बाढी पहिरो अपडेट : कास्की, गुल्मी, लमजुङ र जाजरकोट, म्याग्दीमा १२ जनाको मृत्यु, ४३ बढी बेपत्ता

प्रकाशित मिति : २०७७ असार २६


काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिएका छन् । ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् । धौलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा परी धौलागिरि–६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवारमा मात्र कम्तीमा ७ जना बेपत्ता भएका छन् । पहिरोले बस्तीसँग यातायात सम्पर्क विच्छेद भएकाले कति क्षति भयो भन्ने अझै यकिन हुन सकेको छैन । पहिरोमा फसेकाहरुको उद्धार समेत हुन सकिरहेको छैन ।
त्यसै गरी मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ तथा भारवाङमा गएको पहिरोमा परी सोमनाथ शर्मा पौडेलकी पत्नी विष्णु शर्मा (३५) र इच्छा पौडेल (५) सहित कम्तीमा ८ जना बेपत्ता भएका छन् ।

पहिरोमा मराङको घन्टवाङ र मालिकाको बिममा थुप्रै व्यक्ति बेपत्ता हुनुका साथै ३० जनाभन्दा बढी फसिरहेको जानकारी रहे पनि खराब मौसमका कारण उद्धारका लागि हेलिकोप्टर उड्न नसकेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले बताएको छ ।

त्यसै गरी बाढीका कारण गलेश्वरस्थित राघुघाट खोलाको बेलीब्रिज बगेको छ । पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ । रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अब यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएका छन् ।

त्यसैगरी जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती गएको पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । बिहीबार राती अविरल वर्षा पछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो ।


पहिरोमा पाहुना आएकासहित हराएका १२ मध्ये एकजनाको शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । अन्य ११ जना पहिरोमै पुरिएको आशंका गरिएको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन । पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीसहित उनकी श्रीमती ५० वर्यीया पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षका छोरा अर्जुन सार्की बेपत्ता भएका छन् ।

त्यस्तै ३८ वर्षीया कलु सार्कीसहित उनकी छोरीहरु १४ वर्षीया तिर्खा र ११ वर्षीया मला तथा ६ वर्षीय छोरा सुभास वेपत्ता भएका छन् । त्यस्तै कलु सार्की अर्थात दिदीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की र १८ वर्षीय विरेन्द्र सार्की बेपत्ता भएको बताइएको छ । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको छ । घटनामा उद्दार र राहतको काम हुन सकेको छैन ।

यता अबिरल वर्षाका कारण पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बिहीबार राती गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । पोखरा १८ सराङ्कोटस्थित गोठादीमा राती करिब २ बजे पहिरो गई ५० वर्षीय टंकबहादुर थापा मगरको घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।

थापासहित श्रीमती र दुईजना नाती नातिना र एकजना जन्मदिन मनाउन आएका पाहुनाको मृत्यु भएको मृतक टंकबहादुरका साइला दाजु सोमबहादुरले जानकारी दिए । टंकबादुरकी जेठी छोरी पिकीको बिहीबार जन्मदिन थियो । घाइते ५ जनामा मनिपाल शिक्षण अस्वताल र एकजनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यसै गरी पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा पहिरोले पुरिदा ७० वर्षीय भिमकली अधिकारी र पोखरा २६ लेखनाथमा पहिरोले घर पुरिँदा दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले बताएको छ । यसैगरी पोखरा १८ सिमलटुँडामा गएको पहिरोले स्थानीय चन्द्रबहादुर मगरको घर पुरिँदा चन्द्रबहादुर उनकी श्रीमती शान्ति र छोरा सुशान घाइते भएका छन् । अविरल वर्षाको कारण पोखराको रामघाटस्थित सेती नदी थुनिदा सुकुम्बासी बस्ती डुवानमा परेपछि बिहीबार राति नै सुरक्षाकर्मीले उद्धार गरेका थिए ।


उता बिहीबार रातिको भीषण वर्षापछि गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको हो ।

उनीहरुलाई उद्धार गरी राति नै लमजुङ जिल्ला सामुदायिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी गंगाबहादुरले बताए । बिहीबार राति साढे ८ बजेदेखि भीषण वर्षा भएको बेंसीसहरको सातबिसे क्षेत्रमा राति १० बजेतिर पहिरो गएको प्रहरीले जनाएको छ ।

घरमा दीपकका आमाबुवा र छोरी पनि बस्दै आए पनि बिहीबार राति भने उनीहरु आफन्तकोमा गएको प्रहरीले बताएको छ । दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घरदेखि करिब ५० मिटर माथिबाट पहिरो बग्दै गरेको थाहा पाएपछि घाइतेले हारगुहार गरेका थिए ।

त्यसैगरी, गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहेका छन् ।

गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु भएको हो ।

बाढी, पहिरो र डुवानमा परी नागरिकहरुले अकालमा ज्यान गुमाउँदै गर्दा र सयौं परिवारहरु विस्थापित हुँदै गर्दा पीडितहरुको यथाशिघ्र उद्दार र राहतमा सरकारले ध्यान दिएको देखिएको छैन । स्थानीय तह, प्रदेश र संघीय सरकारका विभिन्न निकायहरुको सक्रियता र संवेदनशिलताप्रति उदासिन देखिएको पीडितहरुले गुनासो गरिरहेका छन् ।