शुल्क असुली र एमसीसीको विरोधमा अखिल (क्रान्तिकारी)ले ग¥यो विरोध प्रदर्शन

प्रकाशित मिति : २०७७ असार २२

- रनसुर महतरा


काठमाडौं । अनलाइन कक्षा सञ्चालनको नाममा निजी विद्यालयहरुले जथाभावी विद्यार्थी तथा अभिभावकसँग शुल्क असुली गरिरहेको भन्दै अखिल (क्रान्तिकारी)ले आइतबार विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शनमा अमेरिकी साम्राज्यवादी परियोजना एमसीसी सम्झौता खारेजीको पक्षमा समेत चर्को नाराबाजी गरेको थियो । लकडाउन अवधिभरको शुल्क असुली बन्द गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगायतका नारा लेखिएका प्लेकार्डसहित गरिएको प्रदर्शनको क्रममा कोणसभा समेत गरिएको थियो ।


काठमाडौंको माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले सम्बोधन गरेका थिए । उनले राष्ट्रघाती एमसीसी सम्झौताको समयावधि नथप्न र खारेज गर्न, निजी स्कूलहरुले लकडाउन अवधिमा लिएको शुल्क फिर्ता गर्न, जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न, पिसीआर परीक्षणलाई तीव्र पार्न माग गर्दै मन्तव्य राखेका थिए ।

विरोध कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय सचिव सुर्य कार्कीले गरेका थिए । कार्यक्रममा विद्यार्थी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।