खोकनाका किसानमाथि गरिएको प्रहरी दमनको क्रान्तिकारी माओवादीले ग¥यो घोर विरोध (वक्तव्यसहित)

फास्टट्रायकको डिपीआर तुरुन्त सार्वजनिक गर्न, जिरो प्वाइन्टलाई अन्यत्र सारी खेतियोग्य जमीनको संरक्षण गर्न र विभिन्न भौतिक संरचनाहरुको निर्माण गर्दा सरोकारवाला जनताको सहमति लिएर आयोजनालाई अगाडि बढाउन सरकारसँग माग

प्रकाशित मिति : २०७७ असार २१


काठमाडौं । २०७७ असार २० गते ललितपुर महानगरपालिकाको खोकनास्थित सिकालीको खुडोलमा सशस्त्र प्रहरीले धान रोप्न गएका स्थानीय किसानहरुलाई धान रोप्न अवरोध गर्नुका साथै जनतामाथि लाठी चार्ज, अश्रुग्यास तथा हवाइ फायर गरी नृशंस दमनमा उत्रिएको र त्यस क्रममा दर्जनौंको सङ्ख्यामा स्थानीय जनता गंभीर घाइते भएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)ले ओली सरकारको यस किसानविरोधी व्यवहार र क्रुर दमनको घोर निन्दा तथा भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आइतबार जारी गरेको वक्तव्यमा प्रहरी दमनमा घाइते हुन पुगेका सम्पुर्ण किसानहरुको तुरुन्त निशुल्क उपचार गर्न समेत सरकारसंँग जोडदार माग गरिएको छ ।


वक्तव्यमा भनिएको छ, “काठमाडौं नीजगढ फास्ट ट्रायक सडक निर्माण परियोजनाको म्एच् तयार भएको र खोकनाको खुडोललाई फास्ट ट्रायकको जीरो प्वाइन्ट राखिएको भनिएको छ तर यसलाई अहिलेसम्म सार्वजनिक गरिएको छैन । खोकना र बुंगमतीका जनताले यसको शुरुदेखिनै विरोधगर्दै आएका छन् । फास्ट ट्रायकले खोकना र बुंगमतीको साँस्कृतिक सम्पदालाई गंभीर रुपमा क्षति पु¥याउने र हजारौं रोपनी खेती योग्य जमीन नष्ट हुने तर यसबाट स्थानीय जनताले केही पनि सुविधा नपाउने स्थिति देखिन्छ । त्यसैले फास्टट्रायकको डिपीआर तुरुन्त सार्वजनिक गर्न, जिरो प्वाइन्टलाई अन्यत्र सारी खेतियोग्य जमीनको संरक्षण गर्न र विभिन्न भौतिक संरचनाहरुको निर्माण गर्दा सरोकारवाला जनताको सहमति लिएर आयोजनालाई अगाडि बढाउन हाम्रो पार्टी सरकारसंग माग गर्दछ ।”