यतिबेला संयुक्त राज्य अमेरिका चौतर्फी सङ्कटको बीचबाट गुज्रीरहेको छ । गएको १ सातादेखि त्यहाँका उत्पीडित जनता देशैभरि सडकमा ओइरिएका छन् । सडकमा प्रदर्शनकारी र पुलिसहरुका बीच भीडन्त जारी छ । अमेरिकाका राष्ट्रपतिको प्रशासनिक कार्यालय ह्वाइट हाउस समेत प्रदर्शनकारीहरुको घेरामा छ । यतिसम्म कि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सेनाको घेराभित्र रहेको ह्वाइट हाउसमा पनि असुरक्षित हुन पुगेका छन् । उनको भौतिक सुरक्षाका लागि गएको शुक्रबार रातिदेखि उनलाई ह्वाइट हाउस भित्रको बङ्करमा लगिएको छ । कतिपय शहरहरुमा विरोध प्रदर्शनहरु पुलिस फोर्सको नियन्त्रणभन्दा बाहिर गएका छन् । राष्ट्रिय सङ्कटका बेला आन्तरिक सुरक्षामा खटिने र अमेरिकी सेनाको नेतृत्वमा रहने गरी गठन गरिएकोे नेशनल गार्डलाई ३० वटा राज्यमा विरोध प्रदर्शन नियन्त्रण गर्नका लागि सडकमा ओरालिएको छ । देशभरीका करीव १५० वटा शहरहरुमा जनप्रतिरोध जारी छ । कफ्र्यु लगाएर विद्रोह नियन्त्रण गर्न खोजिए पनि जनताको आक्रोस मत्थर हुने देखिंदैन । यो प्रतिरोध कहाँ पुगेर टुङ्गिने हो केही भन्न सकिन्न ।

अमेरिकालाई विश्वको सबैभन्दा उत्कृष्ट प्रजातन्त्र भएको देश भन्ने गरिन्छ । तर त्यही देशमा ऐतिहासिक कालदेखि अफ्रिकी मुलका अमेरिकी नागरिकहरु गोरा जातीबाट उत्पीडित रहिआएका छन् । तिनीहरुमध्ये अधिकांश श्रमजीवि वर्गमा पर्दछन् । परिणाम स्वरुप उनीहरु वर्गीय शोषण र जातीय उत्पीडनका शिकार भएका छन् । अमेरिकामा अफ्रिकन मुलका काला जाति र खैरो रङ्गका हिस्पानिक जातिहरुमाथि दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने गरिन्छ । त्यहाँ वर्षेनी पुलिस हिरासतमा रहेका दर्जनौ अश्वेत जातिका मानिसहरुको गैरन्यायिक हत्या हुने गर्दछ । अमेरिका विश्वमा सबै भन्दा धेरै बन्दीहरु रहेको देश हो । अहिले त्यहाँ करीव २५ लाख भन्दा बढी बन्दीहरु रहेको अनुमान छ र ती मध्ये काला जातिका मानिसहरु ठूलो सङ्ख्यामा छन् । काला र हिस्पानिक गरी करीव २५ प्रतिशत जनसङ्ख्या ओगट्ने अमेरिकामा ६० प्रतिशतभन्दा बढी बन्दीहरु अश्वेत जातिका मानिस छन् । अहिले अमेरिकाका सडकहरुमा जुन पीडा, आक्रोश र विद्रोह अभिव्यक्त भएको छ, त्यो युगौं युगदेखि अश्वेत जातिले दोहोरो उत्पीडनका विरुद्ध गर्दै आएको प्रतिरोधको निरन्तरता हो ।

हार्दिक शुभकामना !


