दै जान्छ । यो बेलामा हामीले पैतला चिसिएको, नाडीमा नसा नभेटिएको भनी मृत्यु सुरु भएको संकेत गर्छौं । समान प्राणको केन्द्र नाभिस्थानमा रहेको मूल हड्डीमा भेटिन्छ । हामीले गानो गएको भनेर छाम्ने यही धड्कन हो । भूलवस हामीले पेटमा गानो गएको भन्छौं, तर त्यो हड्डीको धडकन हो । यो प्राण मृत्यु सुरु भएको बढीमा आधा घण्टाभित्र गइसक्छ ।    
त्यसपछि मूलप्राण (मुटु) को धड्कन क्रमशः कम हुँदै जान्छ । यो प्राण मृत्यु सुरु भएको सरदर एक घण्टाभित्र जान्छ । यति बेला छटपटाहट बढी हुन्छ र चाहेको वस्तु खान खोज्ने र इच्छाइएका वा वरपर नदेखिएका आफन्त भेट्न खोज्ने भावना प्रवल भएर आउँछ । आँखा निकै तिरमिर भैरहेका हुन्छन् । शरीरका अन्य जीवित प्रणाली जस्तै नसा (गिदी), श्वासप्रश्वास, जनेन्द्रीय र मांसपिण्ड त्यसपछि पनि जीवितै रहने भएकाले यिनीहरुले मुटुले जीवित छँदा पठाएको रगतलाई मुटुतिर फर्काइरहन्छन् र पुनः तान्छन् पनि । जस्तो समुद्रमा छाल उठेर आउने र फर्कने प्रक्रिया हुन्छ, त्यस्तै मुटुतिर रगत फर्कने र उल्टो चल्ने प्रक्रिया सुरु हुन्छ । मुटु भने स्वचालित हुन छाडिसकेको हुन्छ । जस्तो सिंगो रुखबाट छुट्याएर विरुवाको डालो काटेर रोपेपछि पल्हाउँछ, ढालेका कुनैकुनै रुखले जरा हाल्छ, पात पल्हाएको देखिन्छ, केराको बोटको माथिल्लो भाग काटिए पनि पसाएको देखिन्छ, यस्तै मुटुले स्वचालित रुपमा काम गर्न छाडे पनि अरु सिस्टमले जबर्जस्त धक्का दिएर मुटुलाई ब्युँझाउन खोजिरहेका हुन्छन् । अरु सिस्टमका काणले मुटुमा केही लामो समय रगत आउने जाने भैरहन्छ ।      
यसलगत्तै उदान (घाँटी) को प्राण जान्छ । ‘खुटुक्क’ आवाज आउँछ । यसलाई हामी ‘बखत बस्ने’ वा ‘जिभ्रो खस्ने’ भनी इंगित गर्दछौं । यसपछि मानिस बोल्न र देख्न सक्दैन । यो प्राणजाँदा मानिसको गिदीमा ठूलो झड्का वा कम्पन पैदा हुन्छ । फलतः गिदी जीवितै रहे पनि यसले शरीरलाई निर्देशन गर्ने क्षमता गुमाउँछ । यो प्राण दिनभर वा रातभर रहेर लगभग १२ घण्टाको समयभित्र जान्छ । यो प्राण समान र मूलप्राणभन्दा ढिलो जाने भएकाले हामीले आफन्त आउँछन् कि भनेर पर्खिएको भनी लख काट्ने गर्दछौं । मुटुमा पनि अरु सिस्टमले चलाउने र उदान–प्राण आफैमा जान पनि १२ घण्टाजति समय लाग्ने हुनाले मानिस, अपवादका रुपमा, ठीक यहीनेरबाट बौडिने वा प्राण फर्किने पनि हुन सक्छ । प्राचीन कालमा तान्त्रिकहरुले यही विन्दुबाट प्राण फर्काउन कोसिस गरेको पाइन्छ ।
अपान–प्राण मानिसको शरीरबाट निस्कन १८ घण्टा बराबरको समय लाग्छ, लगभग एक दिन एक रात भनौ । यो प्राण जाँदा कसैकसैको गुदाबाट गुहु निस्कन पनि सक्छ । पुरुष भए लिंगबाट र महिला भए योनीबाट चिप्लो पदार्थ बाहिर आएको हुन्छ । यसै कारणले पहिलेपहिले सिंगो मृत शरीर पूरै नदीमा नुहाइदिने प्रचलन थियो, आजभोलि गोडामात्र पानीमा डुबाइन्छ र जल छर्किइन्छ । अपान–प्राणको यो भागलाई योगशास्त्रमा भूलोक, मूल र सर्पकुण्डलीका नामले चिनिन्छ । चितामा सिंगो शरीर खरानी भएपछि मात्र यो जल्छ वा गाडेमा पनि धेरैपछि मात्र कुहिन्छ ।        
