
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय तथा जातीय माेर्चाकाे संयुक्त आयाेजनामा एमसीसी खारेजीकाे माग गर्दै विराेध प्रदर्शन गरेका छन् । राष्ट्रघाती एमसीसी खारेज गर, जनता के चाहन्छ- स्वाधीनता र समानता, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराैं, दलाल ओली सरकार मुर्दावाद लगायत नाराहरुसहित गरिएकाे विराेध प्रदर्शनमा सयाै जबस माेर्चाका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

माइतीघर मण्डलामा गरिएकाे विराेध प्रदर्शनका क्रममा काेणसभा समेत सम्पन्न भएकाे छ । काेणसभालाई अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सना, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अनेमसंघ (क्रान्तिकारी)कि महासचिव शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका नेताहरुले सम्बाेधन गरेका थिए ।

क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बाेगटीले सञ्चालन गरेकाे काेणसभामा वक्ताहरुले एमसीसी संसदबाट पास गरिए नेपाल अमेरिकी साम्राज्यवादकाे रणमैदानमा परिणत हुने र नेपालकाे सार्वभाैमिकतामाथि गम्भीर आँच आउने भन्दै एमसीसी खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।






