अहिलेको यो प्रतिरोध एकजना अफ्रिकी मुलका अमेरिकी नागरिक ४६ वर्षीय जर्ज फ्लोइडको पुलिस हिरासतमा भएको क्रुर, नृशंस तथा गैरकानुनी हत्यापछि विस्फोट भएको हो । नक्कली नोट दिएर विल तिरेको अभियोगमा अमेरिकाको मिनेपोलिसमा गिरफ्तार गरिएका र हतकडी लगाइएका उनलाई डेरेक चौभिन नाम गरेको एकजना पुलिसले अरु पुलिसको सहयोगमा भुईंमा पछारी घुँडाले घाँटीमा थिचेर हत्या गरेको थियो । उनको हत्याका विरुद्ध दर्ता गरिएको जाहेरीमा उनलाई ८ मिनेट ४६ सेकेण्ड सम्म घाँटी अँठ्याएर मारिएको थियो भन्ने कुरा उल्लेख गरिएकोछ । उनले “मलाई सास फेर्न गाह्रो भयो” भनेर पुलिससंग वारंवार याचना गर्दा पनि उनलाई नछाडिएको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि अमेरिकामा विद्रोह भडकिएको हो । त्यो विद्रोह अहिले पुरा अमेरिका भरि डढेलो बनेर फैलिएको छ । जर्ज फ्लोइड बेहोस भएको २ मिनेट ५६ सेकेण्ड पछिसम्म पनि उनको घाँटी थिचिराखिएको थियो भनेर विभिन्न पत्रपत्रिकाले समाचार प्रकाशन गरेका छन् । यस घटनाको वीभत्स दृश्य टीभीमा स्पस्टसंग देखाइएको थियो ।

अमेरिका कोभिड–१९का कारण गएको ३ महिनादेखि महामारीको केन्द्रविन्दु बनेको छ । यो लेख तयार पार्दासम्म अमेरिकामा मात्र १८ लाख भन्दा बढी मानिसहरु सङ्क्रमित भइसकेका छन् भने १ लाख ६ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोनाबाट प्रभावित हुनेहरुमा करीव तीन चौथाई सङ्ख्या अश्वेतहरुको छ । सरकारी तथ्याङ्क अनुसार कोरोनाका कारण अमेरिकामा ४ करोड भन्दा बढी मानिसहरु बेरोजगार बनेका छन् । वेरोजगार हुनेहरुमा अधिकाँश ती नै काला जातिका मानिसहरु पर्दछन् । अहिले कोरोनाको आतङ्क, रोजगारी गुमेको पीडा र भोकमरीको छटपटीका बीचमा उत्पीडित काला जातिमाथि अमेरिकी राज्यबाट अर्को आक्रमण थपिएको छ । यद्यपि नश्लीय उत्पीडनको कोभिड–१९संग त्यस्तो कुनै प्रत्यक्ष सम्बन्ध छैन, तर पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जसरी महामारीका सन्दर्भमा केही मानिसहरुको जीवनको मुल्यमा पुरा अर्थतन्त्रको बलिदान गर्न सकिन्न भनेर जनताका विरुद्ध उभिए त्यसबाट अमेरिकी जनतामा ट्रम्पका विरुद्धको आक्रोस निकै चुलिंदै गएको थियो । यो पृष्ठभुमिमा भएको जर्ज फ्लोइडको हत्याले अमेरिकी जनताको आक्रोशलाई एउटा विस्फोटमा बदलिदिएको छ ।

