गौरवपूर्ण सहादतको दिनलाई इच्छुक सांस्कृतिक प्रतिष्ठानले इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवसका रूपमा मान्दै र मनाउँदै आइरहेको

गौरवपूर्ण सहादतको दिनलाई इच्छुक सांस्कृतिक प्रतिष्ठानले इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवसका रूपमा मान्दै र मनाउँदै आइरहेको

 

इच्छुक सांस्कृतिक प्रतिष्ठान 

महान् सांस्कृतिक सहिद कृष्णसेन इच्छुकले सहादत प्राप्त गर्नुभएको यो जेठ १३ का दिन १८ वर्ष पुग्दै   छ । उहाँको यस गौरवपूर्ण सहादतको दिनलाई इच्छुक सांस्कृतिक प्रतिष्ठानले इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवसका रूपमा मान्दै र मनाउँदै आइरहेको विदितै छ । कोरोनाजन्य विश्वमहामारी र बन्दाबन्दीको विषम परिस्थितिका कारण यस पटक हामी भौतिक रूपमा समूहमा उपस्थित भएर समारोह सम्पन्न गर्ने अवस्था रहेन तथापि विचार र भावनाका तहमा हामी इच्छुकले जीवनपर्यन्त दृढतापूर्वक बहन गर्नु भएको क्रान्तिकारी संस्कृति र त्यसको आदर्शलाई गम्भीरतापूर्वक आत्मासात् गर्छौं र नेपालको साम्यवादी आन्दोलनमा आफूलाई बलिदान दिनुहुने इच्छुकलगायत सम्पूर्ण सांस्कृतिक सहिदहरूप्रति हार्दिक सम्मान र श्रद्धा व्यक्त गर्दछौं ।

 

यति बेला भौतिक रूपले एक ठाउँमा भेला हुन सक्ने अवस्था नरहे पनि मानसिक र भावनात्मक स्तरमा हामी सांस्कृतिक बलिदान दिवसको गर्व र गरिमाबोध गरिरहेका छौं र कृष्ण सेन इच्छुक लगायत सम्पूर्ण सांस्कृतिक सहिदहरूका आदर्शलाई साहित्यकलाका सिर्जना, समीक्षा र प्रकाशनमा अझ घनीभूत र व्यापक बनाएर लैजाने आवश्यकताबोधसँगै प्रतिबद्धता व्यक्त गर्दछौं । उपभोक्तावादी वित्तीय पुँजीवाद र नऔपनिवेशिक राजनीतिक सांस्कृतिक परिवेशले मानव जीवनलाई झन कष्टकर र दुरुह बनाइरहेका यस बेला क्रान्ति र परिवर्तनको आवश्यकता झन् टडकारिएको छ । त्यसको बाटो निश्चय पनि सरल छैन तर सहिदहरूका आदर्शले त्यसको खोज र निर्माणका लागि हामीलाई प्रेरित गरिरहेको हामी ठान्दछौं ।

हरेक वर्ष जेठ १३ गते इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवसको आयोजनसँगै सोही दिन प्रगतिवादी साहित्यकलाका क्षेत्रमा विशिष्ट योगदान गरेका एक जना स्रष्टालाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार र दुई जनालाई इच्छुक प्रतिभा पुरस्कारद्वारा सम्मानित गर्ने गरिएकोमा महामारी र बन्दाबन्दीका कारण उक्त सम्मान कार्यक्रमसमेत गर्न सम्भव नदेखिएकाले जुममार्फत यही २०७७ जेठ ७ गते बसेको कार्यसमितिको वैठकको निर्णय अनुसार पछि आवश्यक निर्णय गर्ने गरी हाललाई सो कार्यक्रम स्थगित गरिएको जानकारी गराउँदै यस क्षणमा जनता, क्रान्ति र भविष्यप्रति आस्थावान् रही जीवन बलिदान दिनुहुने सम्पूर्ण सांस्कृतिक सहिदहरूलाई पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र बन्दाबन्दी सकिएपछि प्रतिष्ठानको योजना अनुरूपका कार्यलाई निरन्तरता दिइने व्यहोरा सम्बद्ध सबैलाई अवगत गराउँदछौँ । 

 

मित्रलाल पंज्ञानी

सदस्यसचिव

२०७७, जेठ १२