एमएसओले ग¥यो नेपालमा भारतीय न्युज च्यानलहरु बन्द गर्ने निर्णय

प्रकाशित मिति : २०७७ असार २६

काठमाडौं । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी योजनाबद्ध निरन्तर नेपालको बारेमा भ्रामक प्रचारबाजी गर्न थालेपछि नेपालमा भारतीय न्युज च्यानलहरु बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताएका छन् ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् । केबल अपरेटरहरुलाई सरकारले आग्रह गर्दा जुनसुकै बेला विदेशी च्यानलको प्रसारण रोक्न सक्छ ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताए ।

भारतीय टिभी च्यानल जी न्यूजले प्रधानमन्त्री केपी शर्मा र चिनियाँ राजदूतलाई जोडेर आपत्तिजनक सामग्री प्रकाशित गरेपछि भारतीय मिडियाको चौतर्फी विरोध हुँदै आएको छ ।

सोही सामग्रीलाई लिएर प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले पनि कडा आपत्ति जनाएको छ । भारतीय मिडियाले पत्रकार आचारसंहिता विपरित सामग्री प्रशारण गरेपछि केही केबल अपरेटरहरुको बैठकले स्वतस्फूर्त रुपमा भारतीय न्यूज च्यानल बन्द गर्ने घोषणा गरेको बताइएको छ ।