जर्ज फ्लोइडको हत्या भएपछि पनि ट्रम्पले स्थितिलाई सम्हाल्न चाहेको भए शायद जन आक्रोस नियन्त्रण बाहिर नजान सक्थ्यो । तर उनी आफै गोेरा जातीय अहङ्कारले ग्रस्त व्यक्तिगत नाफा–नोक्सानको हिसाव गर्ने एकजना खुँखार व्यापारी भएको हुनाले उनले त्यसो गर्न सक्दैनथे । त्यो घटनामा अमेरिकी पुलिस फोर्सबाट गल्ती भएको महसुस गर्नुको सट्टा उनले त्यो घटनालाई काला जातिमाथि गोरा जातिको विजयका रुपमा लिए । फलतः उनले विद्रोह भडकिएपछि पनि अमेरिकी सेनाको बलमा त्यसलाई कुल्चिने धम्की दिए । त्यस पछि विद्रोह अरु दन्कियो । यति बेला अमेरिकामा जुन विद्रोह भडकिएको छ, त्यसलाई १९६८मा भएको नश्लीय उत्पीडन विरोधि अभियन्ता मार्टिन लुथर किङ्को हत्या भएपछि भडकिएको विद्रोहसंग तुलना गरिएको छ । अहिलेसम्म आउँदा त्यहाँ ४ हजार भन्दा बढी प्रदर्शनकारीहरु गिरफ्तार भएका छन् र ठुलो सङ्ख्यामा घाइते भएका छन् ।

अहिलेको अमेरिकी जनताको विद्रोहलाई एन्टिफा (एन्टी फासीस्ट) विद्रोह भन्ने गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टेलिभिजन सन्देशमा विद्रोहीहरुलाई अपराधिको संज्ञा दिएका छन् । त्यति मात्र होइन उनले एन्टिफालाई “अराजक र उग्रवामपन्थी अतिवादीहरुको समुह र आतङ्ककारीहरुको संगठन” भनेर सम्बोधन गरी त्यसलाई प्रतिवन्धित गर्नु पर्ने र सेना परिचालन गरेर ठीक ठाउँमा ल्याउनु पर्ने उद्घोष गरेका छन् । यो विद्रोहलाई लिएर अमेरिकी राष्ट्रपति जसरी प्रस्तुत भए त्यसले विद्रोहको आगोमा घिउ थप्ने काम गरेको छ । अर्कोतिर, उनको भनाइले यो विद्रोहलाई कुनै वामपन्थी समुहले नेतृत्व गरेको छ कि भन्ने आभाष समेत दिएको छ । तर, यसका पछाडि कुन वामपन्थी सङ्ठनको हात छ र ट्रम्पले कुन सङ्गठन तर्फ सङ्केत गरेका हुन् भन्ने कुरा भने अहिलेसम्म खुल्न आएको छैन । यो विद्रोहले अहिले पुरै अमेरिका ढाकेको छ ।

यो विद्रोह देशभरी विस्तार हुँदै जाँदा यसको प्रभाव विश्वका विभिन्न देशहरुमा पनि देखिन थालेको छ । यसप्रति ऐक्यबद्धता जाहेर गर्दै वेलायतको लण्डनमा विशाल जुलुस निस्किएको छ । फ्रान्सको जातिवाद विरोधि सङ्ठनले वक्तव्य निकालेको छ र त्यहा जनताले अमेरिकी विद्रोहसंग ऐक्यवद्धता जाहेर गरी पेरिसमा प्रदर्शन समेत गरेका छन् । यसका अतिरिक्त, न्यु जिल्याण्ड, क्यानडा, जर्मनी, ब्राजिल लगायत थुप्रै देशहरुमा गोरा जातिको नश्लवादका विरुद्ध काला जातिले चलाएको न्यायपूर्ण आन्दोलनमा ऐक्यवद्धता दर्शाएका छन् । यो क्रम बढ्दो छ । क्यानाडामा त प्रदर्शनकारी र पुलिसहरुका बीचमा झडप समेत भएको छ । जे होस्, जर्ज फ्लोइडको हत्याका विरुद्ध भडकिएको जनविद्रोह अहिले अन्तर्राष्ट्रिय मुद्दा बनेको छ ।