सबैभन्दा पछिसम्म रहने प्राण भनेको ब्यान अर्थात् मांसपिण्डमा रहेको प्राण हो । यो प्राण अन्य प्राणको मृत्यु भएको क्षणदेखि १० दिनसम्म रहन्छ । शरीरको सम्पूर्ण मासु नकुहिँदासम्म यो प्राण रहन्छ । यो प्राणले मुटुबाट रगत सञ्चालन हुन छाडे पनि आफ्ना निकट रहेका कोषिकाहरु जोडेर रक्त सञ्चारको ससाना प्रणाली निर्माण गरी शरीर जीवित बनाउन हरदम प्रयत्न गरिरहन्छ । यसैका कारण मरेको शरीरमा ५ देखि ७ दिनसम्म नङ, कपाल र दाह्री बढिरहन्छ ।
कहिलेकाहीं यो प्रक्रिया आफ्नै आँखाले खसीबोकाको काटिएको मासुको टुक्रा कैयौं घण्टापछि तातो तेलमा राखेर पकाउँदासम्म पनि चलिरहेको सजीव रुपमा देख्न सकिन्छ । यसले पनि ब्यानप्राण सितिमिति जाँदैन भन्ने देखाउँछ । वनस्पतिमा यो ब्यान प्राण ससाना झारपात (न्युरो, जेङट घाँस) टिपे वा काटेको केही महिनासम्म र ठूला रुख बर वा पिपलमा चार–पाँच वर्षसम्म रहिरहन्छ । जनस्पतिमा सबैभन्दा बढी ब्यान प्राण रहने सालको ‘गाब’ वा ‘दार’ हो । यो पुस्तौं रहनु, नकुहिनु र कीराले नखानुमा व्यानपाणको नै कमाल हो ।  
यही भौतिक मान्यतालाई आधार बनाएर प्राचीन कालमा मरेको मानिसको शरीरलाई राखेर दश दिनसम्म प्रार्थना गरी पकाएको अन्न वा फलफूल चढाउने गरिन्थ्यो । दश दिनपछि ११ दिनमा प्रार्थाना गरेको स्थानमा खाल्डो खन्ने, १२ दिनमा खाल्डोमा फेरि प्रार्थाना गर्ने र १३ दिनमा खाल्डोमा शरीरको कंकाल लगेर विधिपूर्वक गाडिने गरिन्थ्यो । त्यतिबेला जलाउने प्रचलन थिएन । त्यति बेला अहिलेजस्तो स्वर्ग गयो कि नर्क भन्ने पनि थिएन र स्वर्गनर्कआदिका कथा लेखिएका गरुड पुराण पनि अस्तित्वमै थिएनन् ।
शरीर पञ्चमहाभूत तत्व (माटो (पृथ्वी), जल, आकाश, अग्नि र वायु) बाट निर्माण भएकाले मृत शरीरलाई यही पञ्चमहाभूत तत्वमा बिलिन हुन दिनु पर्छ भन्ने मान्यता थियो । समयक्रमसँगै पछि आएर विशेषतः महाभारत युद्ध नीति र लडाइँ, हताहती तथा तिनको अन्त्येष्टि गाड्दा स्थान अभाव, दूर्गन्ध, महामारी, १३ दिनसम्मको कुराइ, उता लडाइँ जारी आदिको मनोविज्ञान निर्माण गरेर मृत शरीर जलाउने र तीन दिनसम्म केवल जलअर्पण गर्ने संस्कार प्रचलनमा ल्याइयो ।
महाभारतको कथाअनुसार युद्धसञ्चालक श्रीकृष्णले संस्कार, रितिथिति, परंपरा मानिसले निर्माण गरेकाले त्यसलाई बदल्न सकिन्छ भनी गीतामा उपदेश दिएको र लागू गरेको वर्णन छ । वेदपछिका पुराण, उपनिषद्हुँदै वर्णाश्रम व्यवस्थासम्म आउँदा १३ दिन कुहाएर कंकाल गाड्ने प्राचीन मान्यता र द्वापरयुगको महाभारतपछि जलाउने मान्यता दुवैलाई घालमेल गरेर पण्डितहरुले आफ्नो रोजगारीका लागि १३ दिनसम्म काजक्रिया गर्ने, पिण्ड