असारे झरीले रोकेन क्रान्तिकारी माओवादीलाई, एमसीसीको विरोधमा यसरी गरियो विरोध प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २०७७ असार १५

- अनु निरौला


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले असारे झरीको प्रवाह नगरी अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । दिनको १२ बजे झम झम बर्ष भइरहेको थियो । तर क्रान्तिकारी माओवादी काठमाडौंका सय बढी नेता कार्यकर्ताहरु रत्नपार्क शान्तिबाटिकामा जम्मा भएका थिए ।

‘राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्धमा विरोध प्रदर्शन तथा विरोधसभा” लेखिएको कालो ब्यानर समातेर पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका राता झण्डा बोकेर नाराजुलुस लगाउँदै नेता कार्यकर्ताहरु रत्नपार्क शान्तिबाटिकाबाट कमलादी, बालकुमारी, असन हुँदै असन इन्द्रचोकमा पुगे । राष्ट्रघाती एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, दलाल शासकहरु मूर्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद, देशभक्त जनगणतान्त्रिक मोर्चा जिन्दावाद, महिला हिंसा बन्द गर जस्ता नाराहरु लगाउँदै गर्दा सडक पेटीमा कपडा तथा अन्य सामान बेच्न बसेका जनताहरुले समेत प्रदर्शनकारीहरुलाई जिन्दावाद र मूर्दावाद भन्दै साथ दिएका थिए ।


असनचोकमा पुगेर विरोधसभामा परिणत हुँदासम्म पानी रोकिएको थिएन । तर विरोधसभा नसकुन्जेल नेता कार्यकर्ता तथा जनताहरु आफ्नो ठाउँबाट यतायता भएनन् । क्रान्तिकारी माओवादी काठमाडौका सचिव खगेन्द्र छन्त्यालले सञ्चालन गरेको विरोधसभालाई पार्टीका पीवीएम तथा ३ नं. प्रदेशका सेक्रेटरी कमरेड प्रवेशले सम्बोधन गरे । उनले एमसीसी सम्झौताको राष्ट्रघाती चरित्रको सविस्तार चर्चा गर्दै कुनैपति हालतमा यो सम्झौता खारेज गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका काठमाडौं अध्यक्ष बन्धुदेव पाण्डेले पनि एमसीसी खारेज नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका थिए ।


कार्यक्रम नेकपा (क्रान्तिकारी माओवाद) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौंको संयुक्त आयोजनामा गरिएको थियो ।