देशैभर बाढी, पहिरो र डुवानको जोखिम बढ्यो, पोखरामा ४ जनाको मृत्यु, म्याग्दीमा ९ जना बेपत्ता, सिन्धुपाल्चोकमा २० जना अझै वेपत्ता

प्रकाशित मिति : २०७७ असार २६


काठमाडौं । देशैभर अविरल वर्षाकाका कारण बाढी, पहिरो र डुवानको जोखिम बढेर गएको छ । जलविज्ञहरुका अनुसार आगामी एक हप्तासम्म बाढी तथा पहिरोको उच्च जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलका अनुसार विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लामा यस अवधिमा बाढी र डुवानको जोखिम उच्च छ ।

जलविज्ञ पोखरेलका अनुसार तत्काल नारायणी र यसका सहायक मस्र्याङ्दी, कालीगण्डकीलगायत नदीमा बाढीको बहाव सतर्कता तह पुग्न लागेको छ भने बढ्दो क्रममा छ । यस्तै चितवनको रिउ खोला क्षेत्रमा भारी वर्षा भइरहेकाले बाढीको जोखिम देखिएको छ भने नवलरासीका सबै साना नदीमा बहाव उच्च भएको छ । त्यहाँ अहिले अति भारी वर्षा भइरहेको छ ।

यस्तै प्रदेश ५ को तराईका सबै जिल्लामा पछिल्लो ६ घण्टादेखि पानी परिरहेको छ, त्यसकारण त्यहाँका खोला नदीमा बहाव उच्च छ । यतिबेला कैलाली, कञ्चनपुरका नदी खोलामा पनि बाढीको बहाव उच्च रहेको छ ।

उनका अनुसार आगामी २४ घण्टासम्म प्रदेश १ र २ को तराईका सबै जिल्ला, बागमतीको मध्य पहाडी भेग, गण्डकी प्रदेशमा पनि बाढी तथा पहिरोको जोखिम देखिएको छ ।

यसैबीच, अविरल वर्षासँगै खसेको पहिरोले बिहीबार म्याग्दीमा पाँच घर पुरिएका छन् भने ९ जना बेपत्ता छन् । एउटा बेलिब्रिजसमेत भत्किएको छ ।
धौलागिरि गाउँपालिका–६ मराङको घन्टीवाङबाट खसेको पहिरोले रिखाका भीमबहादुर जुग्जाली र धनबहादुर जुग्जालीका सहित चार घर बगेका छन् । पहिरोमा भीमबहादुरको परिवारका चार र धनबहादुरको परिवारका तीन जना बेपत्ता छन् । त्यस्तै मालिका गाउँपालिका–७ बिमको दुलेमा सोमनाथ पौडेलको घर बग्दा दुई जना बेपत्ता भएको स्थानीयले बताए । पहिरोले त्यहाँको शिव आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ ।वडाध्यक्ष राजाराम सुवेदीका अनुसार पहिरोले घन्टीवाङको माथिल्लो खण्डमा १३ र तल्लो खण्ड रिखाका ४ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले पहिरोमा केही घर पुरिएको र मानवीय क्षतिको जानकारी आए पनि संख्या यकिन भइनसकेको जनाएको छ । त्यसै गरी राहुघाट खोलामा आएको बाढीले कटान गर्दा बेनी–जोमसोम सडकको गलेश्वरस्थित राघुघाट खोलामाथिको बेलीब्रिज बगाएको छ । पुल बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ । रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अब यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएका छन् ।

त्यसैगरी, अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखरा–१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्र पनि डाकिएका थिए । पहिरोमा परेर अन्य ६ जना घाइते भएको र उनीहरूलाई मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसै गरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् ।
त्यस्तै अविरल वर्षापछि बाढी र पहिरोले भोटेकोसीको सतहसँगै तटीयक्षेत्रमा रहेको बाह्रसिबे नगर जम्बु, सिरिसे खाग्दल बजार सबै बुधबार मध्यरातमा कटानमा परेपछि स्थानीय प्रभावित बनेका छन् । जम्बु वरिपरिसम्म बाढीले क्षतविक्षत बनाएपछि २ दर्जनभन्दा परिवार विस्थापित बनेका छन् ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनी भाग, बाह्रबिसे इप्रका चौकी छेउ, खाग्दलदेखि जम्बु, बजारसम्मको वरिपरिका सडक र पुल सबै खोलाले बगाएपछि यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

काभ्रे र एल्मो ठाडो खोलाले थुनेपछि बाह्रबिसे नगर वडा ५ गाती जम्बु बजारका १६ जना बेपत्ता भएका छन् । ठाडो बर्कुटे खोलाले बगाएर २ घर भोटेकोसीमा खस्दा भोटेकोसी गाउँपालिका वडा ५ बर्कुटेका एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार बुधबार राति साढे १२ बजे जम्बु र खाग्दल, बर्कुटेका भोटेकोसी बाढीको कटानमा परेपछि ३६ घर बगेका छन् । हालसम्म जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी निहानाको मात्रै शव फेला परेको छ । अझै २० जना पत्ता बेपत्ता छन् । उनीहरुको सेना ,प्रहरी र स्थानीय मिलेर खोजी भइरहेको छ । जम्बु बजारका ३ र बर्कुटेका २ वटा घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ । जसमा १ जना ह्यान्स अस्पतालमा उपचाररत छन् भने ४ जना काठमाडौं उपचारर्थ विभिन्न अस्पताल लगिएको छ ।