दिने, नयाँ मानिस बनाउने, पितृमोक्ष दिलाउने, पितृपाप कटाउने, सकेजति दानदक्षिणा गर्ने संस्कारको विकास गराए । यसलाई संस्कार मानिए पनि यो मूलतः यजमान गरेर जीविकोपार्जन गर्ने ब्राह्मणको रोजगारी र दिनचर्यासँग जोडिएर यसको विकास भएकोमा कुनै शंका छैन । जानीमानी आएको प्राचीन कालमा चलिआएको संस्कारलाई उल्टो बनाई मृत शरीर नै नरहेका बखत १३ दिने काजक्रिया गराउन थालेपछि ‘जताजता बाहुन बाजे, उतैउतै स्वाहा’ भन्ने उखान प्रचलनमा आएको देखिन्छ । यो काम जनमानसमा उल्टो र अप्ठ्यारो लागे पनि गरुडपुराण लेखेर पाप र धर्म, स्वर्ग र नर्कका कुरासँग जोडिदिएपछि तर्कसंगत खण्डन गर्नुभन्दा पनि सबै चूप लागेर अनुशरण गर्न बाध्य पारिएको खुलासा हुन्छ । किनकि यो बेलामा कर्मभन्दा पनि जातका आधारमा ब्राह्मण बनाएकाले बाहुनको ठूलो जनसंख्या र तिनका परिवार पहिलेको जस्तो ‘ओम् भिक्षाम् देही !’ भनी भिक्षा मागेर जीवन निर्वाह गर्ने अवस्था नै रहेन ।    
हातमा गरुडपुराण लिएर यसैलाई उल्टोपाल्टो गरेर विभ्रम सिर्जना गर्दै उल्टै पहिलो दिनको पिण्डबाट टाउको बन्ने, दोस्रोबाट ज्ञानेन्द्रीय अंगहरु बन्ने, तेस्रो दिनको पिण्डबाट घाँटी, कुम र हात बन्ने, चौथोबाट नाभी लिंग र गुदा बन्ने, पाँचौबाट साँप्रा र खुट्टा बन्ने, छैठौंबाट चेतना आउन थाल्ने, सातौंबाट नाडी चल्न थाल्ने, आठौंबाट दाँत, रौं र नङ बन्ने, नवौं पीण्डबाट वीर्य बन्ने र दशौं दिनको पिण्ड दानपछि भोक प्यास जाग्ने भनी एघारौं, बाह्रौं र तेह्रौं दिनमा सुल्टो काम गर्न भनिएको छ । यसमा ‘पुनर्जन्म’का कुरालाई सारका रुपमा प्रस्तुत गरिएको छ । १३ दिने काजक्रियाले न त प्राचीन शरीर विसर्जनको मान्यतासँग मेल खान्छ, न त गाडेर वा जलाएर नष्ट गरिदिने रामायण कालीन र मूलतः जलाउने र तीन दिनसम्म संझनामा जलअर्पण गर्ने महाभारतकालीन मान्यतालाई पछ्याउँछ !
प्राचीनकालीन १३ दिन शरीर कुहिँदासम्म पर्खनु पर्ने मान्यता र तदनुरुपको प्रक्रिया मृत शरीर जलाएर वा गाडेर अन्तेष्टि गरिने प्रचलन ल्याएपछि एकै दिनमा समाप्त भैसक्छ । के त्यसो भए संस्कार नै नगर्ने त ? श्रीकृष्णका मुखारविन्दबाट गीतामा भन्न लगाइएजस्तै वर्तमान समाज र समय सापेक्ष बनाएर संस्कार निर्माण गर्ने । त्यसका लागि ‘१३ दिने श्राद्ध’को ठाउँमा ‘३ दिने श्रद्धा’ को संस्कार उपयुक्त हुन्छ । ‘श्रद्धा’ शब्द र प्रक्रियालाई नै अपभ्रंश गरेर पछिल्ला यजमानी शास्त्रहरुमा ‘श्राद्ध’ भनिएको छ । टाउको टेकाएर जबर्जस्त हिंडाइरहिएका यी शास्त्रहरुलाई सुल्टो पारी इतिहाससम्मत तरिकाले खुट्टाले टेकाएर हिंडाउनु जरुरी छ । त्यसैले ‘३–दिने श्रद्धा’को संस्कार उपयुक्त हुन आउँछ ।
