
१५ जेष्ठ मोरङ,
नेपाल कम्युनिनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा जग्गा उपलब्ध गराउनलगायतको माग राख्दै मोरङको पथरी–शनिश्चरे नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
विहीबार नगरप्रमुख दिलिपकुमार राईलाई बुझाएको पत्रमा सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिन माग गरिएको छ । पुर्जा दिन समय लाग्ने भए तत्काल बसोबासको प्रमाणपत्र दिन भनिएको छ ।
मोहन वैद्य नेतृत्वको सो पार्टीले लकडाउन प्रभावित मजदुरलाई निरन्तर राहत वितरण, भारतलगायतबाट आएका व्यक्तिहरुको कोरोना भाइरसको स्वाब परीक्षणको साथै नगरमा आइसोलेसन निर्माण गर्न मागसमेत गरेका छ ।
नगरपालिकाले कोरोना भाइरसजस्तो विश्वव्यापी महामारीमा पनि राष्ट्रिय पार्र्टीको नाममा सबैलाई नसमेटेर एकता कायम गर्न नसकेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
पार्र्टीको नगर ईन्चार्ज सुरेन्द्र चापागाई, सेक्रेटरी रत्न पराजुलीको नेतृत्वमा पुगेको टोलीले विकास निर्माणको गुणस्तरमा समेत आशंका भएकाले अनुगमनलाई व्यवस्थित गर्न सुझाव दिएको छ ।
नेपालको नयाँ नक्सा जारी गर्ने काम सकारात्मक भएको उल्लेख गर्दै सुस्ता, महेशपुरलगायत अतिक्रमित भूमिको स्वामित्व फिर्ता लिन प्रभावकारी पहल चाल्न संघीय सरकारलाई वैद्य माओवादीको सुझाव छ ।
मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) नेपालको हितमा नहुने भएकाले राष्ट्रघाती सो कदम खारेज गर्न माग गर्दै आएको सो पार्टीका केन्द्रीय सदस्य सीताराम बुढाथोकीले बताए । ज्ञापनपत्र बुझाउन करिब १५ जनाको टोली नगरपालिका पुगेका थिए ।






























