एमसीसी सम्झौताको खारेजीको माग गर्दै उदयपुरमा विरोधसभा सम्पन्न (फोटोफिचर)

प्रकाशित मिति : २०७७ असार १०

- मधुकर थापा


गाईघाट, उदयपुर ।
‘एमसीसी सम्झौता खारेज गर, नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको भारतीय सेना खाली गर’ भन्ने मुल नाराका साथ नेकपा (क्रान्तिकारी माओवादी)सहित ११ दलीय मोर्चाले उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार विरोधसभा सम्पन्न गरेको छ ।


उक्त विरोध सभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मोहन सिंह तामाङ, नेकपा मालेका जिल्ला उपसचिव रामप्रसाद चौंलागाई, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला उपाध्यक्ष राम कुमार चौधरी र माओवादी मजदुर पार्टीका हिमाल सिंह राईले सम्बोधन गरेका थिए ।


नेपालका दलालहरुले अमेरिकाको एमसीसी सम्झौता गरी राष्ट्रघात गरेको र अमेरिकी साम्राज्यवादले विकासको बहानामा नयाँ ढंगले नेपाललाई उपनिवेश बनाउन खोजेको र अर्कोतिर भरतीय विस्तारवादले नेपाली भुमिमा कोरोना महामारीको मौका छोपेर भारतीय सेना राखी भुमी हडपेर नेपाललाई सिक्किम बनाउन खोज्दा पनि ओली सरकार टालटुले कुटनीतिमा रुमलिएको भन्दै वक्ताहरुले सरकारको कडा विरोध गरे ।


राष्ट्रियतालाई शिरमा राखेर महामारीको संकटमा पनि क्रान्तिकारी शक्तिहरु सडकमा ओर्लनु पर्ने बाध्यता भएको र जबसम्म एमसीसी खारेज हँुदैन र नेपालको भुमीबाट भारतीय सेना हट्दैन, तबसम्म जुनसुकै बेला पनि बलिदानी गर्न मोर्चा तयार रहेको वक्ताहरुले बताए । लकडाउनको अवधिमा उदयपुरमा पहिलो पटक गरिएको उक्त विरोध सभाको संचालन देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक लिलबहादुर विकले गरेका थिए ।