यतिवेला अमेरिकाले कोभिड–१९को आक्रमण, वढ्दो वेरोजगारी तथा गहिंिरदो आर्थिक सङ्कटका बीचमा देशव्यापी विद्रोहको सामना गरिराखेको छ । कतिपय समाज शास्त्रीहरुले यसलाई अमेरिकाको इतिहासमा विरलै देखिने परिघटनाका रुपमा व्याख्या गरेका छन् । अर्कोतिर, आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन पनि हुन गइराखेको छ । स्वभावतः यी मुद्दा आउने निर्वाचनका अहम मुद्दा बन्ने छन् । अमेरिकी समाजमा गोरा जातिको बाहुल्य रहेको छ र तिनीहरु अत्यन्त नश्लवादी छन् । ट्रम्पको त कुरै छाडौं, राष्ट्रपतिका अर्का उमेदवार डेमोक्रेटिक पार्टीका नेता जो विडेन पनि चुनावको बेला नश्लवाद विरोधि आन्दोलनप्रति सहानुभुति दर्शाएर गोरा मतदाताहरुलाई चिढाउन चाहंदैनन् । यसरी वर्तमान परिवेशमा लुटपाट र आतङ्कलाई नियन्त्रण गर्ने नाममा ट्रम्प प्रशासनले सेना परिचालन गरेर अमेरिकामा नरसंहार मच्चाउने संभावना बढेर गएको छ । अमेरिकाका कुनै पनि कथित मानव अधिकारबादी सङ्गठनहरुले यो हत्याको विरुद्धमा नबोल्नुले पनि यो संभावनालाई बल दिन्छ ।

जे होस, अमेरिका एउटा प्रजातान्त्रिक मुलुक हो, त्यहाँ मानव अधिकारको रक्षा हुन्छ, त्यो त कलियुगको स्वर्ग हो र त्यहाँका जनता निकै सुखी छन् भन्ने जुन भ्रम उत्पीडित देशका जनतामा पर्ने गरेको थियो त्यसलाई कोरोना नियन्त्रणका क्रममा देखिएको अमेरिकाको निरीहता र जर्ज फ्लोइडको नृशंस हत्याले एक धक्कामा सफा गरिदिएको छ । एउटा संयोग नै भन्नु पर्छ, माथिल्लो र तल्लो जातका कारणले पश्चिम रुकुमको चौरजारीमा प्रेम विवाहका विरुद्ध जुन विभत्स हत्याको घटना घट्यो, अमेरिकामा जर्ज फ्लोइडका विरुद्ध घटेको त्यो भन्दा पनि क्रुर, अमानवीय, नृशंस र गैरकानुनी हत्याले नेपाललाई माथ गरेको छ र अमेरिकाको प्रजातन्त्र र त्यहाँको मानवाधिकार कस्तो रहेछ भन्ने कुरा सबैका सामु छर्लङ्ग देखाइ दिएको छ ।

अहिले अमेरिकामा भएको विद्रोह कुनै क्रान्तिकारी पार्टीको नेतृत्वमा भएको योजनावद्ध र क्रान्तिकारी विद्रोह होइन । यो न्यायपूर्ण तर स्वतस्फुर्त विद्रोह हो । त्यसकारण यो विद्रोहबाट अमेरिकामा ठुलो राजनीतिक परिवर्तन भइहाल्छ भन्ने ठान्नु हुँदैन, अहिले नै त्यो संभव छैन । तर, यो घटनाले देशलाई तीव्र ध्रुवीकरण गराउने छ र क्रान्तिकारीहरु गोलवन्द हुँदै जाने छन् । यसले आफुलाई आर्थिक र सैन्य सहित सबै हिसावले महाशक्ति ठान्ने साम्राज्यवादी देश अमेरिका भित्रभित्रै कति धेरै मक्किइ सकेको छ र त्यहाँ अन्तरर्विरोधहरु कति विस्फोटक बन्दै गएका छन् भन्ने कुरा प्रस्ट गर्दछ । यो सबैले अमेरिका जस्ता विकसित साम्राज्यवादी देशहरुमा पनि सर्वहारा समाजवादी क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकुल बन्दै गएको छ भन्ने देखाउँछ ।
जेठ २०, २०२०

प्रतिक्रिया

सम्बन्धित खवर