पहिलो दिन दाहसंस्कार, दोस्रो दिन भाइबन्धु र आफन्तजन तथा छरछिमेक बीच समवेदना आदानप्रदान र तेस्रो दिनमा श्रद्धान्जली सभा गरिनु वेश हुन्छ । यी दिनमा इच्छाअनुसार दान, ब्राह्मण, चेलीबेटी, ज्येष्ठ नागरिक तथा गरीब भोजन वा विद्यालय, समाज वा संस्थामा मृतकका नाममा कोष खडा गरिनु राम्रो हुन्छ, त्यसो गरिदै पनि आएको छ । यसलाई आमजनताका लागि नयाँ संस्कारका रुपमा स्थापित गर्नु बढी श्रेयस्कर हुन्छ । बदलिंदो जीवन पद्धतिसँगै संस्कारमा बदलाव वा सुधार ल्याउनु पर्छ । यसमा कपाल खौरिने, पिण्ड दिने, कोरा बार्ने आदिइत्यादि अनिवार्य हुँदैन ।
अबको जमानामा मानिस रोजगारीका लागि विदेश जाने, घरमा कोही पनि नहुने, सबै जागिरे हुने, समय नपाइने, भनेको जस्तो निष्ठकाष्ठा पनि नपुग्ने, विज्ञान र प्रविधिले मानिसलाई आध्यात्मिक विभ्रमबाट बाहिर ल्याइसकेको हुने, क्रिश्चियनलगायतका अन्य धर्मको प्रभाव बढ्दै गैरहने तर हाम्रा संस्कार उही रुढीगत भैरहेका बेला ‘म त संस्कार पो मान्छु’ भन्ने नाममा प्राचीन प्रचलनको मान्यता र इतिहास नै उल्टो बनाइएको ‘अमर्यादित’ र ‘बिटुलो’ काम गर्नुभन्दा यसमा समयसापेक्ष सुधार गरी अघि बढ्नु जरुरी भएको छ ।      
वेदले यत्ति भन्छ– ‘मनुर्भव’ अर्थात् ‘तिमी मानिस हौ, मानिस नै हुन सिक ।’ यसको अर्थ हो, मानिस देवता वा राक्षस दुवै होइन । मानिस मानिसै हो, पृथ्वीको प्राणी हो । त्यो न त स्वर्ग जान्छ, न नर्क नै । शास्त्रअनुसार पनि स्वर्ग देवताको हो, नर्क राक्षसको हो । मानिसलाई कसले बस्ने बास दिन्छ स्वर्ग वा नर्कमा ? यही मानव लोकमै संयुक्त राज्य अमेरिकाले आप्रवासीलाई दिएजस्तो ‘ग्रिन कार्ड’को व्यवस्था पनि त छैन होला स्वर्ग र नर्कमा ! त्यसैले मतिभ्रममा रमाएका मनुष्य ! तिमी जन्मियौं, अवश्य मर्छौ । विज्ञानले पनि यो कुरा स्वीकार गर्छ ।
तिमी राक्षस नै होइनौ, केको नर्क जानु ? तिमी देवता हुनै सक्दैनौ, अनि केको स्वर्गतिर ताक्नु ? त्यसैले ऋग्वेदमा मनुष्य बन्न, यजुर्वेदमा मनुष्य हुनुका नाताले बाँच्दासम्म कर्म गर्न, सामवेदमा रामरमाइलो, रसरंग र साथीसंगीसँग संगीतमा झुम्न, समाज बनाउन र अथर्ववेदमा कामलाग्ने जति पैसा कमाउन, बुढेसकालमा औषधिमूलो गर्न, शरीरको ख्याल गर्न सिकाइएको सकारात्मक कुरा मनन गर्नु नै उत्तम हुन्छ । मानिसलाई देउता वा राक्षस हुने, स्वर्ग वा नर्क जाने छुट नै छैन । बस् जुनी भुक्तनु छ, सकेमा समाजले स्मरण गर्नसक्ने असल काम गर्नु उत्तम हुन्छ । धर्मशास्त्र अनुसारै पनि मानव भएर मानवता गुमाई ‘देवत्व’ वा ‘दानवत्व’ खोजीमा लाग्नुजस्तो हास्यास्पद र मूर्खतापूर्ण कुरा अरु केही होला ? फगत मृगतृष्णा !!
हाम्रै संस्कार निर्माणको इतिहास राम्ररी जरैसम्म पुगेर अध्ययन गरौं । राम्रा कुरा लागु गरौं, नराम्रा कुरा फ्याँकौं । धर्मशास्त्रमा साक्षात देवता मानिएका श्रीकृष्णले महाभारतको गीतामा स्वयम् भनेका छन्– संस्कार मानिसले बनाएकाले यसलाई फेर्न, बदल्न वा नयाँ निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर